Biratnagar, Morang, Nepal
१० साउन २०८३, आइतवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

इमानदार भएर काम गर्ने कानुन मन्त्रीको प्रतिबद्धता, बजेट माग्नेलाई खाली हात नफर्काइने भौतिक पूवर्वाधार मन्त्रीको बचन

उद्‌घोष संवाददाता
९ साउन २०८३, शनिवार

Advertisement

रामेछाप । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोभिता गौतमले सीमित स्रोत–साधनका बाबजुद इमानदारीपूर्वक काम गर्दै विकास निर्माण र सेवा प्रवाहलाई प्रभावकारी बनाउने सरकारको प्रयास जारी रहेको बताएकी छिन् ।

शनिबार मन्थलीमा आयोजित भेटघाट कार्यक्रममा उनले सरकारले विगतमा पनि काम गरेको भए पनि अपेक्षित गतिमा अघि बढ्न नसकेको उल्लेख गर्दै देखिएका समस्या छिटो समाधान गर्न सरकार सक्रिय रहेको बताइन्। सीमित स्रोत–साधनलाई व्यवस्थित रूपमा परिचालन गरी विकासका कामलाई गति दिने दिशामा सरकार केन्द्रित रहेको उनको भनाइ थियो ।

मन्त्री गौतमले देशको विकासका लागि नेतृत्व तह इमानदार हुनुपर्नेमा जोड दिँदै कर्मचारीतन्त्रमा देखिएका कमजोरीलाई पनि नियन्त्रण गरिने बताइन् ।

‘सीमित ढुकुटीको इमानदारीपूर्वक उपयोग गर्दै सामूहिक रूपमा अघि बढ्न सके धेरै काम गर्न सकिन्छ,’ उनले भनिन् ।

उनले कानून निर्माण र सुधारका क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहेको उल्लेख गर्दै आवश्यक कानूनी संशोधनका लागि सरोकारवालाबाट सुझाव दिन आग्रह गरिन्। सरकारले कानून सुधारसँगै विकास निर्माणलाई पनि प्राथमिकतामा राखेर काम गरिरहेको भन्दै आशावादी भएर अघि बढ्न सबैलाई आग्रह गरिन् । 

कार्यक्रममा भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले चालु आर्थिक वर्षका लागि सरकारले एकमुष्ट बजेट व्यवस्था गरेको बताउँदै आवश्यक योजना लिएर मन्त्रालयमा आउने पालिका सभापतिलाई खाली हात नफर्काइने बताए । 

उनले बजेट अभाव नरहेको उल्लेख गर्दै स्थानीय तहका जनप्रतिनिधिलाई आवश्यक योजना र मागसहित मन्त्रालयमा आउन आग्रह गरे । पालिका केन्द्रसम्म सडक सञ्जाल विस्तार गर्ने तथा पालिका केन्द्र जोड्ने सडक कालोपत्रे गर्ने सरकारको प्रतिबद्धता पनि उनले जनाए ।  

उनले सडकको लागि प्रसस्त बजेट छुट्याएको बताउँदै सडक बनाउन कुनै समस्या नभएको दाबी गरे । ‘बजेटका समस्या छैन,पार्टीका पालिका सभापतिहरुले प्रश्न उठाउने होइन, माग लिएर मन्त्रालयमा आउनु पर्यो’, उनले भने ।

View : 28

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved