Biratnagar, Morang, Nepal
२७ पुष २०८१, शनिवार
+977 21 450305, 515728, 578305
साहित्य

हुर्रा नाचका साथ मगर समुदायले मनाए माघे संक्रान्ति

उद्‌घोष सम्वाददाता
१ माघ २०८०, सोमवार

विराटनगर । नेपाल मगर संघ विराटनगरले शिक्षामा जोड दिंदै हुर्रा नाचेर माघे संक्रान्ति पर्व मनाएको छ। सोमबार डिग्री क्याम्पस विराटनगरको विज्ञानखण्डमा आयोजित कार्यक्रममा आफ्नो जातीय पोशाकमा सजिएका  मगर समुदायका सदस्यहरुले मौलिक नृत्य हुर्रा नाच्दै, सेलरोटी, तरुल, तीलको लड्डु खाएर माघे संक्रान्ति मनाएका हुन् । 

सो अवसरमा मगर समुदायको पहिचान, सम्मान र शिक्षाको विकासमा महत्वपूर्ण योगदान गरेको भन्दै डिग्री क्याम्पस विराटनगरका प्रमुख ढकबहादुर खपाङ्गी मगरलाई सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै सम्मानित मगरले राजनीतिक र आर्थिक रुपमा मगर समुदाय सबल हुनुपर्नेमा जोड दिए ।

आयोजक नेपाल मगर संघ विराटनगर महानगर समितिका पूर्व अध्यक्ष शेरबहादुर थापा मगरले आफ्नो पोशाक लगाएर, हुर्रा नाचेर मात्र मगर समुदाय अगाडि नबढ्ने बताउँदै यसका लागि शिक्षा अझ बढी जरुरी रहेको  बताए ।

बालकदेखि बृद्धसम्मका मगर समुदायका सदस्यहरु उपस्थित भई गीत रमाइरहको कार्यक्रममा नगर अध्यक्ष कुवेर त्रोकछाकी मगर, सचिव ममता पुलामी, कोशी प्रदेश अध्यक्ष तेजकुमार आले, सदस्य चीनकाजी थापा मगर, तमु छोज झी मोरङका अध्यक्ष जंग घले गुरुङ, डिग्री क्याम्पस विज्ञान संकायका प्रमुख प्राडा शिवकुमार राई लगायतले माघी पर्व मगर समुदायको मुख्य पर्व रहेको बताए ।

नेपाल मगर संघ विराटनगर समितिको आह्वानमा  माघे संक्रान्ति पर्व १५ वर्षदेखि  निरन्तर मनाउँदै आएको छ । मिनाम्ल्हेस पर्व ५०१७ नयाँ वर्षको रुपमा माघे संक्रान्ति मनाइएको  नगर अध्यक्ष मगरले बताए ।

शिक्षा, संगठन, संघर्ष र समृद्धि चार ‘स’ को मुल नारा  लिएर नेपाल मगर संघ विराटनगर महानगर समिति अगाडि बढिरहेको जनाइएको छ ।

कार्यक्रममा मेघराज,  चन्द्र, स्वस्तिका, रमिता, सविना मगरलगायत कलाकारले विशेष सांस्कृतिक प्रस्तुती गरेका थिए ।

वर्षदिनको हिसावकिताव प्रस्तुत गर्ने दिनको रुपमा ऐतिहासिक मगर राजाहरुले नयाँ वर्षको रुपमा माघे संक्रान्ति मनाउने गरेको सोही कार्यलाई अहिले निरन्तरता दिएको आयोजकको भनाइ छ ।

View : 238

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved