Biratnagar, Morang, Nepal
२७ पुष २०८१, शनिवार
+977 21 450305, 515728, 578305
समाज

आगलागी पीडितको त्रिपालमुनि बास

कोशी प्रदेश सरकार बेखबर
उद्‌घोष सम्वाददाता
६ चैत २०८०, मङ्गलवार

विराटनगर । कोशी प्रदेशका कतिपय जिल्लामा आगलागीका घटना भई रहदा पनि प्रदेश सरकार भने बेखर जस्तै बनेको छ । प्रदेश विपत व्यवस्थापन कोषमा अहिलेसम्म आगलागी र डढेलोले पुर्‍याएको क्षतिको यकिन विवरण नै उपलब्ध छैन ।

सरकारी संयन्त्रबीचको समन्वय कमजोर हुँदा तथ्याङ्क संकलनमा नै एकरूपता देखिदैन भने मन्त्रालयले विपत व्यवस्थापनको पूर्वतयारीका लागि कुनै काम गरेको देखिदैन ।

आगलागी र डढेलो नियन्त्रणका लागि कोशी प्रदेशमा विपत व्यवस्थापन कोष तयार पारिएको छ । यसले सम्बन्धित जिल्लाको विपत व्यवस्थापन समितिले क्षतिको विवरण प्रदेशको आन्तरिक मामिला मन्त्रालयमा पठाएपछि सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई बजेट उपलब्ध गराउँछ । त्यसबाहेक आगलागी र डढेलोको जोखिम न्यूनीकरणका लागि पूर्वतयारीका लागि प्रदेशस्तरमा कुनै व्यवस्थानै छैन ।

आन्तरिक मामिला तथा कानून मन्त्रालय शान्ति सुरक्षा तथा विपत व्यवस्थापन महाशाखा प्रमुख कमलबहादुर थापाले प्रदेशका विभिन्न जिल्लामा भएका आगलागीको घटना र त्यसबाट पुगेको क्षतिको विवरण संकलन गर्ने काम भैरहेको बताए ।

‘आगलागीका घटना भएका जिल्लाबाट विवरण आउने क्रममा छन्’ थापाले भने,‘सम्पूर्ण विवरण आएपछि राहत र व्यवस्थानमा मन्त्रालय योजनाबद्ध ढंगले लाग्छ ।’

थापाका अनुसार पछिल्ला केही दिनयता प्रदेशका विभिन्न जिल्लामा आगलागीका घटनामा बृद्धि भएपछि आगलागीबाट क्षति हुन नदिन सञ्चार माध्यममार्फत प्रचार प्रसार गर्ने तयारी भैरहेको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयकामा रहेको विपत व्यवस्थापन समितिको कोषमा अहिले ६ करोड ५० लाख ४९ हजार रूपैयाँ मौज्जात छ । जुन रकम विपतमा गरेको उद्धार, पुनर्स्थापनासँगै राहत र क्षतिपूर्तिमा खर्च गरिदै आएको छ । तर आगलानीका घटना भई रहदा अहिलेसम्म सो कोषबाट पीडितहरूलाई राहत र उनीहरूको पुनर्बासमा खर्च गरिएको छैन । 

कोशी प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क अनुसार पुस यतामात्र कोशी प्रदेशमा आगलागीका घटनामा परी ८ जनाको ज्यान गएको छ । फागुनयता मात्रै आगलागीबाट १८६ बढी घर जलेर खरानी भएका छन् । जसका कारण ती घरमा आश्रित करिव ४ सय बढी परिवारको बिचल्ली भएको छ भने घर जल्दा २१ करोडभन्दा बढी क्षति भएको अनुमान छ ।

कोशी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुनिल दाहालका अनुसार कोशी प्रदेशका पहाडी र तराईका मोरङ, सुनसरी र झापासहित १० जिल्लामा आगलागीका घटना भएका छन् । पहाडी जिल्लामा डढेलोको प्रभाव बढिरहेको छ ।

प्रहरी विवरण अनुसार कोशी प्रदेशका विभिन्न जिल्लामा दैनिक कम्तिमा चार वटा आगलागीको घटना हुने गरेका छन् । आगलागीका यस्ता घटनाले बस्ती नै जल्दा मानवीय र भौतिक क्षति पनि उत्तिकै बढेको प्रहरी नायव उपरीक्षक दाहालले बताए । 

गएको शनिवार मात्र मोरङको रंगेली नगरपालिका–३ बावुसाहेब टोलमा विद्युत सर्ट भई आगलागी हुँदा २० घर जलेर खरानी भए । आगलागीको घटनापछि सो बस्तिका २ सय १८ परिवार त्रिपाल टाँगेर रात कटाउँदै आएका छन् । उनीहरूलाई विभिन्न संघ–संस्थाले राहत सामग्री वितरण गरिरहँदा प्रदेश सरकार भने बेखबर जस्तै बनेको छ ।

प्रदेश सरकारबाट उनीहरूले अहिलेसम्म कुनै राहत सामग्री पाउन नसकेको गुनासो गरेका छन् । गत शनिवार नै भोजपुरको हतुवागढी–७ पिप्लेमा भएको आगलागीमा एकै परिवारका तीन बालबालिकाको जलेर मृत्यु भयो ।

View : 4168

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved