विराटनगर । नेपाल शिक्षक महासंघ जिल्ला समिति मोरङले नेपाल सरकारको निर्णयअनुसार आइतबार सार्वजनिक बिदा कायम रहेकाले विद्यालय सञ्चालन नगर्न सम्बन्धित पालिकाहरूलाई आग्रह गरेको छ ।
महासंघले प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषद्को २०८२ चैत २२ गतेको निर्णयअनुसार देशभरका शैक्षिक संस्था तथा सरकारी कार्यालयमा हप्तामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा लागू भएको स्मरण गराएको छ ।
विज्ञप्तिमा विद्यालय सञ्चालन खर्च, शिक्षक तथा कर्मचारी व्यवस्थापन, पाठ्यपुस्तक, विद्युत्, इन्टरनेट, यातायात लगायत विभिन्न व्यवस्थापन सम्बन्धी अधिकार स्थानीय सरकारलाई दिइएको भए पनि शिक्षक नियुक्ति, सरुवा, बढुवा तथा बिदासम्बन्धी विषयमा संघीय सरकारअन्तर्गतका निकायको भूमिका रहने उल्लेख गरिएको छ ।
महासंघले मोरङ जिल्लाका केही पालिकाले कार्यपालिकाको निर्णय भन्दै आइतबार विद्यालय सञ्चालन गर्न निर्देशन जारी गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
साथै, आइतबार विद्यालय सञ्चालन सम्बन्धी निर्णय नगर्न र संघीय सरकारको निर्णय कार्यान्वयन गर्न सम्बन्धित पालिकाहरूलाई आग्रह गरेको छ ।
विज्ञप्तिमा संघीय सरकारको निर्णयविपरीत हुने कुनै पनि निर्णय नगर्न अन्य स्थानीय तहहरूलाई पनि अनुरोध गरिएको छ । यस्ता निर्णयविरुद्ध अदालतमा मुद्दा विचाराधीन रहेकाले अदालतबाट अन्तिम निर्णय नआउँदासम्म हप्तामा दुई दिन बिदाको व्यवस्था कायम राख्नुपर्ने महासंघको धारणा छ ।
मोरङका सबै पालिका, प्रधानाध्यापक, शिक्षक, कर्मचारी, विद्यार्थी, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ तथा अभिभावकहरूलाई सरकारको निर्णय पालना गर्न महासंघका जिल्ला अध्यक्ष कुमार पोखरेल र सचिव प्रेमप्रकाश कोइरालाद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ ।
View : 72
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved