पूर्वमन्त्री अधिकारीको हिरासत यात्रा लम्बियो
विराटनगर । मानव तस्करीको अभियोगमा प्रहरी हिरासतमा पुगेका कोशीका पूर्वमन्त्री लीलाबल्लभ अधिकारीलाई त्यता पठाउने तारतम्य मिलाउने गोपाल गौतम र उनीबीचको संवाद प्रहरीले फेला पारेको छ । अधिकारी र गौतमबीचको ह्वाटस्याप संवादले घटनाबारे अनुसन्धानमा सहयोग पुग्ने प्रहरीले जनाएको छ ।
आइतबारबाट प्रहरी हिरासतमा रहेका अधिकारीलाई थप ७ दिन हिरासतमा राख्न मंगलबार अदालतले अनुमति दिएको छ । मंगलबार अदालतमा पेश गर्नुअगाडि नै प्रहरीले गौतमसँग अधिकारीले गरेको संवाद फेला पार्यो । एमाले कोशीका प्रदेश सांसद अधिकारीकै निर्वाचन क्षेत्रका बासिन्दा गौतम तिनै व्यक्ति हुन्, जसले तत्कालीन मन्त्री अधिकारीलाई जापान पठाउने सबै प्रबन्ध मिलाएका थिए । अहिलेसम्म अधिकारीसहित ९ जनालाई पक्राउ गरिसकेको प्रहरीले गौतमलाई पनि खोजिरहेको छ । तर, उनी फरार छन् ।
मोरङ क्षेत्र नं २ ‘२’ का सांसद अधिकारीले जापान विवादमा मुछिएपछि राजीनामा दिंदै पत्रकार सम्मेलनमा आफूले आफ्नै क्षेत्रका एमाले कार्यकर्ता गोपाल गौतमबाहेक अरु कसैलाई नचिन्ने, उनैलाई विश्वास गर्ने हुँदा फसेको बताएका थिए । प्रहरीले फेला पारेको संवादमा पनि अधिकारीले गौतमलाई त्यसै भनेका छन् ।
उनीहरूबीचको संवादमा गौतमले सुरुमा अधिकारीलाई ह्वाटस्यापमा सोधेका छन्, ‘केही असजिलो भए खबर पाऊँ, मोहन भाइ एयरपोर्टबाहिर पर्खिएर बसिराखेको छन् अरे । तपाईको सिद्धिएपछि भेट हुन्छ ।’ प्रहरीका अनुसार अधिकारी जापान जाँदै गर्दा गौतमले पठाएको म्यासेज यही थियो ।
तत्कालीन मन्त्री अधिकारीले विदेशमा छँदै गौतमलाई आफूलाई ‘फटाहाहरूले प्रयोग गरेको’ भन्दै म्यासेज पठाएका थिए । उनले म्यासेजमा भनेका छन् ‘फटाहाको फेला परियो । मलाई त अवैध मान्छे सप्लाइ गर्न पो प्रयोग गरेका रहेछन् । अब अनुसन्धान हुन्छ । क–कसको के–के भूमिका छ ? त्यो महेश भन्ने मान्छे को हो ? कसले मेरो नामको किर्ते सही गरेर नक्कली कार्ड बनाई ती मान्छे पठायो ? ती सबै अनुसन्धानमा सहयोग पुगोस् । अरु नेपाल आएपछि कुरा हुन्छ ।’
मुलुककै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा फोहोर संकलक मजदुर सप्लाई गर्दै आएका र एमाले संसदीय दलको कार्यालयमा सधैँ देखिइरहने गौतमले त्यसपछि अधिकारीलाई सोधेका छन् ‘कहाँ हुनुहुन्छ ? के भयो ? कहिले आउनुहुन्छ ? आउनू, जे गर्नुपर्छ गरौंला ।’
गौतमले त्यसो भनेपछि अधिकारीले ‘मैले तपाईबाहेक अरु कसैलाई नचिन्ने’ भन्दै लामो म्यासेज गरेका छन् । उनले गौतमलाई लेखेका छन् ‘मैले तपाईबाहेक कसैलाई चिनेको छैन । पासपोर्ट पनि तपाईलाई दिएको हो । भिसाको लागि पनि बोलाइएन । मान्छे को–को हो जाने भनी अन्तिम उड्ने दिनसम्म पनि भनिएन । काठमाडौंबाट उड्दा पनि म एक्लै उडेको, एक्कासी हङकङ एयरपोर्टमा पो सर नमस्कार हामी पनि हजुरकै नेतृत्वमा जापान सम्मेलनमा हिंडेको भन्दा म छक्क परेँ । मैले जिन्दगीमा कहिल्यै नदेखेका, नभेटेका कहिल्यै नाम नसुनेका व्यक्तिसँग त्यो हङकङ भेटले नै मेरो मन अमिलो भयो । मलाई त यिनीहरुले अवैध मानिस जापान छिराउने माध्यम पो बनाएका रहेछन्, मेरो हस्ताक्षर भएको नक्कली आईडी बनाएर । मैले चिनेको थिएन । चिन्दिनँ भने इमिग्रेसनमा । त्यसपछि त म ठगिएको रहस्य पूरै उजागर भैहाल्यो । उनीहरू मलाई गालीगलौज गर्न र रुन कराउन थालिहाले । धन्न मानव तस्कर हुनबाट बच्न सफल भएँ । अब अनुसन्धानमा सघाउनु होला म तपाईंबाहेक अरुलाई चिन्दिनँ ।’
जवाफमा गौतमले यसबारे आफूलाई पनि केही थाहा नभएको भन्दै आयोजकसँग कुरा गर्नुपर्ने बताएका छन् । गौतमले अधिकारीलाई भनेका छन् ‘त्यो आयोजक भाइसँग पनि कुरा गरौंला । मलाई त थाहा थिएन । कार्यक्रम मात्रै बुझेको हो मन्त्री जाने, अरुको थाहा छैन । म नि जान्दिनँ । आउनू । बसेर सबै बुझौंला र जे गर्नुपर्छ गरौंला काम्रेड ।’
गौतमको यस्तो जवाफपछि अधिकारीले भने कुनै म्यासेज पठाएका छैनन् । बरु गौतमले उनलाई अरु केही म्यासेज गरेको देखिएको प्रहरी भनाइ छ । गौतमले पठाएको अर्को म्यासेजमा उनी भन्छन् ‘त्यसरी जान मिल्ने भए म आफै गइहाल्थेँ नि । पाउँदैन अरुलाई भनेको थियो र पो मैले कोसिस गरिनँ ।’
गौतमले अर्को म्यासेजमा अधिकारीलाई भनेका छन् ‘मलाई भेट्नु है काम्रेड अनि जे गर्नुपर्छ गरौंला ।’ लगत्तै गौतमले कतिबेला आइपुग्ने भन्दै सोधेका छन् ‘कति बजे आइपुग्ने हो काम्रेड । म आउँछु अनि जे गर्नुपर्छ गरौंला ।’ गौतमले अर्को म्यासेजमा नेपाल आएपछि आफूलाई फोन गर्न भनेर अधिकारीलाई भनेका छन् ।
‘आइपुगेपछि फोन पाऊँ हजुर म आइहाल्छु, केही थाहा छैन के भा को हो अनि जे गरौंला ।’ उनले अधिकारीलाई फेरि सोधेका छन् ‘कता हो काम्रेड ? भेट हुँदैन ?’ यी कुनै पनि म्यासेजको जवाफ अधिकारीले नदिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेको संख्या ९ पुग्यो
एमाले प्रदेश सांसद लीलाबल्लभ अधिकारी मुछिएकोे मानव तस्करी तथा सरकारी लिखत कीर्ते प्रकरणमा पक्राउ पर्ने अभियुक्तहरूको संख्या ९ पुगेको छ । आइतबार अधिकारी पक्राउ पर्नुअघि नै ६ जनालाई पक्राउ गरेको प्रहरीले मंगलबार थप दुई जनालाई पक्राउ गरेको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयको नक्कली कागजात बनाउन भूमिका गरेको अभियोगमा थप दुई जना पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार खोटाङका गुढी राई र नवीन राई पक्राउ परेका हुन् । उनीहरूले जापान जानलाई तीन युवाका लागि नक्कली सरकारी कागजात बनाइदिएको पाइएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले यसअघि नै खोटाङको केपीलासलगढी गाउँपालिका–४ का ४१ वर्षीय जनक राई, खोटाङकै ऐसेलुखर्क गाउँपालिका–२ का ३७ वर्षीय दावा शेर्पा र रसुवाको कालिका गाउँपालिका–५ का २१ वर्षीय कञ्चन देवकोटा, नुवाकोटका २२ वर्षीय जुगल रिजाल, दोलखाका ३० वर्षीय वीरबहादुर सुनुवार र धादिङको त्रिपुरा सुन्दरी गाउँपालिकाका ३४ वर्षीय महेश पाण्डेलाई पक्राउ गरिसकेको छ ।
View : 183
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved