विराटनगर । कोशी प्रदेशका १४ वटै जिल्लाको स्वास्थ्य अवस्थामाथि प्रदेशस्तरीय समीक्षा सुरू गरिएको छ । स्वास्थ्य मन्त्रालय अन्तरगत स्वास्थ्य निर्देशनालय धनकुटाको आयोजनामा आइतबारदेखि विराटनगरमा प्रदेशस्तरीय तीनदिने एकीकृत समीक्षा सुरू भएको हो ।
समीक्षा गोष्ठीको उद्घाटन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले आगामी अधिवेशनमा प्रदेश स्वास्थ्य ऐन ल्याउने बताउँदै त्यसका लागि रचनात्मक सहयोग गर्न १४ वटै जिल्लाका स्वास्थ्य कार्यालयका प्रमुखहरूलाई आग्रह गरे । उनले स्वास्थ्य मन्त्रालय र अन्तरगतका कार्यालयका कर्मचारीहरूको सरूवा, बढुवा र वृत्ति विकासलाई स्वास्थ्य ऐनमार्फत नै सम्बोधन गरिने बताए ।
उनले बजेट र नीतिगत व्यवस्था नहुँदा–नहुँदै पनि कोभिड १९ को महामारीको समयमा स्वास्थ्यकर्मीहरूले ठूलो योगदान गरेको बताए । मुख्यमन्क्री कार्कीले जनशत्तिको कमी, सीमित साधन स्रोतका वावजुत नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्य सेवाका कर्मचारीहरूको भूमिका महत्वपूर्ण रहेको बताए ।
प्रदेश सरकारले प्रदेशको स्वास्थ्य क्षेत्रमा सुधारका लागि सुझाव दिन डा. महेन्द्र श्रेष्ठको अध्यक्षतामा कार्यदल गठन गरेको जानकारी दिंदै सरकारले सुझाव प्राप्त गरेपछि त्यसको कार्यान्वयनमा केन्द्रित हुने बताए ।
स्वास्थ्य निर्देशनालय धनकुटाका प्रमुख ज्ञानबहादुर बस्नेतले प्रदेशको स्वास्थ्य क्षेत्रका बारेमा अहिलेसम्म गरिएका प्रयासबारे जानकारी गराउँदै तीन कार्यशालाको उद्देश्यबारे प्रष्ट्याएका थिए ।
स्वास्थ्य मन्त्रालयका योगराज घिमिरेले कोशी प्रदेशमा न्यून कर्मचारी दरबन्दी, न्यून स्वास्थ्य जनशक्ति र नियमनकारी निकायको अस्पष्टतालाई अन्त्य गर्न सरकारले पहल गर्नुपर्ने बताए ।
जनस्वास्थ्य प्रशासक दयाकृष्ण पन्तले समग्र स्वास्थ्य क्षेत्र र कोशी प्रदेशको प्रगतिको अवस्थाबारे प्रस्तुतिकरण गरेका थिए । गोष्ठीमा स्वास्थ्य मन्त्रालयअन्तर्गतका अस्पताल, आयुर्वेद कार्यालय र निजी स्वास्थ्य सेवा क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको जनाइएको छ ।
View : 66
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved