विराटनगर । कोशी प्रदेश सरकारले आगामी वर्ष २०८२ लाई पर्यटन वर्षका रुपमा मनाउने भव्य घोषणा गरेको छ । शुक्रबार विराटनगरमा आयोजित घोषणा कार्यक्रममा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले २०८२ साललाई औपचारिक रूपमा पर्यटन वर्ष घोषणा गरेका हुन् ।
बटुकहरूद्वारा स्वस्तिक वाचन र पञ्चकन्याहरूलाई टिका लगाइदिएपछि पानसमा बत्ती बालेर मुख्यमन्त्री कार्कीले पर्यटन वर्ष २०८२ को झण्डा फहराएका छन् । घोषणा कार्यक्रममा सहभागी भएका प्रदेश सरकार विशिष्ट व्यक्तित्व, आमन्त्रित अतिथि, पर्यटन व्यवसायी र सहभागीहरूले समेत ‘कोशी प्रदेश पर्यटन वर्ष २०८२’ अङ्कित झण्डा फहराएर घोषणा सभालाई भव्यता प्रदान गरेका हुन् ।
आगामी पर्यटन वर्षका लागि प्रदेश सरकारले ‘डिलाइटफुल कोशी’ अर्थात ‘रमणीय कोशी’ भन्ने नारा तय गरेको जनाइएको छ ।
आज सेप्टेम्बर २७ अर्थात विश्व पर्यटन दिवसको अवसर पारेर प्रदेश सरकारले ‘कोशी प्रदेश पर्यटन वर्ष २०८२’ को घोषणा गरिएको मुख्यमन्त्री कार्कीले बताए । उनले ‘८२ का लागि ८२’ भन्ने नाराका साथ पर्यटकीय गन्तव्यको सूची सार्वजनिक गर्न लागेको पनि जानकारी दिए ।
‘कोशी प्रदेश सरकारले आगामी वर्ष २०८२ साललाई कोशी पर्यटन वर्ष मनाउने घोषणा गर्ने उद्देश्यका साथ यो कार्यक्रमको आयोजना गरिएको हो’ मुख्यमन्त्री कार्कीले भने, ‘कोभिड १९ को विश्वव्यापी महामारी र पछिल्लो समय हामीले खेप्नु परेको आर्थिक शिथिलताले पर्यटन क्षेत्र पनि अछुतो रहन सकेन, यी प्रतिकुलताहरूलाई छिचोल्दै अघि बढ्नु पर्नेछ, यसमा कोशी प्रदेश सरकार नीतिगत, कार्यगत र व्यवस्थापकीय कार्यहरू गर्ने सोच र दृष्टिकोण निर्माण गरी अघि बढ्ने प्रयत्न गरिरहेको छ, यसको प्रस्थान बिन्दुका रुपमा ‘कोशी प्रदेश पर्यटन वर्ष २०८२’ लाई लिन सकिन्छ ।’
नेपालमा सरकारी तवरबाट पहिलो पटक पर्यटन क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यका साथ ‘भिजिट नेपाल १९९८’ भव्यताका साथ सफल पारिएको थियो । त्यसैको सिकाइ र अनुभवका आधारमा सरकारले पर्यटन प्रर्वद्धनका लागि कोशी प्रदेशमा पनि धेरै काम गरिरहेको मुख्यमन्त्री कार्कीले बताए । सन् २०२० लाई भ्रमण वर्षका रुपमा नेपाल सरकारले अघि बढाउन नपाउँदै कोभिड–१९ बाट विश्व नै आक्रान्त बनेपछि मुलुककै पर्यटन क्षेत्र शिथिल बनेको थियो ।
मुख्यमन्त्री कार्कीले नेपाल विश्वकै उत्कृष्ट गन्तव्य भएको भन्दै प्रदेश सरकारले २०८२ साललाई पर्यटन वर्ष बनाउने घोषणाले मुलुकै पर्यटन क्षेत्रलाई टेवा पुग्ने बताए ।
उनले नेपालको सबैभन्दा होचो भूभाग झापाको केचनादेखि विश्वकै सर्वोच्च शिखर सगरमाथा कोशी प्रदेशमा रहनुले पर्यटकीय विकास र सम्भावनामा हामी भाग्यमानी भएको बताए ।
‘विश्वको सर्वोच्च शिखर सगरमाथा सहित मकालु, ल्होत्से, कन्चनजंघा र कुम्भकर्ण हिमाल कोशी प्रदेशमा पर्छन्, सगरमाथा राष्ट्रिय निकुञ्ज, कञ्चनजंघा संरक्षण क्षेत्र र कोशी टप्पु वन्यजन्तु आरक्ष जस्ता पर्यटकीय स्थल यहिँ छन्’ मुख्यमन्त्री कार्कीले भने, ‘पाथिभरा, बराहक्षेत्र, रामधुनी, हलेसी, विजयपुर, चौदण्डीगढी, उदयपुरगढी, हिलिहाङ, हतुवागढी, विराट राजाको दरबार, अर्जुनधारा, खुवालुङदेखि फक्ताङलुङ, तुवाचुङ, जायजुङ, माङ्सेबुङ, तिम्बुङ पोखरी, सभापोखरी, गुफापोखरी जस्ता ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक सम्पदाहरु पर्यटनका मुख्य आधारहरु हुन् ।’
उनले कोशी प्रदेश धार्मिक तथा प्राकृतिक सम्पदाकै जगमा मुलुककै पर्यटनको ‘हब’ बन्ने विश्वास व्यक्त गरे । साथै पोकली झरना, ह्यार्तुङ झरना, कन्याम, श्रीअन्तु, नाम्चे, पाताले, भेडेटार, नमस्ते झरना, हिले, तीनजुरे–मिल्के–जलजले, जेफाले आदि उत्कृष्ट पर्यटकीय क्षेत्र गन्तव्य रहेको बताए ।
पर्यटन वर्ष सफल पार्न कोशी प्रदेश सरकारले निजी क्षेत्रसँगको सहकार्यमा अघि बढाउने बताए । उनले नीति तथा कानूनहरूमा भएका समस्यालाई समयानुकुल सुधार गर्न संघीय सरकार र स्थानीय तहसँग आवश्यक पहल गर्ने पनि प्रतिवद्धता जनाए ।
कार्यक्रममा निजी क्षेत्रको तर्फबाट नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेश समितिका अध्यक्ष राजेन्द्र राउतले कोशी प्रदेशमा कृषि र पर्यटन क्षेत्रलाई सँगै अघि बढाउनु पर्ने बताए । उनले निजी क्षेत्रले भोग्ने समस्यालाई समाधान गर्न प्रदेश सरकारले समेत सहजीकरण गर्नुपर्नेमा जोड दिए ।
कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री भुपेन्द्र राईको अध्यक्षतामा आयोजित पर्यटन वर्ष घोषणा कार्यक्रममा कोशी प्रदेशका पर्यटकीय क्षेत्र चिनाउने विभिन्न ठाउँका फोटोहरू समेत प्रदर्शनी गरिएको थियो ।
View : 224
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved