विराटनगर । भारतीय जीवन विमा कम्पनी (एलआईसी) का एजेन्ट हजारौं वीमाकर्ताहरूको विमाको पैसा अपचलन गरेर भूमिगत भएका छन् । विमा कम्पनीका एजेन्ट अवधेश विहारी भूमिगत भएका हुन् । भारतको फारबिसगञ्ज निवासी अशोक झाका छोरा विहारीले नेपालमा आई नेपालीलाई भारतीय जीवन विमा कम्पनीको विमालेख बिक्री गर्दै आएका थिए ।
उनले जीवन विमावापतको पैसा जम्मा गर्न लगाएर सो रकम विमा कम्पनीमा जम्मा नगरी अपचलन गर्ने गरेका थिए । उद्घोष दैनिकको गत असार २६ गते (१० जुलाई २०२४) को अंकमा समाचार प्रकाशित भएपछि एलआईसीको भागलपुर मण्डल कार्यालयले छानविन शुरू गरेको छ ।
उद्घोष दैनिकमा प्रकाशित समाचारको आधारमा एलआईसीले छानविन शुरू गरेको हो । छानविन टोलीले सोमबार राति अबेरसम्म अररिया शाखाका कर्मचारी र एजेन्टहरूलाई राखेर बैठक गरेको थियो । बैठक मंगलबार पनि बसेको थियो । बैठकमा आउन अवधेश विहारीलाई बोलाउन खोज्दा उनी सम्पर्कमा नआएको समाचार स्रोतले बताएको छ ।
छोरा सम्पर्कमा नआएपछि टोलीले निजका बाबु अशोकलाई बोलाएकोमा सोमबार उनी पनि आएनन् । अवधेश विहारीका विरूद्ध पीडितहरूले एलआईसीको मुम्बईस्थित मुख्यालयमा उजुरी गरेका छन् । उजुरी पछि उनका विरूद्ध छानविन शुरू भएको हो । छानविन नगर्दा कम्पनीको शाखामै असर गर्ने भएकाले मुख्यालयले नै चासो लिएर कारवाही प्रक्रिया अघि बढाएको हो ।
अवधेश विहारीका बाबु अशोक झा पनि एजेन्ट हुन् । छोरामाथि छानविन शुरू भएपछि षड्यन्त्र गरेर छोरालाई फसाउने काम भयो भन्दै बाबु अशोक झा छोराको बचाउमा लागेका छन् । समाचार स्रोतका अनुसार विहारीले गरेका गलत कामको केही प्रमाण छानविन टोलीले फेला पारिसकेको जनाइएको छ ।
विहारीबाट ठगिएपछि विराटनगरका पुराना व्यवसायी मोहन अधिकारीले विहारीका विरूद्धमा आफ्नो फेसबुकमा स्ट्याटस लेखेर निजलाई फेला पार्न सहयोग गरिदिन आग्रह गरेका थिए । सो स्ट्याटसले पनि विहारीको ठगी धन्दा सार्वजनिक गर्न मद्दत गरेको थियो ।
उद्घोष दैनिकमा समाचार प्रकाशित भएपछि त्यसको तस्वीर लिएर पत्रिकाको कटिङसहित समाचार हिन्दीमा उल्था गरेर पनि पीडितहरूले भारतका विभिन्न एजेन्टहरूलाई पठाइरहेका छन् । समाचारको कटिङको फोटो एलआईसीको हेड अफिससम्म पुर्याइएको छ । आफूले पनि पत्रिकाको कटिङ पठाएको मोहन अधिकारीले बताए ।
पूर्व झापादेखि पश्चिम सिराहासम्म विहारीबाट धेरै मानिस ठगिएका छन् । समाचार प्रकाशित भएपछि सबैतिर हल्लीखल्ली मच्चिएको छ । भारतीय विमा कम्पनीका अरू पनि एजेन्टबाट ठगिनुपरेको गुनासो अरूले पनि गरेका छन् । मोरङ व्यापार संघका निवर्तमान अध्यक्ष नवीन रिजालका अनुसार सी.एन झा नामको एजेन्टले पनि उनलाई ठगेको छ ।
एउटा कुरो बताउने, अनि भुक्तानी दिने बेलामा आनाकानी गरेर झुलाउने प्रवृत्ति भारतीय एजेन्टहरूमा रहेकाले उनीहरूबाट धेरै जना पीडित भएका छन् । आशानन्द झा नामको फारवीसगञ्जकै एजेन्टले पनि यसअघि धेरै नेपालीलाई ठगेको थिए ।
View : 121
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved