Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
आर्थिक

औद्योगिक क्षेत्रका तीन पालिका जोडिए श्रम संसारमा

उद्घोष सम्वाददाता
११ पुष २०८०, बुधवार

विराटनगर । मोरङ–सुनसरी औद्योगिक क्षेत्रका तीनवटा पालिका श्रम संसारमा जोडिएका छन् । बुधबारदेखि विराटनगर महानगरपालिका, इटहरी उपमहानगरपालिका र दुहवी नगरपालिका श्रम बजारको सूचना प्रणालीका रुपमा विकास गरिएको श्रम संसारमा जोडिएका हुन् ।

मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशका १३७ वटै स्थानीय तहमा पुर्‍याउने लक्ष्य राखिएको श्रम संसारको वेव पोर्टलको बुधबारदेखि औपचारिक रुपमा शुभारम्भ गरे ।

सामाजिक विकासमन्त्रीको समेत जिम्मेवारीमा रहेका मुख्यमन्त्री कार्कीको उपस्थितिमा कोशी प्रदेश सरकार अन्तरगत सामाजिक विकास मन्त्रालय, स्वीस कन्ट्याक्ट र आसमान नेपालबीच श्रम संसार सञ्चालन र व्यवस्थापन सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको हो । 

श्रम संसारले औधोगिक क्षेत्रमा बेरोजगारहरुलाई रोजगारी तथा उद्यमशीलताका लागि रोजगारीका क्षेत्रसँग जोड्ने काम गर्दछ । स्टेप अप परियोजना अन्तरगत बेरोजगार युवा, बैदेशिक रोजगारीबाट फर्किएका र कोभिड १९ का कारण बेरोजगार भएकाहरुलाई रोजगारी तथा उद्यमशीलताको माध्यमबाट आयस्तर बृद्धिमा योगदान पुर्‍याउने उद्देश्य रहेको जनाइएको छ ।

श्रम संसार डटकम तथा त्यसको मोबाइल एपको माध्यमबाट श्रमिक तथा बेरोजगारहरुलाई रोजगारदाताहरुसँग जोड्न स्वीस कन्ट्याक्टको आर्थिक तथा प्राविधिक सहयोग रहेको छ । सञ्चालनको सहजीकरण भने आसमान नेपाल नामक संस्थाले गर्ने जनाइएको छ ।

त्यसैगरी सामाजिक विकास मन्त्रालयको मातहतमा वेव पोर्टल सञ्चालन हुने भएकोले मन्त्रालयमा रहेको रोजगार सूचना केन्द्रबाट सूचिकृत भएका बेरोजगार जनशक्ति, तालिम प्रदायक संस्था र रोजगारदाताहरुबीच समन्वय गरिने कार्यक्रममा जनाइएको हो । 

उक्त प्रणालीमा तीनवटा पालिकाहरुबाट हालसम्म ८० वटा रोजगारदाता र ३ हजार ४ सय बढी व्यक्ती दर्ता भएका छन् । 

ऊक्त कार्यत्रममा बोल्दै मुख्यमन्त्री कार्कीले श्रमको सम्मान गर्न सकेमात्र देशको विकास हुने भन्दै श्रममा कसैलाई पनि ठुलो सानो भनेर भेदभाव गर्न नहुने बताए । उनले रोजगारदाताहरुलाई आवश्यक परेका दक्ष जनशक्ति छनोट गर्न श्रम संसार महत्वपूर्ण थलो बन्ने विश्वास व्यक्त गरे । 

‘अब यस क्षेत्रमा कसैले पनि काम गर्ने मान्छे रोजेर पाइने छ, श्रम प्रतिको सम्मान पनि बढ्ने छ’ मुख्यमन्त्री कार्कीले भने, ‘जसका कारण श्रम बजार पनि व्यवस्थित हुँदै प्रदेशलाई सक्षम र समृद्ध बनाउन सहयोग पुग्नेछ ।’

सामाजिक विकास मन्क्रालयका सचिव बासुदेव दाहालको अध्यक्षतामा आयोजित कार्यत्रममा दुहवी नगरपालिकाका मेयर वेदनारायण गच्छदार, स्वीस कन्ट्याक्टका कन्ट्री डाइरेक्टर सञ्जय कार्कीले श्रम बजार व्यवस्थापनमा गरिएको प्रयासबारे जानकारी गराएका थिए ।

कार्यक्रममा कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरी, दुवही नगरपालिकाकी उपमेयर मेनुका पोखरेल खतिवडा, बुढीगंगा गाउँपालिकाकी उपाध्यक्ष अमृता गच्छदार लगायतको उपस्थिति  थियो ।

View : 204

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved