Biratnagar, Morang, Nepal
२३ भदौ २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
कोशी

कोशी विद्या मन्दिरमा शोकसभा

जलवायु परिवर्तनबारे विद्यार्थीलाई सचेतना

उद्‌घोष संवाददाता
२२ भदौ २०८३, सोमवार

Advertisement

विराटनगर । रसुवा, नुवाकोटलगायतका जिल्लामा हिमताल फुटेर आएको बाढी तथा अन्य प्राकृतिक विपद्का कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै विराटनगरस्थित कोशी विद्या मन्दिरले शोकसभा आयोजना गरेको छ।

विद्यालयमा सोमबार आयोजित कार्यक्रममा विपद्का घटनामा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरिएको थियो। विद्यालयका प्रधानाध्यापक चुडाचन्द्र श्रेष्ठका अनुसार कार्यक्रममा एक मिनेट मौनधारण गरिएको थियो।

शोक सभासँगै विद्यालयले विद्यार्थीलाई जलवायु परिवर्तन र त्यसका कारण बढ्दै गएको प्राकृतिक विपद्का जोखिमबारे सचेत गराएको थियो। कार्यक्रममा बाढी, पहिरो तथा हिमताल विस्फोटबाट आउने बाढीलगायतका विपद्का पछाडि जलवायु परिवर्तनको बढ्दो प्रभाव रहेको विषयमा विद्यार्थीलाई जानकारी गराइएको थियो।

विद्यालयका निर्देशक आरोग्य थापाले जलवायु परिवर्तन न्यूनीकरण, वातावरण संरक्षण, वृक्षरोपण, प्राकृतिक स्रोतको संरक्षण तथा विपद् जोखिम न्यूनीकरणमा विद्यार्थीको महत्वपूर्ण भूमिका रहने बताए। उनले वातावरण संरक्षण र जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि विद्यार्थी तहबाटै सचेतना र व्यावहारिक प्रयास आवश्यक रहेको धारणा राखे ।

विद्यालयले प्राकृतिक विपद्का कारण प्रभावित परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै भविष्यमा यस्ता जोखिम न्यूनीकरणका लागि वातावरण संरक्षण र जलवायु परिवर्तनसम्बन्धी सचेतना अभिवृद्धिमा सबैले आ-आफ्नो क्षेत्रबाट योगदान गर्न आग्रह गरेको छ।

कार्यक्रममा  विपदबाट भएको क्षतिपछि नेपाल र नेपाली पुनः उठ्न सक्ने विश्वास व्यक्त गर्दै विद्यार्थीहरूले ‘हामी पुनः उठ्नेछौँ’ भन्ने सन्देशसहितको नारा लगाएका थिए।

View : 278

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved