Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

ओखलढुंगाको चुनावी प्रतिष्पर्धा

दलहरूभित्रको उथलपुथलले झनै रोचक

नेपाली कांग्रेसले कुमार लुइटेललाई उम्मेदवार बनाएको छ भने नेकपा एमालेले केन्द्रीय सदस्य तथा लिखु गाउँपालिकाकी उपाध्यक्ष रहेकी अस्मिता थापालाई अघि सारेको छ ।  थापा पालिका उपाध्यक्ष पदबाट राजीनामा दिएर संसदीय चुनावमा होमिएकी हुन् । उता, एमालेका पूर्व प्रदेश सांसद एवम् पूर्वमन्त्री अम्बिरबाबु गुरूङ नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट उम्मेदवार बनेका छन् ।
उद्‌घोष संवाददाता
१४ माघ २०८२, बुधवार

विराटनगर । फागुन २१ को चुनावी मिति नजिकिदै जाँदा कोशी प्रदेशका विभिन्न निर्वाचन क्षेत्रहरू आम चासोको केन्द्र बनेका छन् ।

यसअघि विरलै मात्रै धेरैले चासो दिने तर यसपटक उम्मेदवारी दर्ताअघिको छोटो समयमा उल्लेख्य हलचल देखिएको पहाडी जिल्ला ओखलढुंगाले धेरैको ध्यान तानिरहेको छ । ओखलढुंगाको प्रतिनिधिसभा निर्वाचनमा यसपटक केवल उम्मेदवारको भिडन्त मात्रै होइन, दलहरूभित्रका असन्तोष, अप्रत्याशित विलय र पुराना समीकरण भत्किदा बनेको नयाँ राजनीतिक चित्रको परीक्षा पनि हुँदैछ । 

यही कारण राजनीतिक हलचल चुलिएको ओखलढुंगामा अघिल्ला निर्वाचनभन्दा बिल्कुलै फरक परिदृश्य खडा गरिदिएको छ ।

२०७९ को आमनिर्वाचनमा समानुपातिकतर्फ सबैभन्दा धेरै मत पाएको नेकपा एमालेको जिल्ला कमिटी नै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा विलय भएपछि ओखलढुंगाको राजनीति एकाएक तरङ्गित बन्न पुग्यो । 

एमालेभित्रको यो ठूलो हलचलले चुनावी गणित मात्रै होइन, मतदाताको मनोविज्ञानसमेत बदलिदिएको विश्लेषण भइरहेका छन् ।

त्यसमाथि, अघिल्लो निर्वाचनमा विजयी बनेका नेपाली कांग्रेसका रामहरि खतिवडाले यसपटक टिकट नपाउनु अर्को ठूलो राजनीतिक घटना बन्यो । 

पूर्व सभापति शेरबहादुर देउवा निकट खतिवडालाई गगन थापा नेतृत्वको नयाँ टिमले दिइसकेको  टिकट पनि खोसेको थियो । उनको टिकट खोसिएसँगै कांग्रेसभित्र असन्तुष्टि सतहमा आयो, जसले पार्टीको आन्तरिक एकतामाथि प्रश्न उठाइरहेको छ ।  

यही परिवेशमा, अघिल्ला निर्वाचनमा कांग्रेस र एमालेभन्दा झण्डै आधा कम मत पाएको नेपाली कम्युनिस्ट पार्टी (साविक माओवादी र एकीकृत समाजवादी) भने चुनावको मुखमा एकाएक बलियो दाबेदारका रूपमा देखा परेको छ । 

एमालेबाट ठूलो समूह नेकपामा प्रवेश गर्नु र उम्मेदवार चयनमा गरिएको निर्णयले नेकपाको उपस्थितिलाई कमजोर अँक्न नमिल्ने चर्चा भइरहेको स्थानीय नेताहरू बताउँछन् । 

ओखलढुंगा एक मात्रै प्रतिनिधिसभा क्षेत्र भएको जिल्ला हो । यहाँ नेपाली कांग्रेसले कुमार लुइटेललाई उम्मेदवार बनाएको छ भने नेकपा एमालेले केन्द्रीय सदस्य तथा लिखु गाउँपालिकाकी उपाध्यक्ष रहेकी अस्मिता थापालाई अघि सारेको छ । 
थापा पालिका उपाध्यक्ष पदबाट राजीनामा दिएर संसदीय चुनावमा होमिएकी हुन् ।

उता, एमालेका पूर्व प्रदेश सांसद एवम् पूर्वमन्त्री अम्बिरबाबु गुरूङ नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट उम्मेदवार बनेका छन् । 

गुरूङ ओखलढुंगामा ईश्वर पोखरेल समूहका नेता भनेर चिनिन्थे । त्यस्तै  राष्ट्रिय स्वतन्त्र पार्टीबाट नेपाल प्रहरीका पूर्व एआईजी विश्वराज पोखरेल उम्मेदवार छन् । 

पोखरेल कुनै बेला मोरङ प्रहरी प्रमुखको जिम्मेवारीमा थिए । दुई जना स्वतन्त्र उम्मेदवारसहित ओखलढुंगामा कुल १५ जना प्रतिस्पर्धामा छन् । 

जिल्लाका उम्मेदवारहरूमा डिकप्रसाद बास्तोला राष्ट्रिय प्रजातन्त्र पार्टीबाट, सविना प्रजापति नेपाल मजदुर किसान पार्टी, शेरबहादुर खत्री राष्ट्रिय जनमोर्चा, बजेन्द्र राई    मंगोल नेशनल अर्गनाइजेसन, उद्धवकुमार राई    श्रम संस्कृति पार्र्टी र कुमारबहादुर लामा मितेरी पार्र्र्टी नेपालबाट उम्मेद्वार छन् ।

त्यस्तै जेनजी आन्दोलनका घाइतेलाई बाइकमा राखेर अस्पताल पु¥याएर चर्चामा आएकी विराटनगरकी किशोरी कार्की पनि कुलमान घिसिङको पार्टी उज्यालो नेपालबाट उम्मेदवार बनेकी छन् । 

अन्य उम्मेद्वारहरूमा नेत्रबहादुर नेम्वाङ जनता समाजवादी पार्टी, पिंकी राई (बेगुराम राई) समावेशी समाजवादी पार्टीबाट ओखलढुंगामा उम्मेदवार छन् । त्यस्तै स्वतन्त्र उम्मेदवारहरूमा नारायणकाजी तामाङ र बिक्रम दाहाल छन् । 

ओखलढुंगामा कांग्रेस, एमाले र नेकपाबीच मुख्य चुनावी प्रतिष्पर्धा हुने अनुमान छ । चुनाव जित्ने दाबी प्रमुख तीन दल—कांग्रेस, एमाले र नेकपाले नै गरिरहेका छन् । 

२०७९ सालको निर्वाचनमा नेपाली कांग्रेस माओवादी केन्द्र र एकीकृत समाजवादीसंग गठबन्धन गरेर मैदानमा उत्रिएको थियो । त्यसबेला कांग्रेसका रामहरि खतिवडाले ३३ हजार ५५६ मत ल्याएर जीत हात पारेका थिए ।

एमालेका यज्ञराज सुनुवारले २६ हजार ७३८ मत पाएका थिए । त्यही निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीकी शोभा कार्कीले ७१४ मत मात्रै प्राप्त गरेकी थिइन् । समानुपातिक मतको हिसाबले एमाले नै बलियो देखिएको थियो ।

एमालेले २५ हजार २४५ मत ल्याउँदा कांग्रेसले २३ हजार ९९९ मत पाएको थियो । माओवादी केन्द्रको ७ हजार १७२ मत थियो भने रास्वपाले २ हजार ४१८ मत पाएको थियो । अहिले नेकपामा विलय भइसकेको एकीकृत समाजवादीले जिल्लामा ४३० मत पाएको तथ्यांक छ ।

२०७४ सालको निर्वाचनमा भने परिस्थिति उल्टो थियो । त्यसबेला एमाले र माओवादीबीच गठबन्धन हुँदा कांग्रेस पराजित भएको थियो । 

एमालेका यज्ञराज सुनुवारले ३२ हजार ५८० मत ल्याएर जित्दा जित्दा कांग्रेसका रामहरि खतिवडाले २७ हजार ३२७ मतमा सीमित हुनुपरेको थियो । 

समानुपातिक मतमा त्यो वर्ष पनि एमालेकै अग्रता थियो । उसले २५ हजार ८५८ मत पाउँदा  कांग्रेसले २५ हजार ११४ र माओवादीले ६ हजार ५०२ मत ल्याएका थिए । 

२०७० सालमा भने रामहरि खतिवडाले यज्ञराज सुनुवारलाई पराजित गरेका थिए । यसरी पछिल्ला तीन निर्वाचन पालैपालो जितेका यी दुई नेताले यसपटक टिकट नपाउदा जिल्लाको चुनावी माहोल नै फेरिएको छ । 

ओखलढुंगाका एमाले नेता हर्कबोल राई टिकट वितरणकै विषयलाई लिएर जिल्ला अध्यक्षसहित केही नेताहरूले पार्र्टी छाडे पनि अहिले स्थिति सम्हालिएको दाबी गर्छन् । कांग्रेसभित्र पनि असन्तुष्टि रहेको भन्दै एमाले आशावादी रहेको बताउँछ ।  

रामहरि खतिवडाले टिकट नपाएपछि अम्बिरबाबु गुरूङ नेकपाबाट उम्मेदवार बन्न तयार भएको चर्चा पनि चलिरहेको छ । 

यद्यपि मंगलबार ओखलढुंगामै आयोजित एक कार्यक्रममा नेता खतिवडाले कांग्रेसका सबै मिलेर आफ्नो उम्मेद्वार जिताउने बताएका छन् । 

‘कांग्रेसमा केही असन्तुष्टि छ कि भनेर कसैले भ्रम नपाले हुन्छ’, उनले कार्यकर्तामाझ भने ‘हामी सबै एकताबद्ध भएर चुनाव जित्न लाग्नेछौं, जित्नेछौं ।’ 

कांग्रेसले अघिल्लो निर्वाचन जितेको, स्थानीय तहमा बहुमत सिट प्राप्त गरेको र जिल्ला समन्वय समिति समेत एकलौटी बनाएकाले कांग्रेसको सांगठनिक तागत बलियो रहेको उनको भनाइ छ । 

चुनाव जित्ने लक्ष्य राखेको बताउने नेपाली कम्युनिस्ट पार्टीभित्र पनि असन्तोष भने उत्तिकै छ । 

उम्मेदवार मनोनयनकै दिन पार्र्टीले रामकुमार कार्कीलाई दिइसकेको टिकट फिर्ता लिएर एमालेबाट प्रवेश गरेका पूर्वमन्त्री अम्बिरबाबु गुरूङलाई उम्मेदवार बनाएको थियो ।

कार्की स्वयं पनि गुरूङकै जीत हुने दाबी गर्छन् । त्यसो त अघिल्ला गठबन्धन र नतिजाका आधारमा मात्र यसपटकको नतिजा आंकलन गर्न मिल्ने अवस्था ओखलढुंगामा छैन । किनभने संसदीय चुनावमा विगतको गणित सधैं दोहोरिदैन । यही कारणले ओखलढुंगाको यसपटकको निर्वाचन कसको पक्षमा जाने हो भन्ने प्रश्न चासोको विषय बन्ने पक्का छ ।

View : 235

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved