विराटनगर : अस्पतालले मृत घोषणा गरी शवगृहमा १५ घण्टा राखेर फठाएको व्यक्ति दाहसंस्कारको तयारी गर्ने त्रममा जिवितै भेटिएको दाबीसहितको भिडियो भाइरल भएपछि उपचारमा संलग्न अस्पतालले भने भ्रामक सूचना सम्प्रेषण भएको भन्दै आपत्ति जनाएको छ ।
विराटनगर–९ रंगेली रोडस्थित मेट्रो न्यूरो ट्रमा एण्ड मल्टिस्पेसालिटी हस्पिटलले उपचारका लागि भर्ना व्यक्तिलाई उनीहरुकै आफन्तले आफ्नै जिम्मामा डिस्चार्ज गरेर लगेको दाबी गरेको हो ।
सिभियर निमोनियाको समस्याले शनिबार अस्पताल भर्ना भएका सुनसरीको इनरुवा नगरपालिका–३ का प्रताप सदालाई उक्त अस्पतालका चिकित्सकले मृत घोषणा गरेको र उनको शव दाहसंस्कारका लागि तयारी गर्दा जिवितै भएको भन्दै सामाजिक सञ्जालमा भिडियो भाइरल भएको थियो ।
उक्त बिषयमा गोरखापत्र दैनिकमा मुख्यपृष्ठमै समाचार प्रकाशित भएपछि अस्पतालले मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गरेर आपत्ति जनाएको हो ।
अस्पतालका प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार मेहताले सत्यतथ्य नै नबुझी भ्रामक समाचार सम्प्रेषण भएकोले आफ्नो अस्पताल र चिकित्सकहरुको मानमर्दन भएकोले कानुनी उपचारमा जाने चेतावनी दिए ।
‘शनिबार सिकिस्त अवस्थामा उपचारका लागि बिरामीलाई उपचारका लागि भर्ना गरिएको थियो, सोही दिन राति बिरामीका दाजु अनिल सदा र श्रीमती सीताकुमारी ऋषिदेवले कमजोर आर्थिक अवस्थाको कारण देखाएर उपचार गर्न नसक्ने भन्दै राजीखुशीले घर लान्छौं, उपचार गर्दैनौं भन्नुभयो’ मेहताले भने, ‘अस्पताल प्रशासनले ५० प्रतिशत छुटमा उपचार गरिदिन्छौं, बिरामी निको हुने सम्भावना धेरै छ भन्दा पनि थप उपचार गर्न नमानी आइतबार दिउँसो १ बजेको समयमा अस्पतालको आईसीयू कक्षबाट निकाली जिवित अवस्थामा विरामी बुझेर अक्सिजन लगाई घर लगेको हो ।’
उनले वास्ताविकता नै नबुझी समाचार र भिडियो सार्वजनिक भएको भन्दै अस्पताल प्रशासनले उपचाररत सदालाई मृत घोषणा नगरेको दाबी गरे । आफ्नो अस्पतालमा शवगृह नभएको अवस्थामा बिरामीलाई मृत घोषणा गरेर १५ घण्टासम्म शवगृहमा राखेको भनेर बदनियतपूर्ण उद्देश्यले आरोप लगाएकोले त्यसमा सत्यता नरहेको उनले बताए ।
View : 167
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved