Biratnagar, Morang, Nepal
३१ वैशाख २०८१, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

गलत मितिको पत्र लिएर मुख्यमन्त्रीका जनसम्पर्क सल्लाहकार प्रदेश प्रमुखको कार्यालयमा पुगेपछि....

विशेष अधिवेशनको माग अघि नै संसद्को नियमित अधिवेशन बोलाउने मुख्यमन्त्री कार्कीको योजना असफल
उद्घोष सम्वाददाता
२६ चैत २०८०, सोमवार

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विशेष अधिवेशन छल्नका लागि सोमबार चलाखीपूर्ण तरिकाले संसद्को नियमित अधिवेशन आह्वानको पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाए । तर उनको चलाखी सोही पत्रमा उल्लेखित अधिवेशन आह्वानको मितिका कारण फेल खान पुगेको छ ।

मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषद्को सिफारिसमा आगामी २०८१ जेठ ११ गते शुक्रबार दिनको १ बजेका लागि प्रदेश सभाको पाँचौं अधिवेशन आह्वानको सिफारिस पत्र प्रदेश प्रमुख समक्ष पठाएका थिए । तर तर उनका जनसम्पर्क सल्लाहकार लिलाबल्लभ घिमिरेले लिएको गएको पत्रमा अधिवेशनको आह्वानको मिति भने २०८० जेठ ११ गते उल्लेख भएपछि प्रदेश प्रमुख परशुराम खापुङ्‍गले मिति नमिलेको भन्दै फर्काइदिए ।

घिमिरेले गलत मितिको पत्र बुझाउँदा प्रदेश प्रमुखको कार्यकक्षमा एक तिहाइ भन्दा बढि सदस्यहरूको हस्ताक्षरसहित विशेष अधिवेशनको माग गर्दै नेकपा एमाले र माओवादी केन्द्रका नेताहरू बसिरहेका थिए । त्यतिबेला मुख्यमन्त्री कार्कीको तर्फबाट संसद् विघटन भएको पत्र आएको हो कि भन्ने तर्क धेरैले गरे ।

तर संविधानको धारा १६८ को उपधारा (५) बमोजिम बनेको सरकारले विश्वासको मत लिनु नपर्ने जिकिर गर्दै आएका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाउन माग गरिएको विशेष अधिवेशन छल्न नियमित अधिवेशन बोलाइएको पत्र पठाएका थिए ।

एमाले र माओवादी केन्द्रका संसदीय दलका नेतासहित उपस्थित धेरैले पत्रमा के रहेछ भन्दै मुखामुख गरेका थिए ।

मुख्यमन्त्री कार्कीले पठाएको गलत मितिको पत्र फिर्ता भए लगत्तै एमाले र माओवादी केन्द्रले प्रदेश सभाको विशेष अधिवेशन बोलाउन माग गरिएको पत्र प्रदेश प्रमुखलाई बुझाए । प्रदेश प्रमुखले ४ बजेर १६ मिनेटको समयमा उक्त पत्र प्राप्त भएको समय उल्लेख गर्दै पत्र दर्ता गरेको जानकारी दिए । 

‘विशेष अधिवेशनको आह्वानको निम्ति ५२ जनाको सही भएको आयो, संविधान बमोजिम २५ प्रतिशत पुगेको छ, अब यसलाई तुरुन्तै तोक लागिसकेको छ’ विशेष अधिवेशनको माग गर्न उपस्थित भएका एमाले र माओवादीका सांसदहरूलाई भने, ‘आवश्यक कारवाही भइहाल्छ, ४ बजेर १६ मिनेटमा दर्ता भएको छ, अन्य कुरा संविधान कानुन, फैसला बमोजिम मैले गर्नुपर्छ ।’

उनले एक तिहाइ बढिको हस्ताक्षरमा विशेष अधिवेशन माग गरिएको विषय संविधान सम्मत नै भएको भन्दै तत्कालै आवश्यक कारवाहीका लागि प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव एवं प्रवक्ता नरेन्द्र श्रेष्ठलाई निर्देशन दिए ।

विशेष अधिवेशन आह्वानको पत्र दर्ता भइसकेपछि मुख्यमन्त्री कार्कीले पुनः मिति सच्याएर पठाएको अधिवेशन आह्वान सम्बन्धि उनका जनसम्पर्क सल्लाहकार घिमिरेले प्रदेश प्रमुखलाई बुझाए ।

पत्र दर्ता भएको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव श्रेष्ठले जानकारी दिए । उनले संविधान र कानुन अनुसार प्रदेश प्रमुखबाट निर्णय हुने बताए । 

View : 225

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved