काठमाडौं केन्द्रीत आन्दोलनमा सहभागी हुँदै मोरङको विभिन्न विद्यालयका शिक्षकहरु । तस्वीर : उद्घोष
विराटनगर । गत चैत २० गतेदेखि आन्दोलित शिक्षकहरूले काठमाडौं केन्द्रीत प्रदर्शन चकाउँदै लगेका छन् । आन्दोलित शिक्षकहरू सोमबारसम्म १३ दिनदेखि सडक केन्द्रीत प्रदर्शनमा रहेका छन् ।
संसद चलेकै बेलादेखि शिक्षा ऐनको माग गर्दै आएका शिक्षकहरू सरकारले संसद बैठक अन्त्य भएपछि अध्यादेश ल्याएर भएपनि आफ्ना माग सम्बोधन गर्न सरकारलाई आग्रह गरिरहेका छन् । तर सरकारले अहिले विद्यालयहरू विदा रहेको मौका पारेर आफ्ना माग सम्बोधन नगरी कान थुनेर बसेको भन्दै बैशाख २ गतेदेखि आन्दोलन चर्काउने घोषणा गरेका छन् ।
शिक्षकहरू छाता संस्था नेपाल शिक्षक महासंघको नेतृत्वमा आन्दोलित छन् । उनीहरूले मंगलबारदेखिको आन्दोलन सशक्त बनाउने विज्ञप्तिमार्फत घोषणा गरेका हुन् ।
महासंघको निर्देशन अनुसार प्रदेश महासंघ, जिल्ला महासंघ र स्थानीय तह महासंघलाई बैशाख २ देखि ५ गतेसम्म काठमाडौंमा हुने बृहत प्रदर्शनमा अझ सशक्त रुपमा सहभागी हुने भएका हुन् ।
महासंघले विज्ञप्तिमार्फत विद्यालय प्रशासन, प्रधानाध्यापक, विद्यालय कर्मचारीलाई काठमाडौं केन्द्रीत आन्दोलन जुट्न आग्रह गरेको छ ।
साथै स्थानीय पालिकासहित संस्थागत विद्यालयका शिक्षक समेतलाई आन्दोलनमा सहयोग गर्न महासंघले आह्वान गरेको हो ।
महासंघले २०८२ सालको शैक्षिक सत्रको विद्यालय भर्ना कार्यक्रम, कक्षा १० को उत्तरपुस्तिका परीक्षण तथा सम्परीक्षण, तालिम गोष्ठी, सीटीईभीटीको लगायत कुनैपनि कार्यक्रममा सहभागी नहुन शिक्षकहरूलाई आग्रह गरेको नेपाल शिक्षक महासंघ मोरङका अध्यक्ष कुमार पोखरेलले बताए ।
शिक्षकहरूले सोमबार २०८२ सालको पहिलो दिन सार्वजनिक विदामा पनि काठमाडौंमा प्रदर्शन जारी राखेका छन् ।
आन्दोलनका कारण कक्षा १० को नतिजा प्रकाशनदेखि शैक्षिक सत्र २०८२ को शैक्षिक कार्यतालिका नै प्रभावित हुने निश्चित भएको छ ।
महासंघ मोरङका सचिव प्रेम प्रकाश कोइरालाले वैशाख २ गतेदेखि घोषित थप आन्दोलनलाई अझ सशक्त बनाउन शिक्षक, विद्यालय कर्मचारी लगायतलाई अनिवार्य रुपमा काठमाडौं केन्द्रीत हुन आग्रह गरिएको बताए ।
उनले आन्दोलन सशक्त बन्दै गएपनि सरकारले भने आफ्ना माग सुनुवाई गर्न कुनैपनि पहल नगरेको भन्दै थप आन्दोलनको विकल्प नभएको बताए ।
View : 185
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved