विराटनगर(उस)÷ जिल्ला सहकारी संघ लिमिटेड मोरङको ३३ औं वार्षिक साधारणसभाले आगामी कार्यकालका लागि राकेश दाहालको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएसँगै सपथग्रहण गरेको छ । बुधबार विराटनगरमा सम्पन्नसभाले सञ्चालक समिति तथा लेखा र सुपरिवेक्षण समितिलाई निर्विरोध निर्वाचित गरेको हो । नवनिर्वाचित अध्यक्ष दाहाल यसअघिको कार्यसमितिमा सचिवको रूपमा सक्रिय थिए ।
संघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद भट्टराई र उपाध्यक्षमा संगीता दाहाल छन् । यस्तै, सचिवमा अमृतबहादुर गुरुङ, सहसचिवमा हेरम्बराज भट्टराई र कोषाध्यक्षमा ई. कमलेश्वर ठाकुर सर्वसम्मत चुनिएका छन् ।
सञ्चालक सदस्यहरूमा विजयकुमार सरदार, लक्ष्मण बुढाथोकी, अविनाशकुमार निधि, कोपिला आचार्य रिमाल, कुमार फुयल, उदयनारायण बराल, सूर्यकुमार दाहाल, हेमराज सुवेदी, उमेश गुरुङ, हिमा मैनाली र गोविन्द निरौला छन् ।
यस्तै, दुर्गाप्रसाद गौतमको संयोजकत्वमा तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति गठन भएको छ, जसको सदस्यद्वयमा आषिशकुमार यादव र आशाकुमारी माझी थारु छन् ।
१० लाख ८२ हजार ३५४ रुपैयाँ खुद नाफा आर्जन
साधारणसभामा जिल्ला सहकारी संघका अध्यक्ष डा. डिल्ली पोखरेलले प्रस्तुत गरेको प्रतिवेदनअनुसार संघले आर्थिक वर्ष २०८१–८२ मा ३७ लाख ४१ हजार ५४२ रुपैयाँको कारोबार गर्दै १० लाख ८२ हजार ३५४ रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । संघको सेयर पूँजी ४१ लाख ७ हजार ४ सय रुपैयाँ पुगेको छ भने १ करोड ३१ लाखभन्दा बढी ऋण लगानी रहेको जानकारी दिइएको छ ।
नयाँ समितिलाई राष्ट्रिय सहकारी महासंघका कार्यवाहक अध्यक्ष रमेशप्रसाद पोखरेल, जिल्ला बचत संघ मोरङका अध्यक्ष प्रेमप्रकाश कोइराला, सल्लाहकारहरू रामचन्द्र गौतम, ताराबहादुर काफ्ले, जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष माधव अधिकारी लगायतले बधाई दिंदै सहकारी अभियानलाई थप पारदर्शी र सदस्यमुखी बनाउन सुझाव दिएका थिए ।
नवनिर्वाचित पदाधिकारीहरूले बुधबार नै पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन् ।
View : 231
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved