हुलाकी सडकमा कन्तविजोक
विराटनगर । विराटनगर–रंगेली सडक अन्तरगत हाटखोलाको पुल कट्ने वितिक्कै सुरू भइहाल्छ हुलाकी सडकको कन्तविजोक । ठेकेदारले ‘बनाउँछौं भन्ने नछाड्ने’, स्थानीय प्रशासनले ‘सचेत गराइएको भन्न नछाड्ने’ र स्थानीयले ‘आन्दोलन गर्न नछाड्ने’ यो सडक अनेकौं पटक राजनीतिक मसला बनिसकेको छ ।
अहिले बर्षामास लागेर कटहरी–रंगेली हुलाकी सडकको कटहरी–रामचोक सडकखण्ड हिंडिनसक्नु बनेको छ । स्थानीयले सडकमै धान रोपेर विरोध जनाइसकेका छन् । तर यो सडक बनाउने ठेकेदारदेखि ठेकेदारलाई ठेक्का लगाउने निकाय भने जवाफदेहिताविहीन बनेका छन् ।
हिलाम्मे हुलाकी सडकका कारण साना सवारी साधनको प्रयोग गर्ने पैदल हिंड्नेलाई सवैभन्दा कठिनाई बनेको छ । कोशी प्रदेश सभाको आइतबारको बैठकमा सरकार समर्थित सांसदहरू नै हुलाकी सडक निर्माणमा भइरहेको ढिलाइ र निर्माणमा भइरहेको लापरवाहीप्रति चर्को आवाज उठाएका छन् ।
एमालेकी प्रदेशसभा सांसद शिला दीक्षित कार्कीले कटहरी–रंगेली सडकखण्ड आसपासका बासिन्दा र यात्रुहरू हिलो र धुलोको चपेटामा परेको बताइन् । उनले स्थानीयले धान रोपेर विरोध जनाउँदा समेत सरकारले नसुनेको नदेखेको गुनासो गरिन् ।
‘कटहरीदेखि नयाँ बजारसम्मको हुलाकी सडक जीर्ण छ, बर्षामा हिलो र हिउँदमा धुलोले उक्त क्षेत्रका बासिन्दा समस्यामा छन्, स्थानीयले बाटोमा धान रोपेर विरोध नै जनाएका छन्’ प्रदेश सांसद कार्कीले भनिन्, ‘उक्त सडकबाट यात्रागर्दा यात्रुहरूले कतिबेला दुर्घटनामा परिन्छ भन्ने भय लिएर हिंड्नुपर्ने अवस्था छ ।’
उनले एशियाली राजमार्गको अवस्था समेत त्यस्तै रहेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् । संसदमा सांसदले उठाएका कुरा सरकारले सुन्नै छाडेको भन्दै सडकको समस्या समाधान गर्न आग्रह गरिन् ।
‘यो सदनमा माननीयहरूले उठाएको कुरा कार्यान्वयन पनि हुन्छ कि, बोल्नैका लागि बोल्नु पर्ने हो ? आजसम्म हामीले बुझ्न सकेका छैनौं’ उनले भनिन्, ‘बर्षाको कारणले कतिपय ठाउँमा बाढी पहिरोको जोखिम बढेको छ, पुल बगाएर जनजीवन प्रभावित छ, इटहरीदेखि काँकडभिट्टासम्मको हाइवेमा डाइभर्सनमा खाल्डाखुल्डी परेर यात्रुहरूले धेरै कष्ट भोग्नु परिरहेको छ, डेढ घण्टाको बाटोमा पाँच घण्टा यात्रा गर्नुपर्ने अवस्था छ, यस्तो अवस्था कहिलेसम्म ? सरकारको ध्यान कहिले जाने हो ?’
अर्का प्रदेश सांसद भीम पराजुलीले पनि हुलाकी सडकको टिठ लाग्दो समस्या संसद राख्दै सरकारभन्दा ठेकेदार बलियो भएको महसुस हुन थालेको बताए । उनले संसदको शून्य समयमा बोलेको कुराको परिणाम शून्य नै आउने गरेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
बलियो सरकार बनेर काम गरिरहेको भनिए पनि एसियाली राजमार्ग र हुलाकी मार्गको अवस्थाले उल्टो अवस्था सावित भएको बताए ।
‘बलिया बलिया सरकार बनेका छन्, काम पनि द्रुत गतिमा भइरहेको भन्ने मैले महसुस गरेको थिएँ, कटहरीमा हुलाकी सडकले २०६६–६७ देखि ठेक्का प्रारम्भ गरेको थियो तर आज लगभग डेढ दशक बढी भइसकेछ । किसानहरूले खेतमा धान नरोपेर सडकमा रोपेर अवरोध गरिरहेका छन्’ उनले भने, ‘दु्रत गतिमा यो बाटो बन्नुपर्छ, बनेन भने हामीले हिजो रिले अनसन ग¥यौं अव म स्वयम् प्रदेशसभा अगाडि आमरण अनसन बस्ने घोषणा गर्न चाहन्छु ।’
उनले हुलाकी सडकमा साइकल, सिटी सफारी वा पैदलमा हिंड्नेले धेरै नै कष्ट भोग्नु परेको भन्दै प्रदेश सरकारको ध्यानाकर्षण गराए । पहिले पनि हुलाकी सडक निर्माणलाई तिब्रता दिनका लागि जनप्रतिनिधिहरूले अनसन बस्दा तत्कालिन सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले तुरून्तै काम हुन्छ भनेर आश्वासन दिएको स्मरण गरे ।
‘सहमति हुन्छ तर बाटो बन्दैन, सरकारभन्दा बलिया ठेकेदार हुन कि ? के कति कारणले बाटो बनिरहेको छैन ?’ सांसद पराजुलीले भने, ‘हामीले दुई बर्षअघि नै ठेकेदारले बाटो बनाएनन् भने कालोसूचीमा लगेर नयाँ प्रक्रियामा जानुपर्छ भन्दा त्यो किन भइरहेको छैन ?’
हुलाकी सडकको यो खण्ड निर्माण गर्न पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा समेत काम हुन सकेको छैन ।
सांसद पराजुलीले प्रदेश र संघीय सरकारले यस बिषयमा कुनै पहल नगर्ने हो भने यो प्रणालीप्रति नै जनताको विश्वास घटेर जाने बताए ।
त्यसका लागि प्रदेश सरकारले पनि सरकार भएको जस्तो गरेर बलियो खुट्टा बनाएर हिंड्नु पर्ने सुझाव दिए ।
View : 898
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved