Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

मजदुरहरुद्वारा पारिश्रमिक बृद्धि गर्न माग

उद्‌घोष संवाददाता
२७ असार २०८२, शुक्रवार

विराटनगर । श्रमिकहरुले न्यूनतम पारिश्रमिक बृद्धि गर्न माग गर्दै  बिहीबार विराटनगरमा र्‍याली निकालेका छन् । 

संयुक्त ट्रेड युनियन समन्वय केन्द्र, कोशी प्रदेश समन्वय समितिको अगुवाइमा र्‍याली निकालिएको हो । स्थानीय संसारी माई मन्दिर परिसरबाट निकालिएको र्‍यालीले महानगरका विभिन्न भागको परिक्रमा गर्दै हिमालयरोडसम्म पुगेको थियो । 

सो ठाउ“मा भएको कोणसभामा बोल्ने वक्ताहरुले श्रम कानुन अनुसार श्रमिकहरुको न्यूनतम पारिश्रमिक समय सापेक्ष बृद्धि गर्नुपर्ने माग गरेका थिए । उनीहरुले कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राईलाई ज्ञापनपत्रसमेत बुझाएका थिए । मन्त्री राईलाई जीफन्टका राष्ट्रिय अध्यक्ष विनोद श्रेष्ठले ज्ञापनपत्र हस्तान्तरण गरे । 

पछिल्लो पटक  सरकारले २०८० सालमा श्रमिकको न्यूनतम पारिश्रमिक १७ हजार ३ सय तोकेको भएपनि पछिल्ला दुई बर्षमा मुद्रास्फिति, आवास, स्वास्थ्य र दैनिक उपभोग्य बस्तुको मूल्य बृद्धिले श्रमिकहरुको जीवनस्तरमा गम्भीर असर परेकाले जीवन यापनको परिभाषा अनुसार न्यूनतम पारिश्रमिक तोकिनुपर्ने माग गरिएको छ । 

वर्तमान बजार मूल्य र परिवारको न्यूनतम जीवनस्तरका आधारमा चार सदस्यीय परिवारको न्यूनतम मासिक खर्च ३० देखि ३५ हजार पर्न गएकाले वैज्ञानिक, तुलनात्मक र व्यवहारिक आधारमा न्यूनतम पारिश्रमिक ३० हजार ४ सय ४३ रुपैयाँ तोकिनुपर्ने माग मजदुरहरुले गरेका छन् ।

सो अवसरमा नेपाल ट्रेडयूनियन कांग्रेसका कोशी प्रदेश अध्यक्ष नारायणबाबु कार्कीले वर्तमान परिवेशमा दुई बर्ष अघि निर्धारण गरिएको  पारिश्रमिकबाट श्रमिकको जीवन नचल्ने भएकाले तत्काल बृद्धि गर्नुपर्ने माग गरे । 

जीफन्टका अध्यक्ष विनोद श्रेष्ठले श्रमिकको आवाज सरकार तथा उद्योगीहरुको कानसम्म पुर्‍याउन देशभरिका औद्योगिक नगरीहरुमा सांकेतिक रुपमा र्‍याली गरिएको बताए ।

सामाजिक विकास मन्त्री राईले श्रमिकहरुको पारिश्रमिक बृद्धिको माग उचित रहेको बताउँदै मजदुरका माग पूरा गराउन कोशी प्रदेश सरकारले पहल गर्ने आश्वासन दिए ।

View : 287

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved