Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

नेपाली उद्योगको प्रतिनिधित्व गर्दै अफ्रिका पुग्यो एशियन थाई फुड्स

जाजूले एशियन थाई फुड्सले हाल २६ भन्दा बढि देशहरूमा आफ्ना उत्पादनहरू नुडल्स र स्न्याक्सको निर्यात गरिरहेको बताए । यसपटक अफ्रिकी देशमा भएको सहभागिताले नेपाली उद्योगको बजार विस्तारको रणनीति समेत तयार भएको उनले दाबी गरे ।
उद्घोष सम्वाददाता
३० जेठ २०८१, बुधवार

विराटनगर । नाइजेरियाको लागोसमा जारी तीन दिने ‘फुड एण्ड वेव वेष्ट अफ्रिका २०२४ मा विराटनगरको एशियन थाई फुड्स प्रालिले नेपालकै प्रतिनिधित्व गर्दै सहभागिता जनाउन सफल भएको छ । ‘फेव वेष्ट अफ्रिका २०२४’ नाम दिइएको अन्तर्राष्ट्रिय खाद्य मेलामा एशियन थाई फुडको टुपीएम नुडल्सदेखि एक दर्जन अन्य उत्पादनहरू समावेश रहेको जनाइएको छ ।

जुन ११ (मंगलबार) देखि सुरु भएको अन्तर्राष्ट्रिय मेलामा सहभागिता जनाउन नेपाल तर्फको ‘पहिलो र एकमात्र कम्पनी’ को रूपमा नेपालको अग्रणी उद्योग एशियन थाई फुडले नाम राख्न सफल भएको हो । 

स्थापनाको २५ वर्ष अवधिमा कम्पनीले नेपालको नुडल्स (चाउचाउ) र स्न्याक्सलाई अफ्रिकी बजारमा पुर्‍याएर आफ्नो क्षमता प्रदर्शन गरेको हो । एशियन थाई फुडले टुपीएम, रमपम र प्रीति जस्ता लोकप्रिय नुडल्स ब्रान्डहरू उत्पादन गरी उपभोक्ताको विश्वास बटुल्दै आएको कम्पनीका प्रबन्धक निर्देशक महेश जाजूले बताए ।

‘विश्वभरीको बजारमा भारतीय उपमहाद्वीपमा तयार पारिएको खाद्य उत्पादन र मसलाप्रति अलग्गै आकर्षण छ, त्यसमध्ये नेपाली खाद्य उत्पादनप्रति पनि अलग्गै रुचि र आकर्षण छ, यही अनुभूतिका आधारमा हामी बजार विस्तार गर्दै आज अफ्रिकी खाद्य मेलामा सहभागिता जनाउन सफल भएका छौं’ जाजूले भने, ‘हाम्रो सहभागिताले नेपाली खाद्य उद्योगलाई धेरै ठुलो उचाइ प्रदान गरेको छ ।’ 

जाजूले एशियन थाई फुड्सले हाल २६ भन्दा बढि देशहरूमा आफ्ना उत्पादनहरू नुडल्स र स्न्याक्सको निर्यात गरिरहेको बताए । यसपटक अफ्रिकी देशमा भएको सहभागिताले नेपाली उद्योगको बजार विस्तारको रणनीति समेत तयार भएको उनले दाबी गरे । 

एशियन थाई फुड्सले विगतमा गल्फ फुड दूबई, वर्ल्ड फूड इस्तानबुल (टर्की), वर्ल्ड फुड इन्डिया र आहार इन्डिया जस्ता प्रतिष्ठित व्यापारिक मेला प्रदर्शनीमा सहभागिता जनाइएको छ । ‘नेपाली खाद्य उत्पादनलाई विश्वव्यापी मञ्चमा प्रवर्द्धन गर्दै सिंगो राष्ट्रको सबल आर्थिक भविष्यको सम्भावना देखाउने काममा एशियन थाई फुड उदाहरण बनेको छ’ उनले भने । 

तर मेला प्रदर्शनीहरुमा उद्योगको आफ्नै खर्च र योजना योजना सहभागिता रहेको भन्दै राज्यको तर्फबाट नेपाली उत्पादनलाई प्रवर्द्धन गर्ने नीतिप्रति असन्तुष्टि जनाए ।

एशियन थाई फुड्सले अकबरे, कोरियन रैमन, किम्ची रैमन, नेपोलिटाना, मसरूम, स्रिम्प, सि–फूड जस्ता अनेकौं नयाँ स्वाद र फ्लेभरमा विश्वबजारको माग अनुसारका प्रिमियम गुणस्तरका चाउचाउ उत्पादनको आरम्भ गरेको जनाइएको छ । जसका कारण अहिले नेपाली बजारदेखि विश्व बजारसम्म पुग्नका लागि सहज बाटो तयार भएको दाबी गरिएको छ । 

त्यस्तै चिजबल, फायरबल, लेमन मिन्ट स्टिक्स, स्रिम्फ क्र्याकर, चिकेन त्र्याकर, फायर क्र्याकर, पञ्जावी पकौडा, मसाला मन्च, अकबरे स्टिक्स, पोटेटो क्र्याकर र इटालियन पास्ता जस्ता अनेकौं स्वाद भरिएका उत्पादन बजारमा पुर्‍याएर उपभोक्ताको मन लोभ्याइसकेको जनाएको छ । एशियन थाई फुड्सका प्रबन्धक निर्देशक जाजूले स्वतन्त्र रूपमा विश्वव्यापीस्तरसम्म नेपाली खाद्य उत्पादनलाई पुर्‍याएर च्याम्पियन कम्पनीका रुपमा स्थापित भएको बताए । 

‘नाइजेरियामा पुगेर नेपाल र नेपाली उद्योगको प्रतिनिधित्व गर्न पाउँदा हामी असाध्यै गौरवान्वित भएका छौं, हाम्रो सहभागीताले नेपाली खाजाको समृद्धि र विविधतालाई विश्वसामु देखाउने हाम्रो प्रतिबद्धतालाई पनि बल पुर्‍याएको छ’ जाजूले भने, ‘यो अवसर प्राप्त गर्दा म धेरै नै उत्साहित भएको छु, अन्तर्राष्ट्रिय व्यापारिक मेलामा नेपाल तर्फको यस्तो सफल–सार्थक सहभागीताले नेपाली खाद्य उद्योगकै इतिहासमा एउटा अनौठो क्षणको रुपमा रहने विश्वास व्यक्त गरेको छु ।’

एशियन थाई फुड्सले अमेरिका, अष्ट्रेलिया, युरोप, गल्फ राष्ट्रहरूको साथमा एशियाका अन्य थुप्रै राष्ट्रहरूमा नेपालमा तयार पारिएको प्रशोधित खाद्य पदार्थका (प्याकेज्ड फुड प्रोडक्ट्स) को रूपमा विश्वव्यापी धारणा बनाउन र बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको जनाइएको छ । 

उक्त मेलामा एशियन थाई फुड्सको तर्फबाट उद्योगी जाजूका छोरा आशिष जाजूले सहभागिता जनाएका छन् । मेलामा अफ्रिकन कुकहरुको सहायताले एशियन थाई फुड्सबाट उत्पादित विभिन्न प्रकारका नुडल्सलाई पकाएर खान सिकाउने र स्वादबारे जानकारी गराउने काम समेत गरिएको जनाइएको छ ।

 

View : 204

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved