Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

कोशीमा साझा कार्यक्रमको तयारीमा जुटे कांग्रेस–एमाले

उद्घोष सम्वाददाता
७ असोज २०८१, सोमवार

विराटनगर । कोशीका सत्तारुढ दुई दल नेकपा एमाले र नेपाली कांग्रेस बल्ल न्यूनतम साझा कार्यक्रम बनाउने तयारीमा जुटेका छन् । असार १७ मै सातबुँदे सहमति गरेर संघदेखि प्रदेशसम्मै सत्ता सहयात्रा गर्ने सहमति गरे पनि कोशीमा भने दुई दलको सहकार्य भदौ अन्तिममा मात्रै सम्भव भएको थियो । 

आन्तरिक किचलोका कारण कांग्रेस  ढिलोगरी मात्रै भदौ २८ मा सरकारमा सहभागी भएको थियो । अहिले पनि कांग्रेसको भागमा परेको एक मन्त्रालय प्रदेशमा रित्तै छ । शेखर कोइराला पक्षको भागमा परेको स्वास्थ्य मन्त्रालयका लागि कोइराला पक्षले नाम दिइसकेको छैन । कोइराला पक्ष सहभागी नभए पनि दुई दलले सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन आइतबार कार्यदल गठन गरेका छन् । 

मुख्यमन्त्री कार्यालयमा आइतबार सम्पन्न एमाले–कांग्रेसको संयुक्त बैठकले दुवै दलबाट तीन–तीन जना रहने गरी ६ सदस्यीय कार्यदल गठन गरेका हुन् ।  कार्यदलमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर रानासहित एमालेको तर्फबाट कोशी प्रदेशका प्रमुख सचेतक रेवतीरमण भण्डारी र प्रदेश सांसद तिलचन पाठक सदस्य छन् भने काँग्रेसकोतर्फबाट भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राई, संसदीय दलका उपनेता हिमाल कार्की र प्रमुख सचेतक गोपाल तामाङ सदस्य छन् । 

कार्यदललाई कोशी प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम तय गर्न असोज २३ गतेसम्मको समय दिइएको छ । ‘असोज २३ गतेसम्मको समयमा कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रम तय गर्नेछ’, कांग्रेस प्रमुख सचेतक गोपाल तामाङले भने ‘कार्यदलले तत्कालै काम थाल्नेछ ।’  एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले पनि कार्यदलले प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम तयार पारेर सरकारलाई बुझाउने जानकारी दिए ।

‘दुवै दलको संसदीय दलको संयुक्त बैठकबाट कार्यदल गठन भएको छ’, उनले भने ‘अब हामी कार्यक्रम तयार पारेर सरकारलाई बुझाउनेछौं ।’ कार्यदल गठन गर्न आयोजित बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्की, पूर्वमुख्यमन्त्री तथा काँग्रेस संसदीय दलका नेता उद्धव थापा,एमाले उपनेता तिलकुमार मेयाङ्बो  लगायतका नेताहरु सहभागी थिए ।

View : 122

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved