विराटनगर । अध्यक्ष नमोनारायण माझीको मनोमानीले जनप्रतिनिधिहरूबीच विवाद चर्किएको मोरङको ग्रामथान गाउँपालिकाको कार्यपालिका बैठक अर्को सूचना नभएसम्म स्थगित भएको छ ।
अध्यक्ष माझीले नै बिहीबार सूचनामार्फत शुक्रबारका लागि तय भइसकेको बैठक स्थगित गरेका हुन् । उनले बैठक स्थगित गर्नुपरेको कारण समेत खुलाएका छैनन् ।
‘प्रस्तुत विषयमा यस ग्रामथान गाउँपालिकाको मिति २०८२/०४/१६ गतेको दिन तोकिएको पहिलो कार्यपालिका बैठक अर्को सूचना प्रकाशन नभएसम्मको लागि स्थगन गरिएको व्यहोरा अनुरोध छ’ अध्यक्ष माझीले निकालेको सूचनामा भनिएको छ ।
अध्यक्ष माझीले एकपक्षीय रूपमा स्थगित गरेको गाउँसभाको बैठक पनि अहिलेसम्म अनिश्चित छ । ग्रामथानमा गाउँपालिकाकी उपाध्यक्ष गुणावतीदेवी थारुसहित गाउँसभाका बहुमत सदस्यहरूले अध्यक्ष माझीको मनोमानी विरुद्ध आवाज उठाउँदै आएका छन् । तर अध्यक्ष माझी भने कानुनविपरीत निर्णयमा एकपछि अर्को गरी अघि बढ्दै आएका छन् ।
उनले आफ्नो प्रवृत्तिको विरोध गर्ने गाउँपालिकाका दुईजना वडाध्यक्षलाई गाउँसभाको बैठकबाटै निस्काशन गर्ने निर्णय गरेका थिए । त्यसको विरोध गाउँपालिकाका बहुमत सदस्यहरूले गरेका थिए ।
आफूखुसी निर्णयविरुद्ध अन्य जनप्रतिनिधिहरूले निरन्तर आवाज उठाएपछि अध्यक्ष माझीले गाउँसभामा मात्रै होइन, कार्यपालिकाको बैठक समेत स्थगित गर्न थालेका छन् ।
अध्यक्ष माझी निर्वाचित भएयता पटक–पटक विवादित बनिसकेका छन् । उनको कानुन विपरितका निर्णयविरुद्ध अदालत समेत ‘ब्रेक’ लगाउँदै आइरहेको छ ।
View : 605
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved