Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
समाज

समाजसेवामा समर्पित राठीको श्रद्धाञ्जलीसभा

उद्‌घोष संवाददाता
२० जेठ २०८३, बुधवार

विराटनगर । समाजसेवा, शिक्षा, स्वास्थ्य तथा विभिन्न सामाजिक अभियानमा सक्रिय भूमिका निर्वाह गरेका समाजसेवी घनश्याम राठीको स्मृतिमा आइतबार विराटनगरमा श्रद्धाञ्जली सभा सम्पन्न गरिएको छ ।

नेपाल क्षयरोग निवारण संस्था मोरङको आयोजना तथा जानकी सेवा सदन, विराटनगर जेसिज, माहेश्वरी समाज, लायन्स क्लब विराटनगर एक्जुकेटीभ र रोटरी क्लब विराटनगर मिडटाउनको सहआयोजनामा श्रद्धाञ्जलीसभा सम्पन्न गरिएको हो ।

सभामा वक्ताहरूले स्वर्गीय घनश्याम राठीले जीवनभर समाजसेवा, मानवीय सहायता तथा विभिन्न सामाजिक संस्थामार्फत पु¥याएको योगदानको स्मरण गर्दै उनको व्यक्तित्व र कृत्तित्व अनुकरणीय रहेको बताएका थिए । 

उनी समाजका विभिन्न वर्ग र समुदायबीच सहकार्य, सद्भाव र सेवाको भावना विस्तार गर्न सदैव अग्रसर रहने व्यक्तित्वका रूपमा परिचित रहेको विराटनगर जेसिजका पूर्व अध्यक्ष हरिबहादुर श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा विभिन्न सामाजिक, व्यावसायिक तथा धार्मिक संघसंस्थाका प्रतिनिधिहरूले राठीप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको निधनले विराटनगरको सामाजिक क्षेत्रमा अपूरणीय क्षति पुगेको बताएका थिए ।

सहभागीहरूले राठीले अघि सारेका सामाजिक सेवाका अभियान र मानवीय मूल्यलाई आगामी पुस्ताले पनि निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।

श्रद्धाञ्जली सभामा स्वर्गीय राठीको तस्वीरमा माल्यार्पण गर्नुका साथै एक मिनेट मौनधारण गरी श्रद्धाञ्जली व्यक्त गरिएको थियो । 

कार्यक्रममा परिवारका सदस्य, शुभेच्छुक, समाजसेवी, उद्योगी–व्यवसायी तथा विभिन्न संघसंस्थाका पदाधिकारीहरूको उल्लेख्य उपस्थिति थियो ।

स्वर्गीय राठीका बालशखा श्याम पौडेलद्वारा सञ्चालित सो सभामा वक्ताहरूले स्वर्गीय राठीको समाजसेवाप्रतिको समर्पण, नेतृत्व क्षमता र सहयोगी भावनाले उनलाई सबैको मनमा सदैव जीवित राख्ने विश्वास व्यक्त गरेका थिए । 

श्रद्धाञ्जली सभाले उनको योगदानको स्मरण गर्दै समाजप्रति समर्पित जीवनप्रतिको सम्मान प्रकट गरेको कार्यवाहक सभापति भैरव क्षेत्रीले बताए ।

View : 183

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved