Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

बोइलर सञ्चालनमा दक्ष जनशक्ति उत्पादनतर्फ उद्योग संगठन मोरङको पहल

उद्‌घोष संवाददाता
२७ चैत २०८२, शुक्रवार

विराटनगर । उद्योग क्षेत्रमा सुरक्षित र प्रभावकारी उत्पादन प्रणाली सुनिश्चित गर्न दक्ष प्राविधिक जनशक्ति आवश्यक हुने भन्दै उद्योग संगठन मोरङले संचालन गरेको बोइलर सञ्चालनसम्बन्धी तालिम समापन गरेको छ । संगठनले सञ्चालन गरेको १५ दिने बोइलर तालिम बिहीबार सम्पन्न भएको हो ।

इन्स्योर परियोजनाको प्राविधिक सहयोग तथा बागमती आयल इण्डष्ट्रिजसँगको सहकार्यमा आयोजित उक्त तालिम कटहरी क्षेत्रका विभिन्न उद्योग–प्रतिष्ठानमा कार्यरत ३० जना प्राविधिकहरूको सहभागिता रहेको थियो । 

चैत ४ गतेदेखि सुरु भएको तालिमले सहभागीहरूको सीप र दक्षता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याएको संगठनले जनाएको छ ।

तालिममा बोइलर सञ्चालनका आधारभूत सिद्धान्तदेखि लिएर व्यवहारिक प्रयोगसम्मका विषय समेटिएका थिए ।

विशेषगरी सुरक्षित सञ्चालन विधि, अन्तर्राष्ट्रियस्तरका सुरक्षा मापदण्ड, इन्धनको प्रभावकारी प्रयोग, ऊर्जा दक्षता वृद्धि गर्ने उपाय, नियमित मर्मतसम्भार र आपतकालीन अवस्थाको व्यवस्थापनजस्ता महत्वपूर्ण पक्षमा सहभागीहरूलाई प्रशिक्षण दिइएको थियो ।

यसले उद्योगमा हुने सम्भावित जोखिम न्यूनीकरण गर्दै उत्पादन प्रक्रियालाई थप सुरक्षित र प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

तालिम समापन कार्यक्रममा उद्योग संगठन मोरङका उपाध्यक्ष सुरेन्द्र गोल्छाले औद्योगिक क्षेत्रमा दक्ष प्राविधिक जनशक्तिको अभाव चुनौतीका रूपमा रहेको उल्लेख गर्दै यस्ता तालिमहरूले उक्त अभाव पूर्ति गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।

उनले सुरक्षित र गुणस्तरीय उत्पादनका लागि सीपयुक्त जनशक्ति अपरिहार्य रहेको स्पष्ट पार्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।

त्यसैगरी संगठनका कार्यसमिति सदस्य तथा मानव संसाधन समितिका संयोजक दीपक अग्रवालले तालिमले सहभागीहरूको व्यवहारिक ज्ञान अभिवृद्धि गर्नुका साथै कार्यक्षमतामा समेत सुधार ल्याएको धारणा व्यक्त गरे ।

उद्योग क्षेत्रको मागअनुसार लक्षित तालिम सञ्चालन गर्दै प्राविधिक जनशक्तिलाई सक्षम बनाउने दिशामा संगठनले निरन्तर पहल गरिरहेको उनको भनाइ थियो ।

उद्योग क्षेत्रमा सुरक्षा, दक्षता र उत्पादनशीलता बढाउने लक्ष्यसहित सञ्चालन गरिएको यस्ता तालिमहरूले दीर्घकालीन रूपमा औद्योगिक विकासमा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

View : 143

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved