Biratnagar, Morang, Nepal
५ असोज २०८१, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

‘नातिनातिनासँगै विद्यालय जान्छन् हजुरआमाहरू’

उद्घोष सम्वाददाता
५ असोज २०८१, शनिवार

Advertisement

खोटाङ, ५ असोज । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेका गाउँकी ७८ वर्षीया धनकुमारी राईले स्थानीय सरस्वती माध्यमिक विद्यालयको कक्षा–१ मा अध्ययन गर्न थालेकी छन् । वाल्यकालमा विवाह भएपछि शिक्षाबाट वञ्चित उनी अहिले नातिनातिनीको उमेरका बालबालिकासँगै बसेर पढ्न थालेकी हुन् ।

पाँच छोराछोरीका गरी २१ जना नातिनातिनीका हजुरआमा धनकुमारी सोही माध्यमिक विद्यालयको बाल विकास केन्द्रमा अध्ययनरत नातिनी परिशा राईसँगै झोलामा किताब, कापीसहित शैक्षिक सामग्री बोकेर विद्यालय जाने गर्छिन् । मोबाइल फोन चलाएर सामाजिक सञ्जाल हेर्ने धोको पूरा गर्न विद्यालय भर्ना भई नियमित अध्ययन गर्न थालेको उनले बताइन् ।

“सानै उमेरमा विवाह भएपछि विद्यालय जान पाइएन । अहिले पढ्ने धोको पूरा गर्न विद्यालय भर्ना भएकी छु”, उनले भनिन्, “ढिलै भए पनि पढाइलाई दैनिकी बनाउँदा खुसी लागेको छ ।” धनकुमारीसँगै पाथेका गाउँकी ५२ वर्षीया पुजन दर्जी पनि सोही विद्यालयमा कक्षा–१ मा भर्ना भएकी छन् ।

तीन सन्तानकी आमा उनले बाल विकास केन्द्रमा अध्ययनरत नातिनी स्नेहासँग विद्यालयमा जाने गर्छिन् । वाल्यकालमा पढ्ने चाहना भए पनि पूरा नभएपछि अहिले विद्यालय भर्ना भएको पुजनले बताइन् । “सानो हुँदा पढ्ने चाहना भए पनि बुबाआमाले दिनुभएन्”, उनले भनिन्, “नपढेपछि जिन्दगी अन्धकार हुँदो रहेछ । अहिले पढ्ने सपना पूरा गर्ने अवसर मिलेको छ । छोराछोरीले पनि साथ दिएका छन् ।”

वाल्यकालमा पढ्न नपाएपछि मोबाइल चलाउनदेखि सामाजिक सञ्जाल हेर्न पनि नसकेको पुजनले दुखेसो गरिन् । “लेख्न, पढ्न जानियो भने मोबाइल चलाउन सकिन्छ भन्ने लागेको छ”, उनले भनिन्, “छोरा विदेशमा छन् । उनीहरुसँग कुरा गर्न मन लाग्छ । पढेपछि यस्ता स–साना कामका लागि कसैलाई गुहार्नु पर्दैन ।”

हजुरआमा समानका धनकुमारी र पुजनले बुढेसकालमा उच्च मनोबलका साथ नियमिक विद्यालय आएर पढ्ने गरेका विद्यालयका प्रधानाध्यापक उत्रप्रसाद राईले बताए । “उनीहरु बुढेसकालमा पनि नियमित विद्यालय आएर अध्ययन गरिरहनुभएको छ”, उनले भने, “यसले महिलाको साक्षरता वृद्धि हुने विश्वास लिएका छौँ ।”

धनकुमारी र पुजन नेपाली अक्षरदेखि अङ्ग्रेजीमा केही शब्द भन्न र लेख्न सक्ने भएको प्रअ राईले उल्लेख गरे । उनीहरुको पढाइप्रतिको इच्छाशक्तिले अरुलाई पनि हौसला दिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हात्तीराम राईले बताए ।

विसं २०१७ मा स्थापना भएको उक्त विद्यालयमा अहिले तीन सय ३२ जना विद्यार्थी अध्ययनरत छन् । भौगोलिक रुपमा विकट र विद्यार्थीको सङ्ख्या पर्याप्त नभएकाले चन्दा सङ्कलन गरेर ११ को कक्षा सञ्चालन गरिएको सञ्चालक समितिका संयोजक धनप्रसाद गिरीले जानकारी दिए ।

कक्षा १२ सम्मको अनुमति पाएको विद्यालयमा शिक्षा, व्यवस्थापन र मानविकी सङ्कायको अध्यापन हुँदै आएको छ ।  रासस

View : 44

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved