Biratnagar, Morang, Nepal
५ साउन २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
शिक्षा

‘एक विद्यार्थी, एक सीप’ मा ग्रीनल्याण्डको जोड

उद्‌घोष संवाददाता
१६ वैशाख २०८३, बुधवार

Advertisement

विराटनगर । विराटनगरस्थित अग्रणी शैक्षिक संस्था ग्रीनल्याण्ड कलेजले एक विद्यार्थी एक सीपमा जोड दिंदै प्रविधिमैत्री तालिम दिएको छ । 

कलेजले आयोजना गरेको चारदिने तालिमपश्चात बुधबार विद्यार्थीहरूले आफूले सिकेको सीपसम्बन्धि प्रस्तुतीकरण गरेका हुन् ।

कलेजका प्राचार्य दिनेश दाहालले एक विद्यार्थी एक सीप अभियान अन्तरगत करिव तीन सय विद्यार्थीहरूलाई १४ वटा क्षेत्रका सीपमुलक अभ्यास सम्पन्न गरिएको जानकारी दिए । 

उनले कलेजको अध्ययनपछि पनि घरैमा बसेर आफैं रोजगारी सिर्जना गर्न सक्ने अवस्था सिर्जना गरिएको बताए ।

‘पढेका सवै विद्यार्थी डाक्टर इञ्जिनियर बन्दैनन्, पाँच प्रतिशतमात्रै बन्लान्, बाँकी ९५ प्रतिशत विद्यार्थीका लागि सीपमुलक कार्यक्रम आवश्यक पर्छ’ उनले भने, ‘हामीले हाम्रा विद्यार्थीको भविष्य निर्माणमा सहयोग पुर्याउन सीपमुलक शिक्षा प्रदान गर्दै आएका हौं ।’

सो तालिम पश्चात कलेजका विद्यार्थीहरूले बाढी थाहा पाउने प्रविधि, स्मार्ट पार्किङ, स्मार्ट घर सञ्चालन, माटो अनुगमन तथा स्मार्ट सिंचाइ प्रणाली, बनष्पतिको बोन्साई प्रविधि, गतिविधि पहिचान प्रणाली, ग्यास लिकेज पहिचान, कलमी लगाउने विधि, मौसमको पूर्व जानकारी, एलईडी बल्व निर्माण, वनस्पतिको कलमी विधि, वायु गुणस्तर अनुगमन र एआईमा आधारित वर्षा अनुमान प्रविधिबारे निर्माण गरेका प्रविधि प्रस्तुत गरेका थिए ।

कलेजका निर्देशक पवन साहले सीपमुलक शिक्षालाई सरकारले पाठ्यक्रम मै समावेश गर्नुपर्नेमा जोड दिए । साथै, विद्यार्थीहरूलाई सीप निर्माण र अनुसन्धानमा केन्द्रित गर्न कलेजले यस्तो कार्यक्रम अघि बढाएको जानकारी दिए । 

साहले आधुनिक कृषि विकासका लागि प्रविधिमा आधारित सीप आवश्यक रहेकोले कलेजले त्यसलाई सम्बोधन गर्न खोजेको बताए । 

नेपालमै विकास भएका यस्ता प्रविधिका विकासलाई व्यावसायिक रुपमा अघि बढाउन सकिए आयात प्रतिस्थापन भई व्यापार घाटा कम गर्न समेत मद्दत पुग्नेमा जोड दिए । 

तालिममा सहभागी कलेजका विद्यार्थीहरूले बेरोजगारी समस्या समाधान गर्न आफैं केही काम गर्न सकिन्छ भन्ने सन्देश दिन खोजिएको बताए । 

उनहरूले तालिम अति नै व्यवहारिक शिक्षामुलक भएको भन्दै आगामी दिनमा आफ्नो खर्च तालिममा सिकेका प्रविधि र सीपको प्रयोगमा जुटाउने प्रतिवद्धता जनाएका थिए ।

View : 363

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved