Biratnagar, Morang, Nepal
१९ मंसिर २०८१, बुधवार
+977 21 450305, 515728, 578305
कोशी

मनमोहनमा नयाँ शैक्षिक कार्यक्रम ल्याइँदै

उद्घोष सम्वाददाता
२ असोज २०८१, बुधवार

विराटनगर । मनमोहन प्राविधिक विश्वविद्यालयको चौथो सभाले थप नयाँ शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्ने प्रस्ताव पारित गरेको छ  । सभाले व्यवस्थापन कानुनमा स्नातक र अपराध कानुनमा स्नातकोत्तर कक्षा सञ्चालन गर्ने प्रस्तावसहित चालु आर्थिक बर्ष २०८१।०८२ का लागि विनियोजित बजेट तथा कार्यक्रम पनि पारित गरेको छ  ।

सभामा कोशी प्रदेशका मुख्यमन्त्री तथा मनमोहन विश्वविद्यालयका कुलपति हिक्मतकुमार कार्कीले प्रदेश सरकारको गौरब भएकोले प्राविधिक विश्वविद्यालयको स्तरोन्नतिमा आफूले विशेष चासो दिने बताए । उनले छोटो समयमा पनि विश्वविद्यालयले उल्लेख्य प्रगति हासिल गर्न सफल भएको भन्दै पदाधिकारी र कर्मचारीहरुको प्रशंसा गरे ।

उनले एक बर्षभित्र मनमोहनलाई स्वास्थ्य तर्फका प्राविधिक शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्नेगरि प्रदेश सरकारले अस्पताल हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएका थिए ।

सभामा विश्वविद्यालयका उपकुलपति डा. सुवासश्री पोखरेलले नेपालको पहिलो प्राविधिक विश्वविद्यालयलाई कोशी सरकारले गौरवका रुपमा लिएर भौतिक संरचना निर्माण र शैक्षिक कार्यक्रमहरु सञ्चालनमा चासो दिनुपर्नेमा जोड दिएका थिए ।

उनले मनमोहन आफ्नै पहिचान बोकेको मध्यमदेखि हाईस्केलका दक्ष जनशक्ति उत्पादन गर्ने विश्वविद्यालय भएको बताउँदै इन्जिनियरिङ, मेडिकल एण्ड एप्लाइड हेल्थ र साइन्स एण्ड टेक्नोलोजी सफलतापूर्वक सञ्चालन भैरहेको बताए ।

उनले विश्वविद्यालयले यसै वर्षदेखि अस्पताल व्यवस्थापनमा पठनपाठन गराउन विद्यार्थी भर्ना लिइसकेको र चाँडै व्यवस्थापन कानुनमा पनि कक्षा सञ्चालन गर्ने तयारी भैरहेको जानकारी दिए । उपकुलपति पोखरेलले विभिन्न ल्यावहरु स्थापना गरेर सञ्चालनमा ल्याइसकेको विश्वविद्यालयले चाँडै मेडिसिन टेष्टिङ प्रयोगशाला पनि स्थापना गर्ने योजना बनाएको बताए ।

पूर्वमन्त्री तथा विश्वविद्यालय संरक्षण समिति सदस्य जीवन घिमिरेले कोशी प्रदेश सरकारले आफ्नो गौरब मानेर लगानी बढाएमा विश्वविद्यालयले अझै तीब्र रुपमा गति लिने बताए । 

विश्वविद्यालय सभाका सभासद् मुकेश उपाध्यायले प्राकृतिक योग चिकित्साको पढाई सञ्चालन गर्न विश्वविद्यालयले विशेष चासो दिनुपर्ने आग्रह गरे ।

सभामा मनमोहनका रजिष्ट्रार डा. दिलनाथ फुयालले विश्वविद्यालयले उत्पादित जनशक्तिलाई रोजगार दिलाउन अधिकृत नियुक्त गरिसकेको र चाँडै विभाग नै गठन गर्ने जानकारी दिए । उनले इकाई गठन गरेर व्यवस्थित रुपमा ‘अर्न टु लर्न’ कार्यक्रम पनि सञ्चालन गर्न लागेको बताए ।

View : 98

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved