विराटनगर । लामो समयदेखि सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएकी आशा झा अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट मोरङ निर्वाचन क्षेत्र नं. ५ का लागि प्रतिनिधिसभा सदस्य पदको प्रत्यक्ष उम्मेदवार बनेकी छन् ।
समुदायसँग प्रत्यक्ष रूपमा काम गर्दै आएको अनुभवलाई राजनीतिक नेतृत्वमा रूपान्तरण गर्ने लक्ष्यसहित उनी चुनावी मैदानमा उत्रिएकी हुन् ।
झा विगत करिब १६ वर्षदेखि सामाजिक तथा जनस्वास्थ्य अभियानमा निरन्तर संलग्न रहँदै आएकी छन् ।
समुदायस्तरमा सचेतना अभिवृद्धि, महिला सशक्तीकरण र युवा रोजगारी उनका कामका प्रमुख क्षेत्र हुन् ।
उनी भन्छिन्, ‘राजनीति मेरा लागि पद प्राप्तिको माध्यम होइन, जिम्मेवारी वहन गर्ने स्थान हो । समुदायमा काम गर्दा हासिल गरेको अनुभवलाई अब नीति निर्माण तहसम्म पुर्याउन चाहन्छु ।’
झा गायत्री परिवारसँग आबद्ध रहँदै नैतिक तथा सांस्कृतिक शिक्षा सम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएकी छन् ।
सामाजिक तथा आध्यात्मिक जागरण कार्यक्रम आयोजना गर्नुका साथै उनले स्वयंसेवक व्यवस्थापन र समुदाय समन्वयमा समेत सक्रिय भूमिका निर्वाह गरेकी छन् ।
सामाजिक सुधार र वातावरण संरक्षणजस्ता अभियानमा पनि उनको उल्लेखनीय सक्रियता देखिन्छ । यसका साथै उनी विराटनगर महानगरपालिकामा स्वास्थ्य स्वयंसेवकका रूपमा कार्यरत रहिन् ।
पोलियो खोप अभियान, भिटामिन ‘ए’ वितरण, कोभिड–१९ सचेतना तथा राहत कार्यक्रमहरूमा उनले समुदाय र स्थानीय सरकारबीच समन्वयकारी भूमिका निभाएकी थिइन् ।
त्यस्तै, उनी मधेशी महिला नागरिक समाजसँग आबद्ध रहँदै मधेशी महिलाको हकअधिकार, कानुनी सचेतना र नागरिकता सम्बन्धी मुद्दामा सक्रिय छिन् ।
ग्रामीण क्षेत्रमा महिलाहरूका भेला तथा छलफल कार्यक्रम सञ्चालन गरी उनीहरूको आवाज स्थानीय तहसम्म पुर्याउने काममा उनको योगदान उल्लेखनीय मानिन्छ ।
वञ्चित तथा विपन्न महिलाका लागि सशक्तीकरण कार्यक्रम सञ्चालनमा पनि उनको संलग्नता महत्वपूर्ण रहेको छ ।
शिक्षाशास्त्रमा स्नातक उत्तीर्ण गरेकी झा सार्वजनिक वकालत, वक्तृत्वकला, नेतृत्व विकास, समन्वय र प्रभावकारी संवादमा दक्ष रहेको बताइन्छ । उनी नेपाली, मैथिली र अंग्रेजी भाषामा समान रूपमा संवाद गर्न सक्षम छिन् ।
आफनो उम्मेदवारीलाई उनले सामान्य नागरिकको आवाज संसदसम्म पुर्याउने प्रयासका रूपमा प्रस्तुत गरेकी छन् ।
युवा रोजगारी तथा सीप विकास, स्थानीयदेखि संघीय तहसम्म पारदर्शी शासन प्रणाली, महिला तथा वञ्चित समुदायको नीति निर्माणमा सहभागिता, स्वास्थ्य र शिक्षा सेवामा पहुँच विस्तार उनका प्रमुख एजेन्डा हुन् ।
उनी भन्छिन्, ‘नेतृत्व जनताबाट टाढा होइन, जनतासँगै हुनुपर्छ । मैले सडक, बस्ती र समुदायमा काम गरेकी छु । अब संसदभित्रबाट त्यसैको निरन्तरता दिन चाहन्छु ।’
मोरङ–५ परम्परागत रूपमा कडा राजनीतिक प्रतिस्पर्धाको क्षेत्र मानिन्छ । यस पटक सामाजिक क्षेत्रबाट उदाएकी महिला उम्मेदवारका रूपमा आशा झाको प्रवेशले चुनावी समीकरणमा नयाँ बहस सुरु भएको स्थानीय विश्लेषकहरू बताउँछन् । विशेषगरी महिला, युवा र सामाजिक क्षेत्रमा सक्रिय मतदातामाझ उनको प्रभाव विस्तार हुँदै गएको देखिन्छ ।
सामाजिक सेवा पृष्ठभूमिबाट राष्ट्रिय राजनीतिमा प्रवेश गर्न खोजेकी झाको उम्मेदवारीलाई मतदाताले कसरी मूल्याङ्कन गर्छन् भन्ने कुरा चुनावी परिणामले स्पष्ट पार्नेछ । तर हाल उनी मोरङ–५ मा चर्चित र चर्चामा रहेकी उम्मेदवारका रूपमा उभिएकी छन् ।
View : 290
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved