सुन्दरहरैंचा नगरपालिकाका मेयर केदारप्रसाद गुरागाईँले उपप्रमुख अकलीकुमारी चौधरीलाई बजेटको सोकेस हस्तान्तरण गर्दै । तस्वीर : उद्घोष
विराटनगर । मोरङका १७ वटा पालिका मध्ये मंगलबार बेलुकासम्म विराटनगर महानगरपालिकासहित ९ वटा पालिकाले आगामी आव २०८२–८३ को बजेट अनुमान प्रस्तुत गरेका छन् ।
विराटनगरले ४ अर्ब ४० लाख रुपैयाँको बजेट प्रस्तुत गरेको हो ।
सुन्दरहरैंचा नगरपालिकाले १ अर्व ७१ करोड २७ लाख ५९ हजार १८० रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।
१६ औं नगरसभामा उपप्रमुख अकली चौधरीले पूर्वाधार विकासतर्फ ६१ करोड ३७ लाख, आर्थिक विकासतर्फ २ करोड ८६ लाख, सामाजिक विकासतर्फ ४६ करोड १२ लाख २ हजार, वन तथा वातावरण, विपत व्यवस्थापनमा १ करोड ७५ लाख विनियोजन गरिएको बताइन् ।
त्यस्तै सुशासन संस्थागत विकासतर्फ २ करोड ६३ लाख, बहुबर्षीय क्रमागत आयोजना कार्यान्वयनमा ६ करोड ३ लाख, वडागत सिलिङ बजेट १८ करोड ३६ लाख, कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ ३८ करोड ६२ लाख विनियोजन गरिएको बताइन् ।
उर्लाबारी नगरपालिकाले आर्थिक वर्ष २०८२–८३ का लागि १ अर्ब १८ करोड ४० लाख ५४ हजार ५ सय रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
१४ औं नगरसभामा उपप्रमुख मीना खतिवडा पौडेलले पूर्वाधार विकासमा सवैभन्दा बढी ४८ करोड ८८ लाख २ हजार रुपैयाँ विनियोजन गरिएको बजेट प्रस्तुत गरिन् ।
त्यस्तै नगरपालिकाको प्रशासनिक खर्चमा १६ करोड २५ लाख, सामाजिक विकासमा ३५ करोड ७८ हजार ५ सय, आर्थिक विकासमा ३ करोड ६१ लाख विनियोजन गरिएको छ ।
वातावरण, विपद् तथा जलवायु क्षेत्रमा ६६ लाख, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा १ करोड ७७ लाख ५२ हजार, वडा समितिमा ९ करोड तथा प्रशासनिक खर्चमा ४५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
उक्त बजेटको स्रोत मध्ये संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान ६६ करोड ९० लाख, प्रदेश सरकारबाट ४ करोड ५० लाख ४६ हजार, राजस्व बाँडफाँटबाट १९ करोड ८५ लाख ८ हजार ५००, आन्तरिक स्रोतबाट १६ करोड ५० लाख, अन्य संघ–संस्था अनुदानबाट ६५ लाख, जनसहभागिताबाट २ करोड तथा सार्वजनिक ऋणमार्फत ८ करोड रुपैयाँ आम्दानी हुने अनुमान प्रस्तुत गरेको छ ।
रतुवामाई नगरपालिकाले १६ औं नगरसभामार्फत ८३ करोड ८५ लाख ११ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । उपप्रमुख दमयन्तादेवी चुडालले कृषि, स्वास्थ्य, शिक्षा एवं पूर्वाधार विकास र युवा उद्यम केन्द्रीत बजेट अनुमान प्रस्तुत गरिन् ।
रतुवामाईमा चालु आवका लागि ७८ करोड ९० लाख ३३ हजार रुपैयाँको बजेट प्रस्तुत गरिएको थियो ।
बेलबारी नगरपालिकाकी उपप्रमुख नीतु थापा कोइरालाले १६ औं नगर सभामा आर्थिक वर्ष २०८२–८३ मा १ अर्ब ९ करोड ४५ लाख ४७ हजार रुपैयाँको बजेट अनुमान प्रस्तुत गरिन् ।
लेटाङ नगरपालिकाकी उपप्रमुख कृष्णकुमारी निरौलाले आर्थिक वर्ष २०८२–८३ का लागि ६१ करोड ६ लाख २८ हजार २०० रुपैयाँको बजेट सभामा प्रस्तुत गरिन् ।
१७ औं नगरसभामा उनले चालुतर्फ ४२ करोड १७ लाख ६० हजार ४०० रुपैयाँ र पूँजिगततर्फ १८ करोड ८८ लाख ६७ हजार ८०० रुपैयाँ विनियोजन गरिएको बताइन् ।
सुनवर्षी नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि कुल ६७ करोड १३ लाख २२ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगरसभामा उपप्रमुख मिरा देवी दास केवरतले "कृषि, शिक्षा, स्वास्थ्य र दिगो पूर्वाधारः समृद्ध सुनवर्षीको आधार" भन्ने नारामा आधारित बजेट प्रस्तुत गरेकी हुन् ।
बजेटमा ४९ करोड २२ लाख ४२ हजार रुपैयाँ चालु खर्च र १७ करोड ९० लाख ८० हजार रुपैयाँ पूँजीगत खर्च हुने गरी विनियोजन गरिएको जनाइएको छ ।
रंगेली नगरपालिकाले आव २०८२-८३ का लागि ९३ करोड ४० लाख ८९ हजार रुपैयाँको बजेट अनुमान प्रस्तुत गरेको छ ।
पथरीशनिश्चरे नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ८१ करोड ९९ लाख ११ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ ।
नगरपालिकाले पूर्वाधार विकासमा जोड दिनुका साथै रोजगारी सिर्जना गरी गरिबी घटाउने, स्वास्थ्य क्षेत्रमा लगानी गरी नागरिकको जीवनस्तर सुधार गर्ने, कृषि क्षेत्रको व्यवसायिकरण, यान्त्रिकीकरण र विविधिकरणमार्फत उत्पादन र उत्पादकत्व वृद्धि गर्ने लक्ष्य लिएको जनाइएको छ ।
नगर प्रमुख मोहन प्रसाद तुम्वापोले नगरसभामा नीति, कार्यक्रम तथा नगर प्रवक्ता नविन कार्कीले प्रस्तुत गरेको बजेटलाई नगरसभा बैठकले सर्वसम्मतिले पारित गरेको जनाइएको छ । उपप्रमुख देवीमाया काफ्ले अस्वस्थ भएर नगरसभामा अनुपस्थित रहिन् ।
मिक्लाजुङ गाउँपालिकाले गाउँसभामा उपाध्यक्ष दिनेश पौडेलले प्रस्तुत गरेको कुल ७९ करोड ९२ लाख ४९ हजार ८७० रुपैयाँ बराबरको बजेट पारित गरेको छ ।
शिक्षा, स्वास्थ्य, कृषि, पशु, स्वरोजगार, विपद लगायतका विषय प्राथमिकतामा राखेर मिक्लाजुङले बजेट ल्याएको हो ।
उक्त बजेटको आन्तरिक आयतर्फ १० करोड ६२ लाख ६८ हजार ८३० रुपैयाँ, राजस्व बाँडफाँटबाट १३ करोड १२ लाख १ हजार ५०६ रुपैयाँ, स्थानीय स्रोत अन्तरगत मालपोत, विज्ञापन कर, नदीजन्य पदार्थ उत्खनन आदिबाट १३ करोड ९८ लाख १० हजार ६३ रुपैयाँ आम्दानी हुने उल्लेख छ ।
धनपालथान गाउँपालिकाको १६ औं गाउँसभामा ५९ करोड १८ लाख ७३ हजार ३११ रुपैयाँको बजेट प्रस्तुत गरिएको छ ।
कानेपोखरी गाउँपालिकाको १८औं गाउँसभाले आगामी आर्थिक वर्ष ०८२/०८३ लागि नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेको छ ।
सभामा गाउँपालिका अध्यक्ष राजमती इङ्नामले १०४ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गरिन् ।
उनले आगामी वर्षको लागि ६७ करोड २९ लाख ९६ हजार रुपैयाँको बजेट सिलिङ गाउँ सभाको दोस्रो बैठकबाट पारित भएको छ ।
१७ पालिका मध्ये कटहरी गाउँपालिकाले भने सवैभन्दा सुरुमा बार्षिक नीति तथा कार्यक्रम र बजेट अनुमान प्रस्तुत गरेको थियो ।
कटहरीकी उपाध्यक्ष सीतादेवी राजवंशीले आव २०८२–८३ का लागि ५८ करोड ९१ लाख ४४ हजार ५ सय रूपैयाँको बजेट सार्वजनिक गरेकी हुन् ।
ग्रामथान गाउँपालिकामा भने अध्यक्ष नमोनारायण माझी र उपाध्यक्ष गुणावतीदेवी थारूसहितका जनप्रतिनिधिहरूबीचको विवादले बजेट आउन सकेन ।
View : 594
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved