मन्त्री टुंगो लगाउन कांग्रेस कोशीको बैठक बस्दै
कोशी प्रदेश सरकारमा नेपाली कांग्रेसबाट मन्त्री बन्नका लागि आकांक्षी देखिएका प्रदेश सांसदहरु ।
विराटनगर । केन्द्रीय गठबन्धनको मर्म अनुसार कोशी प्रदेश सरकारमा सहभागी हुन लागेको नेपाली कांग्रेसले आज मन्त्रीहरुको नाम टुंगो लगाउन प्रदेश समितिको बैठक बोलाएको छ । विराटनगरको पिपलचोकस्थित प्रदेश समितिको कार्यालयमा आज ११ बजेदेखि बैठक बोलाइएको जनाइएको छ ।
राजिनामा बुझाएर माओवादी सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री एवं नेकपा एमाले संसदीय दलका नेता हिक्मत कुमार कार्की कांग्रेसलाई सरकारमा स्वागत गर्न पर्खिएर बसेका छन् ।
कांग्रेस र एमालेबीच काठमाडौंमा भएको वार्तामा दुवै दलबीच आलोपालोमा मुख्यमन्त्री चलाउने र यसअघि माओवादीले सम्हालेका मन्त्रालय लिएर सरकारमा सहभागी हुने विषयमा सहमति भइसकेको जनाइएको छ ।
एमालेसँग उक्त सहमति भइसक्दा समेत कांग्रेसले भने सरकारमा पठाउने मन्त्रीहरुको नाम टुंग्याउन आफ्नो दलभित्र भने महाभारत भएको छ ।
कांग्रेस उच्चस्रोतका अनुसार कांग्रेसबाट मन्त्री बन्नका लागि सभापति देउवा निकट मानिएका सांसदहरू अमृत अर्याल, प्रदीप सुनुवार, हिमाल कार्की, खगेनसिंह हाङ्गाम, डोल्मा तामाङ र शोभा चेम्जोङ मन्त्री भएरै छाड्ने दौडमा छन् ।
उनीहरु मध्ये हाङ्गामलाई सभापति देउवाले नै मन्त्री बनाउन दवाव दिइसकेको स्रोतको भनाई छ । सुनुवार र कार्की यसअघि पनि मन्त्री भइसकेका कारण यसपटकका लागि ‘रिङ आउट’ हुनसक्ने जनाइएको छ ।
संस्थापन पक्षमै रहेका कृष्णप्रसाद सिटौला पक्षका भीम पराजुली, भूपेन्द्र राई तथा शेखर कोइराला पक्षका प्रदेश सांसद गोविन्द गिरी र मान बहादुर लिम्बु पनि मन्त्री हुने दौडमा छन् । सिटौला समुहबाट पराजुली तथा शेखर समुहबाट गिरी मन्त्री बन्ने कांग्रेस स्रोतले ठोकुवा गरेको छ ।
एमालेसँगको सहमतिअनुसार कोशीमा कांग्रेसले जम्मा चारवटा मन्त्रालय पाउने जनाइएको छ ।
यसअघि माओवादी मन्त्रीहरूले सम्हालिरहेका तीन वटा मन्त्रालय भौतिक पूर्वाधार, वन, वातावरण तथा पर्यटन, स्वास्थ्य कांग्रेसले पाउने निश्चित भइसकेको छ । त्यस्तै सामाजिक विकास मन्त्रालय र कृषि मन्त्रालयमध्ये थप एउटा मन्त्रालय कांग्रेसले लिने सहमति भएको जनाइएको छ ।
मन्त्रालय थोरै र आकांक्षी धेरै भएको र तीन वटै गुटको शक्ति सन्तुलन मिलाउनुपर्ने भएका कारण कांग्रेसभित्र मन्त्री छान्न ढिलाइ भइरहेको नेताहरू बताउँछन् ।
View : 368
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved