Biratnagar, Morang, Nepal
२७ पुष २०८१, शनिवार
+977 21 450305, 515728, 578305
समाज

गैरकानुनी रुपमा नेपाली नागरिकता संकलन गर्ने दुई बंगलादेशीसहितको गिरोह पक्राउ

‘अरुको नागरिकता प्रयोग गरी खाता खोलेर प्रहरीको अनुसन्धानबाट पनि जोगिने र पैसा पनि ठग्ने गिरोहको खोजी गर्न प्रहरीलाई ठूलै चुनौति हुने गर्छ ।’
उद्‌घोष सम्वाददाता
१ चैत २०८०, बिहिवार

विराटनगर । आफूलाई अन्तर्राष्ट्रिय संस्थाको प्रतिनिधि बताएर सामान्य रकम दिंदै नेपालीको नागरिकताको प्रतिलिपि संकलन गर्ने दुई वंगलादेशीसहित तीन जान पक्राउ परेका छन् ।

उनीहरुले नेपाली नागरिकताको प्रयोग गरी अनलाइन ठगीको उद्देश्य बनाएको प्रहरीले जनाएको छ । मोरङको सुन्दरहरैंचा–८ सलकपुरमा फागुन २८ गते स्थानीयलाई भेला गरेर रकम दिंदै नागरिकताको फोटो खिचिएको थियो । सो गिरोहले आफूहरु परोपकारी संस्था डब्लूबीएससीका प्रतिनिधि भएको जनाएर स्थानीयलाई एक हजार र १५ सय रुपैयाँका दरले रकम बाँडेका थिए ।

रकम बाँडेर ३० जना भन्दा बढीको नागरिकताको फोटो खिचेर लगेको सूचना पाएपछि प्रहरीले उनीहरुको खोजतलास गरेको थियो ।

खोजीका क्रममा प्रहरीले काडमाडौ नयाँ बजार बस्ने २३ वर्षीया सुनिता खत्रीलाई २९ गते सलकपुरबाटै पक्राउ गरेको थियो । खत्रीको बयानका आधारमा वंगलादेशी नागरिकद्वय ४९ वर्षीय मोहमद महबुर हुसेन र ३७ वर्षीय मोहमद तानवीर हुसेनलाई प्रहरीले पक्राउ गरेको हो ।

मोरङका प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालका अनुसार उनीहरुले नेपाली युवतीको प्रयोग गरेर नेपालीलाई रकम दिंदै नागरिकताको प्रतिलिपि संकलन गर्दै आएका थिए ।

नागरिकताको प्रयोग गरी सो गिरोहले डिजिटल वालेटहरुको खाता खोलेर ई–सेवा र खल्तीमा रकम जम्मा गर्ने उद्देश्य रहेको उनले जानकारी दिए । काठमाडौमा गार्मेन्ट उद्योगमा काम गर्ने वंगलादेशीद्वयले नागरिकता संकलन गर्न केही दिनअघि नै खत्रीलाई लिएर मोरङ आएका थिए ।

नेपाली नागरिक खत्रीलाई स्थानीयबासीलाई प्रलोभनमा पारेर भेला गर्न प्रयोग गरेको प्रहरीको भनाई छ । उनीहरुको साथबाट प्रहरीले एनसेलको १५ वटा सीमकार्ड फेला पारेको छ ।

उनीहरुको साथबाट पक्राउ परेकी खत्री र तानवीर मियाँ दर्जीको नाममा रहेको राहदानीसमेत फेला परेको छ । दर्जीको नागरिकताको प्रतिलिपि, बैंकका एटीएम कार्ड पनि उनीहरुसँग रहेको पाइएको छ ।

‘नेपालमा जतिपनि अनलाइन ठगी हुन्छन् यसरी नै अरुको नागरिकता प्रयोग गरेर खाता खोलिएका हुन्छन्’ दाहालले भने, ‘अरुको नागरिकता प्रयोग गरी खाता खोलेर प्रहरीको अनुसन्धानबाट पनि जोगिने र पैसा पनि ठग्ने गिरोहको खोजी गर्न प्रहरीलाई ठूलै चुनौति हुने गर्छ ।’

पैसा पाएपछि अरुलाई जेपनि दिने नेपालीहरुको बानी रहेकाले यस खाले अनलाइन ठगी गर्ने संगठित गिरोहलाई सजिलो भएको उनले बताए ।

उनीहरुले ब्यक्तिगत पहिचानको आधिकारिक परिचयपत्र लिएर दुरुपयोग गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनै जनालाई जिल्ला अदालत मोरङबाट बुधबार ठगी उद्योग कसुरमा अनुसन्धानका लागि पाँच दिन थुनामा राख्ने प्रहरीले अनुमति लिएको छ । 

View : 268

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved