विराटनगर । शंकास्पद जापान भ्रमणका कारण विवादमा मुछिएका कोशी प्रदेश सरकारका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई उनको पार्टी नेकपा एमालेले समेत कारवाही अघि बढाएको छ । उक्त प्रकरणले अधिकारी विवादित बनेका छन् ।
आफू विवादित बनेपछि उनले शुक्रबार एमाले कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडालाई भेटेर कारवाही गर्न आफैँले माग गरेका थिए । उनको माग अनुसार नै एमाले प्रदेश कमिटी अध्यक्ष खतिवडाले पार्टीको संगठित सदस्यता समेत निलम्बन हुने गरी कारवाही गरेका हुन् ।
अध्यक्ष खतिवडाले प्रदेश कमिटीको तर्फबाट कारवाही गरिएको विज्ञप्तिमार्फत सार्वजनिक गरेका हुन् । विज्ञप्तिमा अधिकारीलाई आरोपको अन्तिम निरुपण नभएसम्मको लागि पार्टीको कुनैपनि तहमा रहन नपाउने गरी राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद सदस्य तथा संगठित सदस्यताबाट समेत निलम्बन गरिएको उल्लेख छ ।
खतिवडाले एमाले अविचलित रुपमा कानुनी शासनको पक्षमा उभिँदै आएको जिम्मेवार पार्टी भएको बताएका छन् ।
अधिकारी एमालेको तर्फबाट मोरङ जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा निर्वाचन क्षेत्र (ख) वाट निर्वाचित प्रदेशसभाका सदस्य हुन् । उनी कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुनमन्त्री थिए ।
मन्त्रीमा बहाल रहेकै समयमा उनी गैर कानुनी रुपमा जापान भ्रमणका लागि गएका थिए । मन्त्री अधिकारी र अन्य तीन जनालाई जापान पुर्याउन गिरोहको संलग्नता रहेको खुलेको छ ।
ट्रान्जिट उडानबाट जापान जाने क्रममा हङकङ पुगेपछि गिरोहले अधिकारीसँगै थप तीनलाई एउटै उडानबाट पठाउन खोजेको थियो । त्यो कुरा थाहा पाएर मन्त्री अधिकारीले नेपाल प्रहरीलाई जानकारी गराएका थिए । गिरोहले जापान उडाउन हङकङ पुर्याएका खोटाङका जनक राई, दावा शेर्पा र रसुवाका कञ्चन देवकोटा हुन् । उनीहरूको बयानका आधारमा धादिङका महेश पाण्डे, नुवाकोटका जुगल रिजाल र दोलखाका वीरबहादुर सुनार पनि पक्राउ परिसकेका छन् ।
उनीहरूलाई आफूले गरेको उजुरीका आधारमा पक्राउ गरिएको मन्त्री अधिकारीको दाबी छ । उनीहरु जापान पुगेर उतै लुक्ने अवस्था बनेपछि आफूले नै जापानको विमानस्थल सुरक्षा मार्फत रोकेर र आफूलाई बोलाइएको कार्यक्रममा समेत नगएको उनको भनाई छ ।
अधिकारी टोकियो महानगरपालिकाको निम्तो भन्दै गत अक्टोबर २९ देखि नोभेम्बर ३ सम्मका लागि सुटुक्क जापान उडेका थिए । उनलाई मानव तस्करीमा संलग्न रहेका व्यक्तिहरूसँग साँठगाँठ गरेको आरोप लागेपछि छानबिन हुनुपर्ने माग विपक्षी दलहरूले गरेका छन् ।
सोही घटनाका कारण विवादमा पुछिएपछि उनले नैतिकता देखाएर कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रीबाट राजिनामा दिएको घोषणा गरेका थिए ।
View : 117
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved