Biratnagar, Morang, Nepal
२८ पुष २०८१, आइतवार
+977 21 450305, 515728, 578305
समाज

भोजपुरमा बोलेरो दुर्घटना हुँदा दुईको मृत्यु

उद्‌घोष सम्वाददाता
१७ वैशाख २०८१, सोमवार

घाइतेलाई उपचार गरिंदै । तस्वीर: उद्घोष

विराटनगर । भोजपुरको आमचोक गाउँपालिका–८ हैखराङमा सोमबार बिहान भएको दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुबै जना महिला रहेका छन् । १२ जना घाइते भएको प्रहरीले जनाएको छ ।

को १ ज २६१७ नम्बरको बोलेरो गाडी दुर्घटना हुँदा आमचोक–१० की २७ वर्षीया रुना राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी प्रहरी निरीक्षक दलकुमार राईले जानकारी दिए । त्यसैगरी दुर्घटनास्थलबाट उद्धार गरी उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएका १३ जनामध्ये ३६ वर्षीया शान्ता राईको उपचारकै क्रममा मृत्यु भएको जनाइएको छ ।

बोलेरो अनियन्त्रित भएर सडकबाट २०० मिटर तल खसेको जनाइएको छ । दुर्घटनामा घाइते भएका सबैको तत्कालै उद्दार गरी उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको हो ।

सोमबार बिहान १० बजेतिर दुर्घटना भएको जानकारी आएपछि घटनास्थलमा प्रहरी पठाएर उद्धार गरिएको जनाइएको छ । 

बोलेरो बालांखाबाट मैंयुटार जाँदै गर्दा सुनकोशी नदीमा खसेको जनाइएको छ । बोलेरो अनियन्त्रित भएर दुर्घटना भएको अनुमान गरिएको प्रहरीको भनाइ छ । 

दुर्घटनामा परी बोलेरो चालक ३६ का प्रकाश राईसहित धरान उपमहानगरपालिका–५ की ७ वर्षीया आशिका राई, धरान–१३ का १३ वर्षीय साइमन राई, १३ वर्षीया लिजा राई, धरान–५ की ३५ वर्षीया सृजना राई घाइते भएका छन् । 

त्यसैगरी भोजपुरकै आमचोक–१० का सफल राई, वीरबहादुर राई, ३० वर्षीय सुमन राई, ६ वर्षीया सृष्टि राई, ३१ वर्षीया सरस्वती राई, ५० वर्षीय खानुहाङ राई र ६ महिने शिशु अनरुप राई घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरू सबैको धरानमा उपचार भइरहेको जनाइएको छ ।

View : 154

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved