विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय (पूवि)को उपकुलपतिमा नियुक्तिका लागि डेढ दर्जन प्राध्यापकहरूले आवेदन दिएका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईको संयोजकत्वमा गठित समितिले गत माघ २३ गते पूविको उपकुलपतिमा नियुक्तिका लागि आवेदन दिन १५ दिने सूचना जारी गरेको थियो । सोही सूचनाबमोजिम तोकिएको अन्तिम दिन मंगलबारसम्म १८ जनाले आवेदन पेश गरेको शिक्षा मन्त्रालय स्रोतले जनाएको छ ।
उपकुलपतिमा नियुक्तिका लागि पूवि सेवा आयोगका अध्यक्ष प्राडा महेशराज दाहाल, कला, कानून तथा शिक्षाशास्त्र संकायका डीन प्राडा अनिलकुमार पोखरेल, इञ्जिनियरिङ संकाय डीन प्राध्यापक देवीप्रसाद भट्टराई, व्यवस्थापन संकाय निवर्तमान डीन प्राडा बिजुकुमार थपलिया, अनुगमन तथा मूल्याङ्कन केन्द्रका कार्यकारी निर्देशक प्राध्यापक सन्जेशप्रसाद कोइराला लगायतले आवेदन दिएका छन् ।
त्यस्तै विराटनगरका प्राडा सूर्यप्रसाद संग्रौला, प्राडा प्रमोदकुमार झा, प्राडा चक्रपाणि खनाल, प्राडा जीवन ढकालले समेत उपकुपतिमा नियुक्तिका लागि आवेदन दिएको बताइएको छ । पूविका पूर्व परीक्षा नियन्त्रक प्राडा संग्रौला हाल वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा कार्यरत छन् । उनी कांग्रेस निकट हुन् ।
अर्थशास्त्र विषयका प्राध्यापक झा माओवादी निकट हुन् भने नेपाली कांग्रेस निकट नेपाली विषयका प्राडा खनाल हालसम्म कुनै पनि अवसर प्राप्त नगरेका इमान्दार प्राध्यापकका रूपमा चिनिन्छन् । प्राडा ढकाल भने केही वर्षअघि मात्र खुल्ला प्रतिस्पर्धाका आधारमा व्यवस्थापन संकायको प्राध्यापकमा विश्वविद्यालय सेवामा प्रवेश गरेका हुन् ।
त्यसैगरी काठमाडौंका प्राडा रमेशकुमार भट्टराई, विनोद पराजुली लगायतले समेत उपकुलपतिमा नियुक्तिका लागि आवेदन पेश गरेको बताइएको छ । माओवादी निकट भट्टराई त्रिभुवन विश्वविद्यालयका पूर्व शिक्षाध्यक्ष प्राडा सुधा त्रिपाठीका श्रीमान् हुन् । यद्यपि शिक्षा मन्त्रालयले आवेदन पेश गरेका उम्मेदवारहरूको विस्तृत विवरण भने सार्वजनिक गरिसकेको छैन ।
पूविको कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले उपकुलपति नियुक्तिका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईको संयोकत्वमा तीन सदस्यीय समिति गठन गरेका हुन् । योजना आयोगका सदस्य डाक्टर रमेशचन्द्र पौडेल र शिक्षा सचिव सुरेश अधिकारी सदस्य रहेको समितिले उपकुलपति नियुक्तिका लागि कार्यविधिसहित १५ दिने सूचना प्रकाशित गरी आवेदन आह्वान गरेको थियो ।
जारी गरिएको कार्यविधिअनुसार तोकिएको मितिभित्र आवेदन दिएका उम्मेदवारहरूले पेश गरेको कागजातहरूको मूल्याङ्कनका आधारमा अल्पसूची (सर्टलिस्ट) सार्वजनिक गरी उपकुलपति छनोटको प्रक्रिया अगाडि बढाइन्छ । सार्वजनिक अल्पसूचीमा परेको उम्मेदवारहरूको प्रस्तुतीकरण र अन्तर्वार्तापछि सबैभन्दा बढी अंक प्राप्त गर्ने तीन जनाको नाम उपकुलपतिमा नियुक्तिका लागि कुलपति समक्ष सिफारिस गर्ने समितिको तयारी छ ।
कुलपतिले यसरी सिफारिसमा परेका तीन जना उम्मेदवारहरूमध्येबाट एकजनालाई पूविको आठौँ उपकुलपतिका रूपमा नियुक्त गर्ने कानूनी व्यवस्था रहेको छ ।
वर्तमान उपकुलपति प्राडा यादवराज कोइरालाको चारवर्षे कार्यकाल यही फागुन १८ गते समाप्त हुँदैछ । सरकारले प्राडा कोइरालाको कार्यकाल समाप्त हुनुअघि नै प्रक्रिया सुरू गरेको भए पनि नयाँ उपकुलपतिको नियुक्ति कहिले हुन्छ भन्ने अन्योल कायम छ ।
यसअघि छनोट समितिले तोकिएको कार्यविधिअनुसारको प्रक्रिया टुंग्याएर तीनजनाको नाम सिफारिस गरे पनि क्रिविको रित्त उपकुलपतिको नियुक्तिमा भइरहेको ढिलाइ र विवादले यस्तो अन्योलता बढेको हो ।
View : 481
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved