विराटनगर । माघ ११–२० गते हुने आठौ संस्करणको विराट एक्स्पो २०२५ मा विजनेस क्लिनिक पेभिलियन राख्ने तयारी आयोजक उद्योग संगठन मोरङले गरेको छ । उद्योग विशेषका समस्यालाई समाधान गर्ने प्रयत्न स्वरुप एक्स्पो स्थलमै विजनेस क्लिनिक पेभिलियन राख्ने तयारी गरिएको संगठनले जनाएको छ ।
एक्स्पोमा विजनेस क्लिनिकलाई भर्चुअल प्लेटफर्मका रुपमा व्यवस्थित गरेर अवलोकनकर्ता उद्योगी व्यवसायीहरूका उद्योगसँग विशेष समस्याहरू दर्ता गरिने आयोजक संस्था उद्योग संगठन मोरङले जनाएको छ ।
दर्ता गरिएका समस्याहरूलाई वर्गीकरण तथा आवश्यक प्रशोधन गरी तथ्यमा आधारित रहेर विजनेस क्लिनिकमा सरोकारवाला र सम्बन्धित अन्य निकायहरूको समेत उपस्थितिमा गहन छलफल र अन्तरिक्रया गरेर समस्या समाधानको प्रयत्न गर्ने संगठनको योजना रहेको बताइएको छ ।
संगठनले यस प्रकारको क्लिनिक तीन वर्षदेखि सञ्चालन गर्दै आएको छ । यस अवधिमा सुनसरी–मोरङ औद्योगिक क्षेत्रका विभिन्न ७५ वटा उद्योगको स्थलगत भ्रमण गरेर १२२ वटा मुद्दा पहिचान गरिएको संगठनले जनाएको छ ।
संगठनले यो क्लिनिकलाई नियमित र व्यवस्थित बनाउन कार्यसमिति सदस्य पारस लुनियाको नेतृत्वमा बेग्लै समिति बनाएको छ ।
संगठनले सञ्चालन गर्दै आएको यही विजनेस क्लिनिकको उपलब्धी र अवधारणालाई आधार मानेर चेम्बरहरूले गर्ने बहस पैरवीको क्षेत्रमा नयाँ आयाम थपेको मान्दै गत कात्तिकमा सिंगापुरमा उत्कृष्ट च्याम्वर अवार्ड प्रदान गरिएको थियो ।
View : 40
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved