विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाको विशेष साधारणसभाले लघुवित्त क्षेत्रकै ठूलो र ऐतिहासिक मर्जर प्रक्रियालाई सर्वसम्मतिले अनुमोदन गरेको छ ।
मोरङको कटहरीमा सम्पन्न साधारणसभाले जीवन विकास, बाँकेको युनिक नेपाल र काभ्रेको मानुषी लघुवित्त वित्तीय संस्थाबीच एक आपसमा गाभिने प्रस्तावलाई पारित गरेको हो ।
गत चैत २८ गते भएको प्रारम्भिक सम्झौता अनुसार यी तीन संस्था एक हुन लागेका हुन्, जसलाई लघुवित्तको इतिहासमा हालसम्मकै ठूलो मर्जरको रूपमा हेरिएको छ ।
सभामा अध्यक्ष बिक्रमराज सुवेदीले प्रस्तुत गरेको मर्जर सम्बन्धी प्रतिवेदनलाई सेयरधनीहरूले पूर्ण समर्थन जनाएसँगै अब यी तीनवटै संस्थाहरू एउटै नाम र उद्देश्यका साथ अगाडि बढ्ने बाटो खुलेको हो ।
मर्जरपश्चात् बन्ने एकीकृत संस्थाको नाम ‘जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड’ नै कायम रहनेछ भने यसको केन्द्रीय कार्यालय मोरङको कटहरीमै रहने निर्णय भएको छ ।
हाल युनिक नेपाल र मानुषी लघुवित्तका केन्द्रीय कार्यालय रहेका स्थानहरूलाई भने मर्जरपछि प्रादेशिक कार्यालयमा रूपान्तरण गरी सेवालाई अझ प्रभावकारी बनाइनेछ ।
एकीकृत संस्थाको नेतृत्व हाल जीवन विकासमा कार्यरत प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले गर्ने गरी सभाले सहमति प्रदान गरेको छ । यसका साथै साधारणसभाले सञ्चालक समितिलाई भविष्यमा अन्य उपयुक्त लघुवित्तहरूसँग पनि मर्जर वा प्राप्तिको प्रक्रिया अघि बढाउन सक्ने गरी विशेष अख्तियारीसमेत दिएको छ ।
हाल अलग–अलग रहेका यी संस्थाहरूको कुल चुक्ता पूँजी अब १ अर्ब ९८ करोड ८४ लाख रूपैयाँभन्दा बढी पुग्नेछ । यसैगरी संस्थाको कार्यक्षेत्र कर्णाली प्रदेश बाहेक देशभर विस्तार भई ६ वटा प्रदेशका २३३ वटा शाखाहरू मार्फत सेवा प्रदान गरिनेछ ।
हाल ३१ जिल्लामा सीमित रहेको जीवन विकासको सेवा अब युनिक र मानुषीको कार्यक्षेत्र थपिएसँगै अझ व्यापक र सुदृढ हुनेछ ।
मर्जरका सम्पूर्ण प्राविधिक र कानुनी प्रक्रियाहरू पूरा गरी २०८३ साल असार मसान्तभित्रै एकीकृत कारोबार सुरू गर्ने लक्ष्य राखिएको छ ।
सो विशेष साधारणसभामा संस्थाका सञ्चालकहरू श्यामचन्द्र खतिवडा, प्रकाशकुमार श्रेष्ठ, इन्द्र नारायण देव वैश्य, गोकर्ण खतिवडा, अशोक सिटौला र डाक्टर वन्दनाकुमारी जैनसहित ठूलो संख्यामा सेयरधनीहरूको उपस्थिति थियो ।
View : 58
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved