Biratnagar, Morang, Nepal
६ साउन २०८३, बुधवार
+977 21 450305, 515728, 578305
कोशी

माओवादीका माझीले 'म एमालेको उम्मेदवार' भनेपछि....

‘म नमोनारायण माझी, नेकपा एमालेबाट’ यति भन्न नपाउँदै उनलाई माओवादी प्रवेश गराउनेदेखि उम्मेदवार बनाउनेसम्मको जिम्मा पाएका सांसद अमनलाल मोदीले ‘एई’ भन्दै माझीलाई झस्काए ।
उद्‌घोष संवाददाता
३ मंसिर २०८१, सोमवार

Advertisement

विराटनगर । तामझामका साथ मनोनयन दर्ताका लागि उम्मेदवारहरू मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुग्दै थिए । आफूनै लोकप्रिय उम्मेदवार भएको दाबी गर्न केही उम्मेदवार मिडिया खोज्दै थिए । केही भने खोजेर आउने मिडियालाई आफ्नो उत्कृष्टता बताउने र चुनावी आश्वासन सुनाउने होडबाजीमा देखिन्थे ।

उम्मेदवारहरूले आफूले नै चुनाव जित्ने भन्दै दाबी पनि गरे । आफूले जिते शिक्षा, स्वास्थ्य, रोजगारी उपलब्ध गराउनेदेखि विकास निर्माणका कामलाई प्रभावकारी बनाउने, भ्रष्टाचार हटाउनेलगायतका विगतकै झैं चुनावी आश्वासन उम्मेदवारहरूले बाँडे ।

आफु ठिक र अरु बेठिक कै नीतिमा उम्मेदवारहरू देखिए । उम्मेदवारहरू विपक्षी दलका उम्मेदवारलाई कमजोर देखाउन चर्को आलोचनामा उत्रिने गरेका कारण मनोनयन दर्ताका क्रममा एक उम्मेदवार भने नमज्जाले चिप्लिए । 

माउ दलकै नेताको सिको गरेर विपक्षीको आलोचना गर्न केन्द्रित हुँदा उम्मेदवारहरूले आफु चुनाव लडेकै पार्टीको नाम बिर्सिने अवस्थामा पुगेका देखिन्थे । आइतबार तेतरियास्थित ग्रामथान गाउँपालिकाकै कार्यालयमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ताका लागि पुगेका नेकपा माओवादी केन्द्रका उम्मेदवार नमोनारायण माझीले पनि त्यस्तै गरे ।

मनोनयन दर्ता गर्न मुलगेटबाट भित्र प्रवेश गरेका माझीले आफू माओवादी केन्द्रबाट उम्मेदवार बनेको कुरा नै बिर्सिए । पटक–पटक दल फेरेको आरोप लागेका माझीले आफू एमालेको उम्मेदवार भन्न भ्याए । 

‘म नमोनारायण माझी, नेकपा एमालेबाट’ यति भन्न नपाउँदै उनलाई माओवादी प्रवेश गराउनेदेखि उम्मेदवार बनाउनेसम्मको जिम्मा पाएका सांसद अमनलाल मोदीले ‘एई’ भन्दै माझीलाई झस्काए । 

माझीले पनि हतारहतार ‘सरी है, नेकपा माओवादी’ भनेर आफ्नो दल सम्झिए । माझी माओवादीबाट उम्मेदवार बन्नुअघि कांग्रेस थिए । उनी तीन महिना अघिमात्रै कांग्रेस छाडेर माओवादीमा प्रवेश गरेका थिए ।

मोदीले चुनावी अभियानका क्रममा एमालेको विरोध गर्ने गरेका कारण एमालेको धेरै पटक नाम लिनु परेकोले आफ्नो पार्टीको उम्मेदवारले परिचयमा पनि एमालेकै नाम लिएको भन्दै सच्याउने प्रयास गरेका थिए ।

View : 309

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved