काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री बालेन्द्र साहसहित राष्ट्रिय स्वतन्त्र पार्टीका केही प्रमुख नेताहरूको राजनीतिक उदयमा अमेरिकी सहयोगमा सञ्चालित संस्थाहरूको भूमिका रहेको दाबी गर्दै अमेरिकी सञ्चारमाध्यम ‘द ग्रे जोन’ले सार्वजनिक गरेको खोजमूलक समाचारका बारेमा जिम्मेवार व्यक्तिहरुले जवाफ दिनुपर्ने पनि बताएका छन् ।
उनले सत्तामा रहेका व्यक्तिहरूले स्पष्ट जवाफ दिनुपर्ने साथै आरोप वा प्रचारको वास्तविकता के हो भन्नेबारे सरकारले चित्तबुझ्दो ढंगले प्रस्ट पार्नुपर्ने उनको भनाइ छ ।
उनले भने, ‘ग्रे जोन रिपोर्ट मैले पनि हेरें । सायद मैंले नै होला सबैभन्दा पहिले यसबारे जवाफ दिनुस् है भनेर ट्विटरमा लेखेको । किनकि राजनीतिमा त अनेक चिजहरू हुन्छन्, कतिपय मान्छेले दुष्प्रचार पनि गर्छन् ।
तर लोकतन्त्रमा कसैले आरोप लगाइसकेपछि त्यो के हो भन्ने कुराको सत्तामा हुनेहरूले चित्तबुझ्दो ढङ्गले जवाफ दिनुपर्छ । ‘यति हो, यति होइन’ अथवा ‘यो पूरै होइन’ भनेर उहाँहरू बोल्नुपर्छ ।’
उनले सबै राजनीतिक परिवर्तन तथा घटनालाई विदेशी शक्तिसँग जोडेर हेर्ने प्रवृत्ति गलत भएको पनि उनले बताए । तर नेपालजस्तो भू–राजनीतिक रूपमा संवेदनशील मुलुकमा ठूला शक्तिहरूको चासो नहुने भनेर पनि भन्न नसकिने उनको भनाइ छ ।
‘यदि कसैले षड्यन्त्रकै सिद्धान्त आविष्कार गरेर ‘सबै बाहिरकाले मात्रै गर्यो’ भन्न थाल्नु गलत हुन्छ । एकथरीमा त्यो दृष्टिकोण पनि छ । जे परिवर्तन आउँछ, त्यो विदेशीले गरिदियो, कहिले भारतले, कहिले अमेरिकाले भन्ने चलन छ, त्यो खराब प्रचलन हो,’ उनले भने ।
उनले थपे, ‘तर सँगसँगै हामीले के बुझ्नुपर्छ भने, अहिलेको विश्वमा फेरि नेपालजस्तो भू–राजनीतिक जटिलताहरु बुझ्नुपर्छ ।
भारत र चीन ठुला देशको बिचमा रहेको साथै अमेरिकाको पनि चासो राख्ने गरेको देशमा ति शक्तिहरूले खेल्दै खेल्दैनन्, चुपचाप लागेर बसेका छन् भन्न पनि मिल्दैन । त्यसैले यस्ता कुराहरू आउँदाखेरि सत्यतथ्य के हो, त्यसलाई प्रस्ट्याउनु राम्रो हुन्छ भन्ने मलाई लाग्छ ।’
वर्तमान सरकारका प्रधानमन्त्री तथा मन्त्रीहरू जिम्मेवार र विनम्र भएर काम गर्न सुझाव दिएका छन् । उनले नयाँ व्यक्तिहरू सरकारमा आएकाले राज्य सञ्चालनको अनुभव लिन समय लाग्ने भन्दै भएका कमजोरीलाई सच्याउँदै अगाडि बढ्नुपर्ने सुझाव दिएका हुन् ।
नेपाल न्यूज बैंकसँगको विशेष कुराकानीमा भट्टराईले सरकारमा रहेका व्यक्तिहरूले आफूलाई सबै कुरा थाहा भएको ठान्न नहुने बताए । संसारमा सिक्ने कुरा कहिल्यै नसकिने भन्दै उनले नयाँ पुस्ताले पुरानाबाट सिक्दै र पुरानाले पनि नयाँलाई सहयोग गर्दै अघि बढ्नुपर्ने धारणा राखे ।
उनले भने, ‘सरकारले गरिरहेको कामबारेमा भन्नुपर्दा भर्खरै ठूलो विपत्ति आएकाले केही जटिलताहरु देखिएका छन् । केही कठिनाईहरु भइरहेको होला । उहाँहरू धेरैजसो पहिलोचोटि फरक फरक अनुभव गरिरहनु भएको छ । हालै राष्ट्रिय सभाका केही मान्छे पहिले सांसद भएका एकाध मन्त्री हुनुभयो । नत्र धेरै जना नयाँ व्यक्तिहरू यहाँ आउनुभएको छ । त्यसैले राज्य सञ्चालन गर्ने कुरा, स्टेट क्राफ्ट भन्छन् नि, त्यो चाहिँ किताब पढेर मात्रै पनि नहुने रहेछ । व्यवहारमा सिक्ने र जान्ने कुरा पनि हो । त्यसैले सिक्ने कुरा समयको माग पनि हो ।’
भट्टराईले सरकारका कमीकमजोरीलाई लिएर अहिले नै ‘बर्बाद भयो, सिद्धियो’ भन्ने ढंगले आलोचना गर्नु उचित नहुने बताए । तर सरकारमा रहेका व्यक्तिहरू भने सिक्ने क्रममा विनम्र हुनुपर्ने उनको भनाइ छ ।
उनले भने, ‘उहाँहरू(सरकार र सदन)ले सिक्नुपर्छ । त्यसका लागि विनम्र हुनुपर्छ । ‘मैले सबै जानेको छु, कसैसँग सिक्न जरुरी छैन, हामी त सिकाउन आएको हौँ’ भनेजस्तो कुरा गरेर हुन्न । सिक्ने कुरा भनेको कहिले पनि सकिदैन । त्यसैले उहाँहरू विनम्र भएर सिक्ने प्रयत्न गर्दा राम्रो हुन्छ । अरुले इख राखेर देखाइदिन्छु भन्ने पनि गर्नुहुँदैन् । अलिकति भएको गल्तीलाई पनि बढाइचढाइ गरेर खुट्टा तान्ने, पछार्ने ढङ्गले जानुहुँदैन ।’
उनले ‘पुरानाले नयाँलाई सहयोग गर्ने, नयाँ पनि विनम्र बनेर सिक्दै अगाडि बढ्ने—यो नै अबको बाटो हो’ भन्दै सरकारलाई सुझाव दिए ।
डा. भट्टराईले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को काम गर्ने शैली केही हदसम्म परिणाममुखी रहेको बताए । बाहिरी प्रचारभन्दा काम गरेर परिणाम देखाउने शैली सकारात्मक रहेको उनको धारणा छ ।
‘बालेनजीको शैली अलिकति परिणाममुखी, ‘केही काम गरेर देखाऊँ’ भनेजस्तो जस्तो म बुझ्छु । त्यसैले बाहिर देखिने, कार्यक्रममा सहभागी हुनेभन्दा पनि भित्री रूपमै काम गर्ने, परिणाम देखाउने ढङ्गले काम गरेजस्तो मलाई लाग्छ,’ उनले भने।
यद्यपि, बालेन प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीको पक्षमा रहेकाले अहिलेको संवैधानिक व्यवस्थाअनुसार संसद्प्रति उत्तरदायी हुनुपर्ने भट्टराईले बताए ।
‘उहाँ पनि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीको पक्षकै मान्छे हो । तर यतिबेला हामी कार्यकारी निर्णय प्रणालीमा त गइसकेका छैनौँ । संविधान बमोजिम संसद्ले नेता चुनेर प्रधानमन्त्री बन्ने प्रणाली हामीसँग छ । त्यसैले त यतिबेला त संसद्प्रति नै उत्तरदायी हुनुपर्छ,’ उनले भने।
बालेनमा संसदमा उपस्थित हुने विषयमा केही अनिच्छा देखिएको भन्दै उनले त्यसो गर्न नहुने बताए । संविधान संशोधन गरेर प्रत्यक्ष कार्यकारी प्रणालीमा गएपछि मात्रै त्यस्तो व्यवस्था उचित हुने उनको भनाइ छ ।
भट्टराईले बालेनको अनावश्यक भेटघाट र बाहिरी गफभन्दा चुपचाप काम गरेर परिणाम देखाउने शैली भने सकारात्मक रहेको बताए । नेपाल न्यूज बैंक
View : 25
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved