विराटनगर । सप्तकोशी नदीमा पानीको बहाव उच्च हुदै खतराको संकेत पार गरेपछि शनिबार अपरान्ह ४ बजेदेखी कोशी व्यारेजको पुलबाट आवतजावत बन्द गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।
शनिबार अपरान्ह कोशीमा पानीको बहाव ५ लाख २१ हजार क्युसेक मापन भएको छ । जिल्ला प्रशासन कार्यालयले शनिबार एक जरुरी सुचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि कोशी व्यारेजको पुलबाट मानिस तथा सवारी साधन आवतजावत बन्द गरिएको जनाएको हो ।
अत्यावश्यक कामका लागि वैकल्पिक मार्गको प्रयोग गर्न पनि प्रशासनले आग्रह गरेको छ । सुनसरी प्रशासनका अनुसार कोशीमा उच्च जोखिमको अवस्था छ । त्यसैले ब्यारेजका सबै ५६ वटै ढोका खोलिएका छन् ।
विहारको जल शंसाधन विभागले पनि नेपालमा लगातार परेको बर्षादका कारण कोशी, गण्डक र महानन्द नदीमा जल सतह उच्च हुदै गएको भन्दै सतर्कता अपनाउन आफ्ना सरकारी अधिकारीहरुलाई निर्देशन दिएको छ ।
बाढी व्यवस्थापन सुधार सहायता केन्द्र पटनाले जारी गरेको पूर्वानुमान अनुसार शनिबार दिउँसो वीरपुरस्थित कोशी ब्यारेजबाट ६ लाख ८१ हजार लाख क्युसेक पानीको बहाव हुने सम्भावना छ । जुन हालसम्मको अधिकतम पानीको बहावको नजिक हुनेछ ।
सुनसरी प्रशासनले सहायक नदीहरुमा बढेको बाढीका कारण कोशीमा पानीको बहाव तिब्र गतिमा बढिरहेको जनाएको छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले कोशीको तटीय क्षेत्रका बासिन्दालाइ सतर्क र सुरक्षित रहन आग्रह गरिएको बताए । उनले भने- 'हामीले स्थानीयलाई सतर्क रहन सुचित गरेका छौं र सम्भावित जोखिम न्यूनिकरणका लागि सुरक्षाकर्मीहरुलाई पनि परिचालित गरेका छौं ।'
View : 162
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved