Biratnagar, Morang, Nepal
२१ भदौ २०८३, आइतवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

कृष्णभिरमा सडक भासिएपछि त्रिभुवन राजपथबाट इन्धन आपूर्ति

उद्‌घोष संवाददाता
२१ भदौ २०८३, आइतवार

Advertisement

काठमाडौं । पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा सडक अवरुद्ध भएपछि नेपाल आयल निगमले काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा त्रिभुवन राजपथ (बाइरोड) मार्फत पेट्रोलियम पदार्थ र एलपी ग्यासको आपूर्ति निरन्तर गराइरहेको छ ।

गएको भाद्र १४ गते त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्ग भत्किँदा इन्धन बोकेका ट्याङ्कर तथा ग्यास बुलेटहरू रोकिएका थिए । त्यसपछि निगमले वैकल्पिक मार्ग प्रयोग गरी तराईका उद्योगहरूमा भरिएका ग्यास सिलिन्डर काठमाडौं भित्र्याउन थालेको हो ।

निगमका अनुसार भदौ १८ गते करिब २४, ५०० र भदौ १९ गते करिब ३४, १३४ सिलिन्डर उपत्यका भित्र्याइएको छ । आपूर्ति प्रणाली सहज राख्न सार्वजनिक बिदाका दिनमा पनि रिफिलिङ र ढुवानी सुचारु राख्न ग्यास उद्योगहरूलाई निर्देशन दिइएको छ ।

यसैबिच, भाद्र १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवन लगायतका जिल्लाहरूमा क्षति पुगेपछि जारी खोज तथा उद्धार कार्यका लागि निगमले हवाई इन्धन र ग्यास उपलब्ध गराइरहेको छ ।

उद्धारमा खटिएका हेलिकप्टरहरूका लागि नुवाकोटस्थित नेपाली सेनाको ब्यारेकबाट हालसम्म १,२०,००० लिटर हवाई इन्धन रिफ्युलिङ गराइसकिएको छ । 

साथै, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अनुरोधमा रसुवा र नुवाकोटका अस्थायी सेल्टरहरूमा ५७५ थान एलपी ग्यास सिलिन्डर पठाइएको निगमले जनाएको छ ।

View : 51

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved