Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा १० वटा रिट दर्ता

उद्‌घोष संवाददाता
२९ असोज २०८२, बुधवार

काठमाडौँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध आज १० वटा रिट निवेदन दर्ता भएका छन् ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले रिटमाथि आगामी कात्तिक १२ गते सुनुवाइका लागि पेसी तोकिएको जानकारी दिए ।

प्रवक्ता कोइरालाका अनुसार प्रधानमन्त्रीको नियुक्ति बदर, संसद् विघटन बदर एवं संसद् पुनःस्थापना समेतमा उत्प्रेषण, परमादेश आदेशको माग गर्दै मङ्गलबार पेस भएका १० वटा रिट निवेदन दर्ता भएका हुन् ।

दर्ता भएका निवेदनमाथि संवैधानिक इजलासमा सुनुवाइ हुनेछ । गत भदौ २४ गते भएको जेनजी प्रदर्शनका क्रममा अदालतमा आगजनी, ढुङ्गामुढा, तोडफोड र लुटपाटबाट क्षति पुगेको थियो ।

त्यसपछि बन्दीप्रत्यक्षीकरण, अत्यावश्यक निवेदन दर्ता र सुनुवाइबाहेक सबै काम स्थगन भएको थियो ।

मङ्गलबारदेखि रिट निवेदन दर्ता र सुनुवाइ खुलेपछि प्रतिनिधिसभा विघटनविरूद्ध रिट निवेदन आएका हुन् ।

रिट निवेदन पेस गर्नेमा अधिवक्ता डा प्रेमराज सिलवाल, युवराज पौडेल, अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलसमेत, आयुष बडाल, मकबुल मियाँ, अधिवक्ता खड्कबहादुर शाह, डम्बरप्रसाद शिवाकोटी, अधिवक्ता दलबहादुर धामी, प्रकाश भुजेल र विपिन ढकाल रहेका छन् । 

यही असोज २६ गतेको प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित सम्पूर्ण न्यायाधीशको पूर्ण बैठक (फूल कोर्ट) यही असोज २८ रिट निवेदन दर्ता एवम् सुनुवाइको निर्णय गरेको थियो । रासस

View : 408

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved