Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
वातावरण

विराटनगर-१२ मा नहर सरसफाइ अभियान सुरु

उद्‌घोष संवाददाता
५ फागुन २०८२, मङ्गलवार

विराटनगर । विराटनगर महानगरपालिका वडा नं. १२ लाई स्वच्छ र हराभरा बनाउने उद्देश्यका साथ चतरा नहर सरसफाइ अभियान सोमबारदेखि औपचारिक रूपमा सुरु गरिएको छ।

‘नहर सरसफाइ तथा हरियाली प्रवर्द्धन समिति’ विराटनगर–१२ को आयोजनामा सो कार्यक्रम सुरु भएको हो।

सगरमाथा स्कुलदेखि सुरु भयो अभियान

विराटनगर–१२ अन्तर्गत पर्ने सगरमाथा स्कुलदेखि आइतबारे हाट (मलाया रोड) सम्मको नहर क्षेत्रलाई सफा राख्ने लक्ष्यका साथ सुरु भएको यस अभियानको पहिलो दिन सगरमाथा स्कुल नजिकैको क्षेत्र सरसफाइ गरिएको छ।

समितिका अध्यक्ष शिवनारायण यादवको अगुवाइमा भएको यस कार्यक्रममा वडा सदस्य कुशेश्वर राजवंशीको विशेष पहल रहेको थियो।

प्रत्येक शनिबार सरसफाइ, फोहर फाल्नेलाई जरिवाना

वडा सदस्य कुशेश्वर राजवंशीका अनुसार अब यो अभियानलाई निरन्तरता दिँदै प्रत्येक शनिबार बिहान ७ बजेदेखि नहर सरसफाइ कार्यक्रम सञ्चालन गरिनेछ।

“वडालाई सफा राख्ने हाम्रो साझा दायित्व हो,” राजवंशीले भन्नुभयो, “अबका दिनमा नहरमा फोहर फाल्ने जो कोहीलाई पनि पहिचान गरी सजायस्वरूप जरिवानासमेत गर्ने निर्णय भएको छ।”

व्यापक जनसहभागिता

अभियानको पहिलो दिन वडा सदस्यहरू, स्थानीय बासिन्दा, विराटनगर महानगरपालिकाका नगर प्रहरी तथा कर्मचारीहरूको सक्रिय सहभागिता थियो।

महानगरपालिकाका तर्फबाट पुनमकुमार दाहाल, किरण न्यौपाने, अशोक गुप्ता र नगर प्रहरी प्रमुख राजन पौडेल लगायतको टोलीले सरसफाइमा सहयोग पुर्‍याएको थियो।

नियमित रेखदेखका लागि समिति गठन

नहरको नियमित रेखदेख र हरियाली प्रवर्द्धनका लागि शिवनारायण यादवको अध्यक्षतामा सात सदस्यीय समिति गठन गरिएको छ।

समितिको उपाध्यक्षमा रञ्जु यादव, सचिवमा रमेश साह, सहसचिवमा कविता यादव र कोषाध्यक्षमा माला बुढाथोकी रहनुभएको छ। सदस्यहरूमा सीताराम मेहता र तेजु कोइराला हुनुहुन्छ।

त्यस्तै, समितिलाई थप मार्गनिर्देशन गर्न वीरेन्द्रप्रसाद यादव, नारायण यादव, जीवन दाहाल, डा. अमरेन्द्र यादव र चिरञ्जीवी ढकाल सम्मिलित सल्लाहकार समितिसमेत चयन गरिएको छ।

यो अभियानले महानगरको सरसफाइ अभियानमा थप बल पुग्ने र वडाको चतरा नहर क्षेत्र पर्यटकीय रूपमा समेत आकर्षक देखिने स्थानीयको विश्वास छ।

View : 188

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved