विराटनगर । लिपमोटरको प्रमुख मोडल ‘सी–१०’ विद्युतीय चारपाङ्ग्रे गाडीको शुक्रबार विराटनगरमा लन्च गरिएको छ । नेपालको प्रतिष्ठित व्यापारिक घराना गोल्छा अर्गनाइजेसनसम्बद्ध साङ्ग्रिला मोटर्स प्रालि मुख्य वितरक रहेको उक्त गाडी लन्च गरिएसँगै बुकिङ खुल्ला गरिएको कम्पनीले जनाएको छ ।
लिपमोटरको विराटनगरका लागि आधिकारिक वितरक श्रीजा अटोमोबाइल्स वरगाछी रहेको छ । लक्जरी, प्रदर्शन र वातावरणीय जिम्मेवारी समेटेर डिजाइन गरिएको ‘लिपमोटर सी १० एसयूभी’ ले विद्युतीय सवारी साधनमा नयाँ अध्याय थपेको साङ्ग्रिला मोटर्स प्रालिका अध्यक्ष हेमन्त गोल्छाले बताएका छन् ।
कम्पनीका अनुसार, लिप मोटर्सको यो गाडीमा ६९.९ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री छ । उक्त ब्याट्रीले सिंगल चार्जमा ४ सय २० किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ ।
गाडीमा १ सय ६० किलोवाट क्षमताको इलेक्ट्रिक मोटर छ । त्यस्तै ३२० न्युटन मिटर टर्क छ । गाडीमा १९० एमएमको ग्राउन्ड क्लियरेन्स भएका कारण यो गाडी नेपालका विभिन्न भूभागमा सजिलै पुग्न सक्ने कम्पनीको दावी छ । गाडीमा ३१५ लिटरको प्रशस्त बुट स्पेस भएको कम्पनीले जनाएको छ ।
कम्पनीले गाडीको ब्याट्रीको सात वर्ष वा एक लाख ४० हजार किलोमिटरको वारेन्टी प्रदान गरिने जनाएको छ । त्यस्तै, मोटरको पाँच वर्ष वा एक लाख किलोमिटर र गाडीको तीन वर्ष वा एक लाख २५ हजार किलोमिटर वारेन्टी हुने कम्पनीले प्रष्ट पारेको छ ।
यसैबीच, शुक्रबार आयोजित कार्यक्रममा पहिलो ग्राहकको रुपमा उक्त गाडी इटहरीका रमेश थापालाई हस्तान्तरण गरिएको छ ।
थापालाई साङ्ग्रिला मोटर्स प्रालिका अध्यक्ष हेमन्त गोल्छा र विराटनगर वितरक श्रीजा अटोमोबाइल्सका प्रबन्ध निर्देशक नवीन खतिवडाले संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।
View : 77
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved