Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

एनपीएल : विराटनगरको यात्रामा चितवनको ‘ब्रेक’

उद्‌घोष संवाददाता
१० मंसिर २०८२, बुधवार

विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल)मा सुरुआतका तीन खेल लगालग जितेर उत्कृष्ट लय देखाएको विराटनगर किंग्सको जीतयात्रामा चितवन राइनोजले ‘ब्रेक’ लगाइ दिएको छ । 

विराटनगर किंग्सको अपराजित यात्रामा पूर्णविराम लगाउने क्रममा चितवनले बुधबार ४८ रनको जीत हात पारेको छ । 

चितवनका रवि बोपाराको विष्फोटक ब्याटिङ र रन्जितकुमारको घातक बलिङ सामु विराटनगर किंग्स निरीह सावित भएको थियो । 

इङ्ल्याण्डका चर्चित क्रिकेटर बोपाराको ६५ रनको विष्फोटक इनिङ मद्दतमा चितवनले विराटनगरलाई १७५ रनको चुनौतीपूर्ण लक्ष्य दिएको थियो । बोपाराले  ३८ बलमा ३ चौका र ४ छक्का प्रहार गर्नुअघि विराटनगरका प्रतिश जिसीबाट जीवनदान पाएका थिए । 

बोपाराले चार रनमा जीवनदान पाएका थिए । दशौं ओभरको पाँचौं बलमा नरेन भट्टको बलमा उनको को क्याच बाउन्ड्री लाइनमा प्रतिश जिसीले छाडेका थिए । 

जिसीले उत्त क्याच छोड्नु नै विराटनगरको सबैभन्दा ठूलो दुर्भाग्य सावित भयो । जिसीले क्याच छाडेपछि बोपाराले थप ६१ रन बनाएका थिए ।

आफूले फिल्डिङ गरिरहँदा बोपारा झेल्न सकस परेको विराटनगरलाई ब्याटिङका क्रममा चितवनका बायाँहाते स्पिनर रन्जितकुमार झन् ठूलो टाउको दुखाइ सावित भए । 

घरेलु प्रतियोगितामा मधेश प्रदेशबाट खेल्ने युवा स्पिनर रन्जितकुमारले विराटनगरका ५ ब्याटरलाई आउट पारेर सनसनीपूर्ण प्रदर्शन गरेका थिए । यसरी चितवनका दुई खेलाडी चम्किंदा लगातार चौथो खेल जित्ने विराटनगरको चाहना अपुरै रहन पुग्यो । 

चितवनले दिएको १७५ रनको लक्ष्य पछ्याएको विराटनगर १६.५ ओभरमा १२६ रनमा अलआउट हुनपुग्यो । खराब सुरुवात गरेको विराटनगरका शीर्ष तीन ब्याटर दोहोरो अंकमा रन जोड्न नपाइ आउट भएका थिए ।लोकेश बम ७ रन, जर्ज मुन्से र नरेन भट्ट ४–४ रनमा आउट भएक थिए बमलाई दोस्रो ओभरमा कमलसिंह ऐरीले विकेट पछाडि अर्जुन साउदले क्याच गराउँदा तेस्रो ओभरमा मुन्से सोहेल तन्वीरको बलमा दिपक बोहोराबाट क्याच भएका थिए ।

त्यसपछि यो सिजनमा पहिलो पटक मौका पाएका बायाँहाते युवा स्पिनर रन्जितकुमार बलिङमा आए । पाँचौ ओभरको तेस्रो बलमा सामहिजलेटलाई २२ रनमा एलबीडब्लूको धरापमा पारेर विकेट लिन सुरु गरेका उनी त्यसपछि रोकिएनन् । 

त्यसअघि हिजलेटले ११ बलमा ३ छक्काको मद्दतमा २२ रन जोडि सकेका थिए । दुई बलपछि रन्जितले बसिर अहदमलाई पनि शून्यमा आउट गरे । 

सातौं ओभरमा नरेन भट्ट आउट भए । उनलाई कमलले कप्तानकुशल मल्लबाट क्याच गराएका थिए । 

एघारौं ओभरमा फेरि रन्जितले उत्कृष्ट बलिङ गरे । उनले दोस्रो बलमा नारायण जोशीलाई १० र तेस्रो बलमा सूर्य तामाङलाई डकआउट हुन बाध्यपारेका थिए ।  

१३औं ओभरमा शुभम रन्जनेलाई सइफजइबले ६ रनमाबोल्ड गर्दा चितवन सजिलो स्थितिमा पुगेको थियो । यद्यपि त्यसपछि मर्चेन्ट डि लाङ आक्रामक अन्दाजमा पेश भए । उनले चितवनका बलरलाई लगातार आक्रामण गरेपछि खेल रोमाञ्चक बनेको थियो ।

 १३औं ओभरमा ६४–८ को स्थितिमा रहेको विराटनगरलाई उनले एकल प्रयासमा अघि बढाउन खोजेका थिए । उनी १६औं ओभरमा ३९ रन बनाएर आउट हुनपुगे । २२ बलमा २ चौका र ४ छक्का प्रहार गरेका उनलाई कमलसिंह ऐरीले बोल्ड गरेका थिए । 

प्रतिश जिसीसँग नवौं विकेटका लागि ३६ रनको साझेदारी गरेपछि विराटनगरले सय रन कटाएको थियो । त्यस्तै प्रतिश जिसीले १२ बलमा २ चौका र ३ छक्का प्रहार गरेर ३० रन जोडेर विराटनगरको स्कोर उकास्न प्रयास गरेका थिए । 

उनी चितवनका कप्तान कुशल मल्लबाट १६.५ ओभरमा बोल्ड भएसँगै विराटनगर अलआउट हुनपुगेको थियो । 

बलिङमा चितवनका रन्जितकुमारले ५ विकेट लिने क्रममा ४ ओभरमा २१ रन दिएका थिए भने कमलसिंह ऐरीले २ विकेट लिए । सोहेल तन्विर, सइफजइब र कुशल मल्लको नाममा १–१ विकेट रह्यो ।

त्यसअघि टस जितेको विराटनगरले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको चितवनले ५ विकेटको क्षतिमा १७४ रन जोडेको थियो । 

चितवनका लागि बोपाराबाहेक साइफजइबले ३२, देव खनालले २८, डेभिड मलानले १७ र कप्तान कुशल मल्लले नटआउट २० रन बनाएका थिए । 

बलिङमा विराटनगरका कप्तान सन्दीप लामिछाने र  डि लाङले २–२ विकेट लिएका थिए । १ विकेट रन्जनेको नाममा रह्यो । 

बुधबारको खेलमा २ विकेट लिएसँगै सन्दीपले जारी सिजनमा सर्वाधिक विकेट लिने बलरको शीर्ष स्थानमा आफूलाई उभ्याएका छन् । उनले चार खेलबाट ९ विकेट लिइसकेका छन् ।

View : 226

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved