सांकेतिक फाइल तस्वीर ।
विराटनगर । शारीरिक अपाङ्गताका कारण एकहातले सिटी सफारी कुदाउँदै गरेका दुईजनालाई जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएको छ । जिल्ला ट्राफिकले स्थानीय जनआन्दोलन चोकबाट दुईजनालाई कुदाउँदै गरेको सिटीसहित नियन्त्रणमा लिएको हो ।
दुवै चालकले एकै हातले सिटी सफारी कुदाउँदै गरेको पाइएपछि नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अघि बढाइएको जिल्ला ट्राफिकले जनाएको छ ।
जाँचको क्रममा ट्राफिक प्रहरीले जहदा–३ का अशोक राजवंशी र जहदा–७ का चन्द्रकिशोर मण्डललाई नियन्त्रणमा लिएको छ । यसैगरी उनीहरुले कुदाउँदै गरेको प्र १–०२–००४ ह ५६६४ नम्बर तथा प्र १–०२–००३ ह २११२ नम्बरको सिटीसमेत ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
एक हातले सिटी कुदाउँदा सन्तुलन कायम राख्न असहज हुनुका साथै इण्डिकेटर, ब्याक गेयर र ब्रेक लगाउन समस्या हुनेहुँदा दुर्घटनाको जोखिम हुने मोरङ ट्राफिक प्रमुख राजन लम्सालले बताए ।
उता सिटी कारवाहीमा परेका सिटी चालकद्वयले गुनासो गरेका छन । जहदा–७ का चन्द्रकिशोर मण्डलले आफू २०७३ सालदेखी सिटी कुदाएरै परिवारको भरणपोषण गर्दै आएको बताएका छन् ।
जहदा–३ का अर्का चालक अशोक राजवंशीले आफू बिगतमा उद्योगमा मेशिन चलाउने काम गर्दै आएकोमा उद्योगकै मेशिनले हात काटिएको बताए । हात गुमेयता परिवार चलाउन सिटी खरीद गरी कुदाउँदै आएको उनले बताए ।
नियन्त्रणमा लिइएका सिटी सफारी चालकलाई सिटी कुदाउन रोक लगाउनुका साथै नियमानुसार कारवाही गरिने जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । केहिदिन अघि एउटा खुट्टा नभएका ब्यक्तिले समेत सिटी सफारी कुदाउँदै गरेको फेला पारी कारवाही गरिएको ट्राफिकले जनाएको छ ।
विराटनगर महानगरपालिकामा ८ हजार बढी सिटी सफारी कुद्ने गरेको अनुमान गरिएको छ ।
View : 33
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved