Biratnagar, Morang, Nepal
२५ पुष २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

आठौं संस्करणको विराट एक्स्पो माघ ११ देखि

उद्‌घोष सम्वाददाता
२३ पुष २०८१, मङ्गलवार

विराटनगर । उद्योग संगठन मोरङले २०५३ सालमा कोशी महोत्सवबाट सुरु भएको एक्स्पोको आठौं संस्करणसम्म आइपुग्दा अनेकौं भव्यता थपिने भएको छ । 

कोशी प्रदेशकै आर्थिक एवम् औद्योगिक विकास गर्दै राष्ट्रिय अर्थतन्त्रमा टेवा पु¥याउने उद्देश्यका साथ संगठनले आगामी माघ ११ देखि २० गतेसम्म आयोजना गर्न लागेको आठौं संस्करणको ‘विराट एक्स्पो २०२५’ को तयारी तीब्र पारेको छ ।

विराटनगर–१४ स्थित डिग्री क्याम्पस परिसरको मैदानमा हुने यस पटकको एक्स्पोलाई ‘डिजिटल कोशी ः ब्रिजिङ इनोभेसन एण्ड इन्भेष्टमेन्ट’ भन्ने नाराका साथ अघि बढाइएको छ ।

सोमबार एक्स्पो स्थलमै आयोजित पत्रकार सम्मेलनमा उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले एक्स्पो आयोजना गर्न लगानीमात्रै ३ करोड रुपैयाँभन्दा पनि बढी हुने बताए । ‘यसपटक मेला हुँदैन, एक्स्पो हुन्छ, यो एक्स्पो हो’ अध्यक्ष सुरानाले भने, ‘के बेच्ने भन्ने कुरा दोस्रो महत्वको बिषय हो, एक्स्पोबाट हाम्रा महत्वपूर्ण उत्पादनलाई सोकेसिङ गर्न मद्दत पुग्नेछ ।’

उनले आठौं संस्करणसम्म आइपुगेको विराट एक्स्पोलाई नेपालमा अहिलेसम्म आयोजना भएका अन्तर्राष्ट्रिय स्तरको औद्योगिक एक्स्पो मध्येको ठुलो बन्ने विश्वास व्यक्त गरे । संगठनले आयोजना गर्ने एक्स्पोलाई औद्योगिक एक्स्पोका रुपमा अघि बढाइरहेका कारण उत्पादक र उपभोक्ताबीच व्यावसायिक अनुभवको प्रत्यक्ष आदान–प्रदान, उद्यमी व्यवसायीलाई व्यवसायिक सम्बन्धको विकास र नयाँ प्रविधिको पहिचान गर्न पर्याप्त अवसर सिर्जना गरिने जनाइएको छ ।

संगठनका उपाध्यक्ष समेत रहेका एक्स्पो संयोजक भोलेश्वर दुलालले एक्स्पोमा ९ वटा पेभिलियन र २६८ वटा स्टलहरू रहने जानकारी दिए ।

जसमध्ये बिराट बजार बीटुबीका लागि १२ स्टल, स्टार्टअप भिजन कोशी ह्याकाथुनलाई १२ स्टल, रोजगार कोशीलाई १२ स्टल, व्यावसायिक सेवा प्रदायक तथा सूचना, शिक्षा तथा डिजिटल प्रविधितर्फ ४० वटा स्टल रहने बताए । त्यस्तै अटोमोवाइल्सलाई २०, औद्योगिक उत्पादनलाई ७५, औद्योगिक, कर्पोरेट, कृषि, पर्यटन तथा साना तथा घरेलु उद्यमलाई ७५, खाद्यवस्तुलाई १० र प्रायोजकका लागि १२ वटा स्टल रहने बताए ।

एक्स्पोका माध्यमबाट १० दिनसम्म हाकाथुन चल्नेछ । जहाँ नविनतम् व्यवसायिक तरिकाहरूको उजागर हुने र युवाहरूलाई उद्यमशिलतामा रुपान्तरण गर्न मद्दत पुग्ने जनाइएको छ । 

एक्स्पोका रहने रोजगार कोशी पेभिलियनमार्फत युवाहरुलाई आफ्नो व्यवसायिकता विकासमा परामर्श सेवा प्रदान गर्दै हस्पिटालिटी, आईटी र इलेक्ट्रिकल क्षेत्रमा एक्स्पो अवधिमा करीव एक हजार आठ सयजनालाई प्रत्यक्ष तालिम प्रशिक्षण गरिने संयोजक दुलालले बताए ।

संगठनले सातौं एक्स्पोमार्फत प्रभावकारी बनाएको थेमेटिक सेसनलाई यसपटक पनि निरन्तरता दिने भएको छ । त्यस्तो शेसनमा बिशेषतः उद्यमशिलता विकासको सन्दर्भमा नीतिगत, कानुनी, प्रक्रिृयागत बिषयहरुमा संघीय, प्रदेश र स्थानीय सरकारका साथै विषयगत विज्ञहरु र वहुपक्षीय सरोकारवालाहरूको सहभागितामा गहन छलफल तथा बहस हुने जनाइएको छ । 

यसैबीच, कोशी प्रदेश सरकारले आयोजना गर्ने लगानी सम्मेलन समेत एक्स्पोमै हुने उद्योग संगठन मोरङका अध्यक्ष सुरानाले बताए । उनले त्यसका लागि तयारी गरिरहेको जानकारी दिए । लगानी सम्मेलनलाई सहयोग गर्न संगठनले सवै प्रकारको सहयोग गर्ने बताए । 

‘लगानी सम्मेलन पनि यही एक्स्पोमा हुन्छ, तयारी गर्दैछौं’ सुरानाले भने, ‘कुन रुपमा कसरी हुन्छ भन्ने कुरा पनि भइरहेको छ, हामीले सवै प्रकारको सहयोग गर्छौं ।’

यसअघि एउटामात्रै निजी क्षेत्रको संस्थालाई व्यवस्थापनको जिम्मा दिने गरी प्रदेश सरकारले निर्णय गर्न खोजेको भन्दै यहाँ रहेका निजी क्षेत्रका अन्य संघसंस्थाहरूले भने असहमति जनाएका थिए । विशेष गरी नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिले प्रदेश सरकारलाई धम्कीपूर्ण पत्र नै पठाएर लगानी सम्मेलनको आयोजना र व्यवस्थापनप्रति विरोध जनाएको थियो ।

थेमेटिक फेशन शो र मनोरञ्जन

प्रविधि विकाससँगै मानिसहरूको दिनचर्यामा आइरहेका परिवर्तनलाई दृष्टिगत गरी प्रविधि र फेशनको मिश्रणयुक्त फेशन शो आयोजना गरिएको जनाइएको छ । 

एक्स्पो अवधिमा हरेक दिन साँझ ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरूले आफ्नो प्रस्तुति दिने जनाइएको छ । त्यसका लागि पूर्ण राई, लाहुरे, मंकी टेम्पल, जेम्सी, तृष्णा गुरुङ, रक हेड्स, एकदेव लिम्बू, सौरभ भट्टराई, शैलेश निरौला, अस्मिता अधिकारी, मिस्टर डी, हुमन आचार्य, स्वप्न सुमन लगायतका कलाकारहरू सहभागी हुने जनाइएको छ ।

विद्यार्थीलाई विशेष टुर

एक्स्पोमा सहभागी हुन आउने विद्यार्थीहरूका लागि गाइडेड टुरको व्यवस्थापन गरिएको छ । उनीहरूलाई एक्स्पोका पेभिलियन र तालिम तथा अन्तरक्रियाहरू सहभागी गराइने जनाइएको छ । बिहान १० बजेदेखि ११ बजेसम्म दैनिक रुपमा सञ्चालन हुने त्यस्तो कार्यक्रममा प्रवेश पास निःशुल्क गरिएको संयोजक दुलालले बताए ।

एक्स्पोलाई भव्य बनाउन आन्तरिक तयारीहरू लगभग पूरा भइसकेको संयोजक दुलालले जानकारी दिए । एक्स्पोका हरेक सूचनाहरूलाई संगठनको वेवसाइटमार्फत चुस्तदुरुस्त राखिने बताए ।

आठौं संस्करणको विराट एक्स्पोमा यसपटकको ‘टाइटल स्पोन्सर’ विद्युतीय गाडी बीवाईडीको बिक्रेता साइमेक्स प्रालिले गरेको छ । एक्स्पोको गोल्ड स्पोन्सरमा सेन्चुरी स्पाइसेस एण्ड स्यान्क्स, वैंकिङ पार्टनरमा नविल वैंक  छ । सहयोगी संस्थामा मोरङ उद्योग व्यापार संघ र डिग्री क्याम्पस विराटनगर रहेका छन् ।

View : 129

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved