विराटनगर । धितोपत्र सम्बन्धी कसूरमा हिमालयन रिइन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्ष रहेका नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष शेखर गोल्छा पक्राउ परेका छन् ।
प्रतिष्ठित औद्योगिक घराना गोल्छा समूहका प्रमुख उद्योगी शेखरलाई पक्राउ गर्दै केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले आर्थिक तथा गलत व्यावसायिक गतिविधिसँग सम्बन्धित अनुसन्धानका क्रममा नियन्त्रणमा लिएको खुलाएको छ ।
नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदनका आधारमा गरिएको अनुसन्धानपछि उनलाई सीआईबीले पक्राउ गरेको हो ।
बोर्डबाट प्राप्त प्रतिवेदनअनुसार गोल्छा लगायतको मिलेमतोमा धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतका विभिन्न दफा (९४, ९५, ९६(१) र ९८) बमोजिम कसूर भएको आरोप लागेको छ ।
सो प्रतिवेदन प्राप्त भएपछि थप अनुसन्धान तथा कारबाहीका लागि प्रक्रिया अघि बढाइएको सीआईबीको दाबी छ ।
गोल्छालाई काठमाडौं जिल्ला अदालतबाट बिहीबार नै पक्राउ अनुमति लिएर उनलाई काठमाडौंको नक्साल क्षेत्रबाट नियन्त्रणमा लिइएको जनाइएको छ । हाल उनलाई प्रहरी हिरासतमै राखी थप अनुसन्धान भइरहेको जनाइएको छ ।
गोल्छा समूह नेपालको निजी क्षेत्रको नेतृत्वदायी भूमिकामा रहेको घराना हो । यो समूहमा बहुआयामिक उद्योगका सञ्चालकहरू रहेका छन् ।
उत्पादन, व्यापार, होटल, ऊर्जा र सेवा क्षेत्रमा फैलिएको गोल्छा समूहले देशको औद्योगिक विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको जनाइएको छ ।
विशेषगरी उत्पादनमूलक उद्योग विस्तार, रोजगारी सिर्जना र निर्यात प्रवद्र्धनमा समूहको भूमिका उल्लेखनीय मानिएको छ ।
गोल्छा घरानाका शेखरको पक्राउसँगै निजी क्षेत्रका प्रतिनिधिहरूले चिन्ता व्यक्त गरेका छन् । उनीहरूले उद्योगी व्यवसायीलाई अनुसन्धानको नाममा नियन्त्रणमा लिने क्रमले लगानीको वातावरणमा नकारात्मक सन्देश जाने बताएका छन् ।
यसअघि पनि विभिन्न समयमा उद्योगीहरू पक्राउ परेका घटनामा निजी क्षेत्रले पहिले ‘थुन्ने अनि सुन्ने’ कार्य गलत भएको भन्दै खुलेर विरोध गरेका थिए ।
उनीहरूले कर छली, बैंकिङ कसूर वा नियामकीय विवादका मुद्दामा उद्योगी पक्राउ पर्दा समेत सरकारको कदमप्रति असन्तुष्टि जनाएका थिए ।
तर अहिले पक्राउ गोल्छाको हकमा भने गम्भीर प्रकृतिको आर्थिक चलखेलको विषय जोडिएको अनुसन्धानकारी निकायको दाबी छ । यो घटनामा भने उद्योगी व्यवसायी सम्वद्ध संस्थाहरूले कस्तो लिखित प्रक्रिया जनाउलान् भन्ने हेर्न बाँकी छ ।
पब्लिक कम्पनीको रकम दुरुपयोग गरी सेयर बजारमा लगानी गरेको विषयलाई लिएर गोल्छालाई पक्राउ गरिएको जनाइएको छ ।
नेपाल धितोपत्र बोर्डले सेयर कारोबारको छानबिन गरी गोल्छालाई कारबाही गर्न प्रहरीलाई सिफारिस भएको थियो ।
बिचौलिया दीपक भट्टलाई पक्राउ गरेर सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान गर्ने क्रममा गोल्छाको समेत नाम मुछिएको थियो । त्यसपछि बोर्डले छानबिन अघि बढाउँदै गोल्छासँग बयानसमेत लिइसकेको छ ।
View : 212
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved