विराटनगर । नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किने आशंकाको घेरामा रहँदै आएकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफू अहिलेनै एमालेमा गएर राजनीति गर्न नचाहेको प्रष्टिकरण दिएकी छन् । तर उनले एमालेको राजनीतिमा संलग्न हुनसक्ने सम्भावनाबारे भने ‘अहिले नै समय आइसकेको छैन’ भन्दै त्यसको सम्भावनालाई घुमाउरो गरी स्वीकार पनि गरेकी छन् ।
उनले विराटनगरका सञ्चारकर्मीहरूसँग रूचिपूर्वक राजनीतिक विषयवस्तुबारे आफ्ना कुरा राख्दै एमालेको सक्रिय राजनीतिमा फर्किने सम्भावनाबारे पूर्ण रूपमा नकार्ने प्रयास भने गरिनन् ।
‘बाहिर मिडियामा आइरहेको कुरा भने गलत हो, म नेकपा एमालेबाट आएका कारण जाँदा त्यहीं नै हुन्छ, तर त्यो छलफलको चरणमा प्रवेश गरेको छैन’ उनले भनिन्, ‘यो कुरा राजनीतिमा चासो राख्ने र समाजको छलफलको बिषय भएको जस्तो मलाई लाग्छ ।’
सुनसरीको जनता मावि इटहरीको ६८औं बार्षिकोत्सव कार्यक्रममा सहभागी हुने मुख्य शिलशिला मिलाएर सोमबार विराटनगर आइपुगेकी पूर्व राष्ट्रपति भण्डारीले शिक्षा, रोजगारी, जलवायु परिवर्तन, खानेपानी जस्ता बिषय आफ्नो मुख्य एजेण्डा भएको बताइन् ।
उनले एमालेको राजनीतिमा फर्किइहाल्ने स्पष्ट जवाफ नदिए पनि विराटनगर आइपुगेदेखि नै बिग होटलको मिनी हलमा एमालेकै नेता कार्यकर्ताहरूसँग निरन्तर भेट गरेकी छन् ।
उनलाई भेट्न एमालेबाट निर्वाचित कोशी प्रदेश सभाका महिला सांसददेखि विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीसम्मका नेताहरूको लर्को लागेको थियो । पूर्व राष्ट्रपति भण्डारीले एमालेका महिला नेतृहरू र युवाहरूलाई भलाकुसारी गरिरहँदा एमालेका केन्द्रीय सल्लाहकार परिषद् सदस्य रहेका प्रभावशाली नेता विनोद ढकालसहितको समुहले भेटघाटको व्यवस्थापन मिलाएको जनाइएको छ ।
‘हामी सुरूदेखि नै संगठित भएर हिंडेकै हौं, राजनीतिमा हाम्रो चासो हुँदैन भन्ने होइन, तर अहिलेको चासो राष्ट्रिय एजेण्डामा हुन्छ, हरेकले राष्ट्रिय राजनीतिलाई बुझ्नुपर्छ’ पूर्व राष्ट्रपति भण्डारीले भनिन्, ‘देशमा शान्ति र स्थायित्वका लागि मेरो गहिरो चासो छ, अब दलीय रूपमा जिम्मेवारी लिने नलिने भन्नेमा अहिले म प्रवेश गरेको छैन, अझ एमालेमै काम गर्नेमा अहिले नै मेरो ठुलो चासो गर्ने समय भएको छैन, समय आइसकेको छैन ।’
पूर्व राष्ट्रपति भण्डारीले नेपालको राष्ट्रपतीय प्रणालीमा कस्तो नजिर राख्ने भन्ने कुराको निक्र्यौल हुन नसकेको बताइन् । राष्ट्रिय एजेण्डाका लागि आफुले सवै दलहरूमा कुरा राख्ने बताइन् ।
‘भोलि राष्ट्रको आवश्यकताले त्यसको खोजी भयो भने अब के गर्ने भन्ने कुरा भोलिको कुरा हो, तर अहिले त मैले त्यस्तो यो दल, उ दल भनेको छैन’ उनले भनिन्, ‘अहिले मैले राष्ट्रिय एजेण्डामा केन्द्रित होऔं र ती एजेण्डामा प्रतिवद्ध पार्टीहरूलाई सहयोग गर्नुपर्छ भनेको हो ।’
पार्टीको बैठकमा पूर्व उपराष्ट्रपति जाँदा खुसी
पूर्व राष्ट्रपति भण्डारीले आफ्नै कार्यकालका पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन माओवादी केन्द्रको बैठकमा गएको कुराले खुसी नै लागेको बताइन् ।
उनले उपराष्ट्रपति पुन युवा भएकोले माओवादीको राजनीतिमा सक्रिय हुन खोज्नुलाई स्वाभाविक मान्नुपर्ने बताइन् ।
‘उहाँ युवा हुनुहुन्छ, अनुभव छ राजनीति, संगठन गरेर नै आउनु भएको हो, म राष्ट्रपति हुँदा हामीले सहकार्य गरेको हो, मलाई त खुुसी नै लागेको उहाँको केशमा’ उनले भनिन्, ‘राम्रै होस्, शुभेच्छा छ ।’
View : 133
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved