Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

देवानगञ्जका किसानलाई मोटर पम्प वितरण

उद्‌घोष संवाददाता
६ साउन २०८२, मङ्गलवार

सिँचाइका लागि विद्युतीकरण कार्यक्रम अन्तर्गत किसानलाई मोटर पम्प वितरण गर्दै देवानगञ्ज गाउँपालिकाका अध्यक्ष बेचन प्रसाद मेहता । तस्वीर : नवीन कर्ण/उद्घोष

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिकाले किसानलाई बिजुलीबाट पानी तान्ने मोटर पम्प वितरण गरेको छ ।

पालिकाले किसानहरूलाई सिँचाइमा सहज होस् भनेर पालिकाका ७ वटा वडाका ४ सय ८७ जना किसानलाई २ हर्ष पावरको मोटर पम्प वितरण गरेको हो । 

पालिका परिसरमा सोमबार आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष बेचनप्रसाद मेहताले किसानहरूलाई पम्प हस्तान्तरण गरे ।

गाउँपालिकाले किसानहरुलाई ५० प्रतिशत अनुदानमा मोटर पम्प उपलब्ध गराएको हो । 

१७ हजार ८ सय ४० रुपैयाँ मूल्य पर्ने मोटरका लागि किसानहरूले ८ हजार ९ सय २० रुपैयाँ खर्चिएका छन् । 

देवानगञ्ज गाउँपालिकाका अधिकांश बासिन्दा कृषि पेशामा आश्रित रहेको र कृषि उपज नै उनीहरूको मुख्य आम्दानीको श्रोत भएकाले सिँचाइका लागि अनुदानमा मोटर पम्प उपलब्ध गराइएको गाउँपालिका प्रमुख मेहताले बताए । 

किसानहरूलाई मोटर पम्प वितरण गर्ने उद्देश्य सहित गाउँपालिकाले आर्थिक वर्ष २०८१÷८२ मा ४० लाख रुपैयाँ बजेट बिनियोजन गरेको थियो । 

यसअघिको आर्थिक वर्षमा समेत ३ सय २४ जना किसानलाई पम्प वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

देवानगञ्ज गाउँपालिकामा ७ हजार ८ सय ५९ घरघुरी रहेकोमा तीमध्ये ५ हजार ८ सय ९४ अर्थात् ७५ प्रतिशत किसानहरूको बसोबास छ । 

आउँदो आर्थिक वर्ष सम्ममा थप ४ हजार किसानलाई ५० प्रतिशत अनुदानमा मोटर पम्प वितरण गर्ने लक्ष्य राखिएको गाउँपालिकाले जनाएको छ ।

View : 329

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved