विराटनगर । मोरङ क्षेत्र नम्बर ६ को प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीका युवा उम्मेदवार बसन्त बुढाथोकीले आफ्नो उम्मेदवारी निष्क्रिय पार्दै नेकपा एमालेमा प्रवेश गरेका छन् ।
आइतबार बुढीगंगा गाउँपालिकाको गोकुवामा आयोजित कार्यक्रममा औपचारिक रूपमा उम्मेदवारी निष्क्रिय पारेको घोषणा गर्दै उनी नेकपा एमाले प्रवेश गरेका हुन् ।
कार्यक्रममा एमालेका नेता लालबाबु पण्डित, पर्शुराम बस्नेतलगायत नेताहरूको उपस्थिति रहेको थियो ।
उम्मेदवारी निष्क्रिय पार्ने निर्णयबारे बोल्दै बुढाथोकीले अब उम्मेदवारका रूपमा सक्रिय नरहने स्पष्ट पार्दै आफूलाई विश्वास र समर्थन गर्ने सम्पूर्ण मतदातालाई एमाले उम्मेदवार ढकाललाई सहयोग गर्न आग्रह गरे ।
‘यो क्षेत्रको दीर्घकालीन विकासका लागि एमालेको विकल्प देखिएन,’ उनले भने, ‘विगतमा एमालेले जित्दा क्षेत्रमा देखिने खालका काम भएका छन् ।
अन्य समयमा त्यो निरन्तरता कायम हुन सकेन, त्यसैले अब विकासको निरन्तरताका लागि विनोद ढकाललाई जिताउन आवश्यक छ ।’
२५ वर्षीय बुढाथोकी यस क्षेत्रका सबैभन्दा कान्छा उम्मेदवारका रूपमा परिचित थिए । सामाजिक सञ्जाल र प्रविधिको प्रयोगमार्फत मतदातामाझ पुगिरहेका उनले युवाको प्रत्यक्ष सहभागिता, पारदर्शिता र प्रणालीगत सुधारलाई आफ्नो मुख्य एजेन्डा बनाएका थिए ।
तर, चुनावी प्रतिस्पर्धाबाट पछि हट्ने निर्णयले यहाँको चुनावी समीकरणमा नयाँ सन्देश दिएको छ । विशेषगरी युवामाझ देखिएको समर्थन अब एमाले उम्मेदवारतर्फ केन्द्रित हुनसक्ने विश्लेषण गरिएको छ ।
कार्यक्रममा बोल्दै एमाले उम्मेदवार बिनोद ढकालले युवा पुस्ताको साथ र विश्वासले आफूलाई थप ऊर्जा दिएको बताए । उनले बुढाथोकीको निर्णयलाई विकास र स्थायित्वका पक्षमा गरिएको सकारात्मक कदमको रूपमा व्याख्या गरे ।
नेता लालबाबु पण्डितले पनि साझा लक्ष्य र सहकार्यको राजनीतिलाई प्राथमिकता दिनुपर्ने धारणा राखेका थिए ।
यसपटक मोरङ–६ को निर्वाचन दलीय प्रतिस्पर्धामात्र नभई पुस्तागत प्रतिस्पर्धाको संकेतसमेत बनेको छ ।
एकातर्फ नेपाली कांग्रेसका वरिष्ठ नेता डाक्टर शेखर कोइराला चुनावी मैदानमा छन् भने अर्कोतर्फ एमालेका विनोद ढकाल, नेपाल कम्युनिष्ट पार्टी नेकपाका मजदुर नेता ओपेन्द्र राय र राष्ट्रिय स्वतन्त्र पार्टीकी रुविना आचार्यसहित १७ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।
View : 86
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved