Biratnagar, Morang, Nepal
१० मंसिर २०८१, सोमवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

यात्रुहरूबीच झगडा भएपछि श्री एयरलाइन्सको विमान धावनमार्गबाटै फर्काइयो

उद्घोष सम्वाददाता
२५ साउन २०८१, शुक्रवार

काठमाडौँ, २४ साउन । शुक्रबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुर्खेत उडान भर्ने क्रममा रहेको श्री एयरलाइन्समा यात्रुहरूबीच झगडा भएपछि जहाजलाई धावनमार्गबाट फर्काउनु परेको छ । उक्त जहाजलाई धावनमार्गबाट उड्नै लाग्दा फर्काएर पार्किङमा लगिएको जनाइएको छ ।

जहाज शुक्रबार बिहान साढे सात बजे सुर्खेत उडान भर्ने तालिकामा रहेको थियो । जहाज धावनमार्गमा पुगेर टेकअफको तयारीमा भइरहेको बेला पुन: पार्किङमा फर्किएको विमानका यात्रु राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बिनिता कठायतले जानकारी दिइन् ।

श्री एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरले विमानका केही यात्रुबीच विवाद भएपछि विमान फर्काएको बताए । उक्त जहाजले केहिबेर अघि मात्रै सुर्खेतका लागि उडान भरेको छ । 

उड्नै लागेको जहाज पार्किङ फर्काएपछि यात्रुहरूले सोधिखोजी गर्दा जहाजका कर्मचारीले सुरुमा प्राविधिक समस्या भनेर जवाफ दिएका थिए । तर व्यवस्थापक मानन्धरले भने प्राविधिक समस्याका कारण नभई यात्रुहरू बीच विवाद भएको बताए । 

“दुई– चारजना यात्रीबीचको विवादले होहल्ला भएपछि पाइलटले विमान फर्काएका हुन्”, उनले भने, “नागरिक उड्डयनको मापदण्डअनुरुप यात्रुबीच विवाद भएपछि अर्को प्रक्रिया पुर्‍याएर यात्रीलाई गन्तव्यमा लैजानुपर्ने हुन्छ ।”

View : 768

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved