Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
समाज

महानगरद्वारा घरमै पुगेर ज्येष्ठ नागरिकको उपचार

उद्घोष सम्वाददाता
२१ फागुन २०८०, सोमवार

विराटनगर । विराटनगर महानगरपालिकाले ज्येष्ठ नागरिकलाई घरमै गएर निःशुल्क स्वास्थ्य सेवा दिन सुरु गरेको छ ।  महानगरले १९ वटै वडामा बसोबास गर्ने ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरूलाई निःशुल्क स्वास्थ्य सेवा दिन सुरु गरेको हो ।

महानगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीको उपस्थितिमा स्वास्थ्य सेवा दिन घरदैलोमा जाने स्वास्थ्यकर्मीहरूलाई अभिमुखीकरण तालिमसमेत सञ्चालन गरेको छ । तालिम सञ्चालन गरेर स्वास्थ्य जाँचका लागि आवश्यक पर्ने सामग्रीसमेत स्वास्थ्यकर्मीहरूलाई प्रदान गरिएको छ । 

प्रत्येक वडामा दुईजना नर्सिङ कर्मचारीहरूलाई ज्येष्ठ नागरिकहरूको स्वास्थ्य जाँच तथा परामर्शका लागि खटाइएको छ । ऊक्त कार्यत्रममा ज्येष्ठ नागरिकहरूको रक्तचाप, मधुमेह, अक्सिजनको स्तरको जाँच, नेबुलाइजेसन सेवा, सामान्य स्वास्थ्य परीक्षण तथा उपचार, ड्रेसिङ, औषधि वितरणसहित स्वास्थ्य परामर्श सेवासमेत प्रदान गरिने स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिए ।

सम्बन्धित वडाका महिला स्वयम्सेविकासमेत परिचालन गरिनेछ । हरेक तीन महिनामा कम्तीमा एक पटक ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण उपचार सेवा उपलब्ध गराइनेछ । घरमा जाँदा बिरामीलाई अस्पताल लैजाने परेमा महानगरको एम्बुलेन्समार्फत निःशुल्क सेवा दिनुका साथै सम्बन्धित अस्पतालमा समन्वयकारी भूमिका समेत महानगरले गर्नेछ । 

अभिमुखीकरणपछि आइतबारदेखि नै ज्येष्ठ नागरिकको घरदैलोमा पुगेर सेवा सञ्चालन गरिएको महानगरका स्वास्थ्य अधिकृत अमरदीप देवले जानकारी दिए ।

महानगर क्षेत्रभित्र २ हजार ३ सय २४ जना ८० वर्षमाथिका ज्येष्ठ नागरिक रहेका छन् । जसअन्तर्गत सबैभन्दा बढी वडा नम्बर ३ मा ३९० जना र सबैभन्दा कम १८ नम्बर वडामा २४ जना ८० वर्षभन्दा माथि उमेर भएका ज्येष्ठ नागरिक रहेको महानगरले जनाएको छ ।

View : 283

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved